विपिन जोशीको अवस्था बुझ्न जुट्यो परराष्ट्र

हिमाल प्रेस ४ मंसिर २०८० ११:२९
14
SHARES
विपिन जोशीको अवस्था बुझ्न जुट्यो परराष्ट्र

काठमाडौँ- इजरायल–हमास युद्धका क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयले आफ्ना सबै संयन्त्र परिचालन गरेको छ। बेपत्ता जोशी सकुशल रहेको पुष्टि भएपछि उनी कहाँ र कस्तो अवस्थामा छन् भन्ने विषयमा जानकारी लिन र उद्धार गर्न मन्त्रालय सक्रिय भएको हो।

गत असोज २० गते इजरायलको किबुजस्थित कृषि फार्ममा भएको आक्रमणपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी बेपत्ता भएका थिए। परराष्ट्र मन्त्रालयका अनुसार उनी  प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ।

इजरायल डिफेन्स फोर्सले जोशी अस्पतालमा रहेको जानकारी गराए पनि उनका बारेमा थप सूचना नपाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। उनका अनुसार परराष्ट्र र इजरायलस्थित दूतावासले विभिन्न माध्यमबाट जोशीका बारेमा थप जानकारी लिन जुटेको छ। ‘जोशी गाजाको अस्पतालमा सकुशल रहेको जानकारी इजरायल सरकारले नेपाली दूतावासलाई दिएको सूचना प्राप्त भएको छ। उनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन। खोजी गर्ने काम भइरहेको छ’, उनले भनिन्।

जोशीलाई हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेको सूचना आएको मन्त्रालयले जनाएको छ। इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जोशी हमास समूहकै नियन्त्रण रहेको जानकारी इजरायलस्थित नेपाली नेपाली दूतावासलाई दिएपछि खोजीका लागि सरकार जुटेको हो।

जोशीको उद्धारका लागि संयुक्त राष्ट्रसंघ र विभिन्न मानवअधिकारवादी संघसंस्थासँग समन्वय गरिने लम्सालले बताइन्। टर्कीस्थित महावाणिज्यदूतावासले पनि खोजीका लागि पहल गरिरहेको मन्त्रालयले जनाएको छ।

जोशीको अवस्था अज्ञात रहेका कारण उनका परिवार र आफन्त तनावमा छन्। केही दिनअघि जोशीका बाबुआमाले परराष्ट्रमन्त्री एनपी साउदलाई भेट गरी छोराको सकुशल उद्धारका लागि आग्रह गरेका थिए। मन्त्री साउदले जोशीको उद्धारका लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकारलगायतका निकायसँग आग्रह गरेको बताउँदै आएका छन्।

हमास समूहको आक्रमणपछि जोशीलाई आक्रमणकारीले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए। उनीहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए।

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो। दुई सय ५३ जनाको विद्यार्थी टोलीलाई सरकारले उद्धार गरेर स्वदेश ल्याएको छ।

प्रकाशित: ४ मंसिर २०८० ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =