यी हुन् काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्न नपाइने ठाउँ

हिमाल प्रेस ६ मंसिर २०८० १०:२४
8
SHARES
यी हुन् काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्न नपाइने ठाउँ काठमाडौँ उपत्यका। फाइल तस्बिर

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सभा, जुलुुस र विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय ललितपुरले भिन्नाभिन्नै सूचना निकालेर निषेधित क्षेत्र घोषणा गरिएको जनाएका हुन्।

राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेध आदेश जारी गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निषेध आदेश जारी गर्दै एक महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्।

शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण-पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ।

यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ।

यस्तै माइतीघर-नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। प्रशासनका अनुसार पद्मोदय मोड, सर्वोच्च अदालतको पश्चिम गेट, माइतीघर, बबरमहल, बिजुलीबजार तथा नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जसअनुसार सोमबारदेखि ३० दिनसम्म आन्दोलन तथा विरोध प्रदर्शनमा रोक लगाइएको छ ।

यसैगरी ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा पुल्चोकस्थित मन्त्री निवास, यूएन हाउस क्षेत्रमा हुलहुज्जत, प्रदर्शन गर्न नपाइने उल्लेख छ। प्रजिअ पण्डितले जारी गरेको आदेशमा भनिएको छ, ‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेनिकट युवासंघको प्रदर्शनलाई लिएर हुन सक्ने सम्भावित दुर्घटनालाई टार्न प्रशासनहरूले निषेधित क्षेत्र तोकेको बताइएको छ।

प्रकाशित: ६ मंसिर २०८० १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =