१६२ विद्यार्थी, दुई शिक्षक, दसैँ खर्च प्रअको आफ्नै तलबबाट

हिमाल प्रेस ९ कार्तिक २०८० ८:००
420
SHARES
१६२ विद्यार्थी, दुई शिक्षक, दसैँ खर्च प्रअको आफ्नै तलबबाट

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ। कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन्। अन्य छजना शिक्षक निजी स्रोतबाट तलब व्यहोर्ने गरी राखिएको छ। अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन।

नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन्। शिक्षकले तलब नै नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिएका छन्।

‘विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन’, विद्यालयका प्रधानाध्यापक धर्मा ऐर (भण्डारी)ले भनिन्, ‘कक्षाअनुसारका शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या छ।’ विद्यालयमा कक्षा पाँचसम्म अंग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि विद्यार्थी बढेका छन्। भण्डारीका अनुसार विद्यालयमा एक सय ६२ विद्यार्थी अध्ययनरत छन्।

विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए। ‘विगतका वर्षमा नगरपालिकाले पाँच लाख अनुदान रकम उपलब्ध गराउँथ्यो”, उनले भने, ‘यस वर्ष अनुदान रकम आएको छैन। वडा कार्यालयले दुई लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौँ।’

विद्यालयको आन्तरिक आयस्रोत नहुँदा थप शिक्षक राख्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताइन्। ‘विषयगत शिक्षक मात्रै सातजना चाहिन्छ’, उनले भनिन्, ‘सम्बन्धित निकायमा व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता हुँदै आएको छ। विद्यालयमा कार्यरत शिक्षकले सातवटा कक्षा अनिवार्य रूपमा पढाउँदै आएका छन्। कार्यालयको कार्य विद्यालय समयपछि गरिने गरिएको छ।’

जनप्रतिनिधिले अहिलेसम्म विद्यालयको अनुगमन नगरेको उनको गुनासो छ। विद्यालयमा सूचना प्रविधिको व्यवस्था हुन सकेको छैन। कम्प्युटर, इन्टरनेट नहुँदा विद्यार्थीलाई त्यसबारे व्यावहारिक ज्ञान दिन नसकिएको शिक्षकहरुको भनाइ छ। रासस

प्रकाशित: ९ कार्तिक २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =