भूकम्पपीडितको घरमै पुगेर उपचार

हिमाल प्रेस २८ कार्तिक २०८० १८:२८
18
SHARES
भूकम्पपीडितको घरमै पुगेर उपचार

कर्णाली- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, शिक्षाध्यक्ष डा. डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा. रविन खातुङ, डा. तोसिमा कार्कीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचार गरेर फर्केको हो।

जाजरकोटको भेरीगंगा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा. रावलले जानकारी दिए।

प्रतिष्ठानको टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल निर्माण गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उनले बताए।

त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तर्क्रिया भएको उनको भनाइ छ। ‘सरकारले अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष, सघन उपचार एकाई (आईसीयू)लगायत सुविधाको व्यवस्था गर्नुपर्दछ,’ उपकुलपति डा. रावलले भने, ‘विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ।’ उनले जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा. प्रतीक्षा भारतीलाई तीन लाख बराबरको आवश्यक औषधि, चिकित्सा सामग्री सहयोग गरिएको बताए।

उनका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य डीन प्रा डा. क्षत्री नेतृत्वको जनस्वास्थ्य विशेषज्ञ र मनोसामाजिक परामर्शदाता सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उक्त टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनाको अभियान सञ्चालन गर्नुका साथ अमेरिका-नेपाल मेडिकल फाउण्डेशनद्वारा पीडितलाई सहयोग गरिएको एक हजार हाइजेनिक किट्स वितरण गरेको छ।

विपद्पश्चात् उद्धारको काम सकिएको बताउँदै उपकुलपति डा. रावलले तत्काल सबैलाई अस्थायी बास, त्रिपाल र न्यानो कपडा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिए।

सम्भावित महामारी रोक्न सघन जनस्वाथ्य अभिायन सञ्चालन, प्राथमिक स्वास्थ्योपचारका लागि अनिवार्य ५० शय्याको अस्पताल, पर्याप्त मेडिकल तथा सर्जिकल उपकरण र जनशक्ति आवश्यक रहेको उनको भनाइ थियो।

तिहारपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्य, चिकित्सा, नर्सिङ र विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई जनस्वास्थ्य अभियान सञ्चालनका लागि परिचालन गर्ने योजना बनाएको छ।

जतिसक्दो द्रुत तवरबाट सरकारले जाजरकोट अस्पतालका लागि शल्यक्रिया कक्ष र सघन उपचार एकाईसहित उपकरणको प्रबन्ध गरेमा प्रतिष्ठानले विशेषज्ञ जनशक्ति उपलब्ध गराउने योजना बनाइएको उपकुलपति रावलले बताए।

प्रकाशित: २८ कार्तिक २०८० १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =