फर्किए २५४ नेपाली, विमानस्थलमा देखिएको खुसी [तस्बिरहरू]

दिपेश श्रेष्ठ २६ असोज २०८० ७:५१
20
SHARES
फर्किए २५४ नेपाली, विमानस्थलमा देखिएको खुसी [तस्बिरहरू]

काठमाडौँ- सरकारले द्वन्द्वग्रस्त इजरालयमा रहेका २५४ नेपालीलाई उद्धार गरी बिहीबार राति स्वेदश फर्काएको छ।

परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वमा इजरायल गएको सरकारी टोलीले उनीहरूलाई नेपाल वायु सेवा निगमको चार्टर्ड विमानमा काठमाडौँ फर्काइएको हो। इजरायलबाट फर्किएका विद्यार्थी विमानस्थलमा अवतरणपछि खुसीले भावुक बनेका थिए। उनीहरूको स्वागतका लागि आफन्त, अभिभावकलगायत विमानस्थलमा पुगेका थिए।

परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहने पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिएका छन्।

इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरेको थियो। सोहीबमोजिम पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएको मन्त्री साउदले बताए। उनले भने, ‘पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ।’

यसैगरी इजरायकाले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ। हमासको आक्रमणमा परी घाइते भएका चार जना नेपालीमध्ये एक जना उपचारपछि स्वदेश फर्किएका, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भउका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका छन्। ‘आक्रमणमा परी सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ’, साउदले भने।

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो। उनीहरूको शव भने ल्याइएको छैन। त्यसका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि मन्त्री साउदले बताए। ‘कानुनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको संख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ। त्यसैले उहाँहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न म अनुरोध गर्दछु’, मन्त्री साउदले भने।
उद्धार गरी नेपाल ल्याइएका नागरिकलाई विभिन्न गन्तव्यमा पुर्‍याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीनवटा बस तयारी अवस्थामा राखिएको थियो।

प्रकाशित: २६ असोज २०८० ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =