थप आक्रामक बन्दै इजरायल, साथ दिँदै अमेरिका; शवले भरिए गाजाका अस्पताल

हिमाल प्रेस २४ असोज २०८० ६:२९
10
SHARES
थप आक्रामक बन्दै इजरायल, साथ दिँदै अमेरिका; शवले भरिए गाजाका अस्पताल

काठमाडौँ- हमासको आक्रमणपछि गाजामाथि जवाफी हमला सुरु गरेको इजरायलले थप आक्रामक नीति अपनाउने भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायल गाजामा स्थल सेना पठाउने मनस्थितिमा पुगेको छ।

उता अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई आफ्नो पूर्ण समर्थन रहने उद्घोष गरेका छन्। उनले हालको स्थितिको फाइदा कसैले पनि उठाउन नहुने चेतावनी पनि दिएका छन्।

इजरायली वायु सेनाले मंगलबार रातिसम्म पनि हवाइ आक्रमण जारी राखेको छ। वायु सेनाका युद्धक विमानले गाजामाथि बम खसालिरहँदा स्थल सेना भने इजरायली भूमिमा हमासको गोलीबाट ज्यान गुमाउनेहरुको शव संकलन गरिरहेको छ।

गत शनिबार प्यालेस्टाइनको हमासका लडाकु गाजाबाट दक्षिण इजरायल छिरेका थिए। जहाँ उनीहरुले अन्धाधुन्ध गोली चलाउँदा सयौँ इजरायली मारिएका थिए। इजरायली इतिहासमा यो अहिलेसम्मकै घातक हमास हमला हो।

वासिङ्टनस्थित इजरायली दूतावासका अनुसार हालसम्म एक हजार इजरायलीले ज्यान गुमाएका छन्। हमासले इजरायलसँगै अरु देशका नागरिकलाई पनि बन्धक बनाएका छन्। एक सय जनालाई बन्धक बनाइएको बताइँदैछ। बन्धकलाई गाजाका सडकमा हिँडाइँदै गरिएको भिडियो सामाजिक सञ्जालमा छरपस्ट पारिएका छन्।

उता इजरायलको आक्रमणबाट गाजामा भयानक क्षति पुगेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार नौ सय प्यालेस्टिनी मारिएका छन्। करिब ४६ सय भने घाइते छन्।

हमासले सोमबार ती बन्धकलाई मार्ने धम्की दिएको थियो। गाजामा पूर्वसूचना नदिइकनै बम खसाले ती बन्धकको एक–एक गरी गरी सफाया गरिने चेतावनी हमासले दिएको थियो। तर बुधबार बिहानसम्म बन्धक हत्याको खबर आएको छैन।

हमासको चेतावनीका बाबजुद इजरायलले आक्रामकता कम गरेको छैन। इजरायली रक्षामन्त्री योअभ गालान्टले छिट्टै स्थल सेना परिचालन गरिने बताएका छन्।

‘हमासले चाहेको युद्ध हो। अब उसले युद्धको सामना गर्नुपर्छ। गाजा जस्तो थियो, त्यस्तो रहन सक्दैन। हाल वायु सेनाले आक्रमण गरिरहेको छ। अब स्थल सेना पनि परिचालित हुनेछ। हाम्रो आक्रमण कम हुनेवाला छैन,’ गालान्टले गाजासँगको सीमामा इजरायली सेनालाई सम्बोधन गर्दै भनेका छन्।

इजरायलले सन् १९६७ मा गाजामाथि पूर्ण कब्जा गरेको थियो। इजरायलले सन् २००५ मा गाजा छाडेको हो। त्यसको दुई वर्षपछि हमास गाजामा एकल शक्ति बन्यो। त्यसयता इजरायलले गाजामा नाकाबन्दी लगाएको छ। पछिल्लो भिडन्तपछि इजरायलले गाजातर्फ खाद्यन्न र तेल आपूर्ति बन्द गरेको घोषणा इजरायलले गरिसकेको छ।

इजरायल–हमासबीचको नयाँ चरणको द्वन्द्वमा लेबनानको हेज्बुल्लाह पनि संलग्न भएको बताइँदैछ। मंगलबार मात्रै दक्षिणी लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ। लेबनानबाट प्रहार भएको रकेटको जवाफ इजरायली सेनाले पनि रकेट प्रहार गररै दिएको थियो।

उता सिरियाबाट पनि इजरायली भूमितिर रकेट प्रहार भएको छ। इजरायली सेनाले पनि जवाफी रकेट प्रहार गरेको रोयटर्सले जनाएको छ। यसरी लेबनान र सिरियाबाट रकेट प्रहार हुनु हालको द्वन्द्व चर्किने संकेत भएको विश्लेषकहरुको बुझाइ छ।

यहीबीच ह्वाइटहाउसमा पत्रकारहरुसँग कुराकानी गर्दै बाइडनले खाडी र वरपर अमेरिकी सेनाले उपस्थिति बढाएको बताएका छन्। ‘आवश्यक परेको खण्डमा परिचालित हुनेगरी अमेरिकी सेनाले आफ्नो उपस्थिति बढाएको छ। अहिलेको परिस्थितिको फाइदा उठाउन चाहने जोसुकैलाई म चेतावनी दिन चाहन्छु, त्यसो भएमा अमेरिका चुपचाप बस्ने छैन,’ बाइडनले भने।

अमेरिकाले खाडी क्षेत्रमा ‘एयरक्राफ्ट करियर’ र थप युद्धक विमान खटाएको छ। अमेरिकाले यसो गर्नुको मुख्य कारण इरान रहेको बताइँदैछ। गाजामा द्धन्द्ध चर्किरहँदा इरानले कुनै कदम उठाउँला कि भन्ने डरमा अमेरिका छ। र, त्यही डरका कारण बाइडनले पछिल्लो अभिव्यक्ति दिएका हुन्।

उसो त इजरायलमाथि हमला गर्न हमासलाई इरानले सघाएको आरोप पनि लागेको छ। तर अमेरिकी अधिकारीहरुले हालसम्म त्यस्तो प्रमाण फेला नपरेको बताएका छन्।

बाइडनले हमासको हमलालाई अत्यन्तै खराब भन्दै इजरायललाई आवश्यक सहयोग गर्ने बताइसकेका छन्। उनले इजरायललाई थप सैन्य सामग्री उपलब्ध गराउने पनि घोषणा गरेका छन्।

यहीबीच बाइडनले आफ्ना उच्चपदस्थ कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनलाई इजरायल पठाउने भएका छन्। ब्लिन्केन बुधबार इजरायन पुग्नेछन्। यो घडीमा अमेरिका इजरायलको साथमा छ भन्ने सन्देश दिन ब्लिन्केनको भ्रमणले दिन चाहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरको भनाइ छ।

हमासको पछिल्लो आक्रमणलाई इजरायलले शतकौँपछिको सबैभन्दा भयानक सुरक्षा चुनौती मानेको छ। योसँग जुध्न भन्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नयाँ सरकार गठन गर्ने तयारी गरेका छन्। जसमा विपक्षी दलहरु समेत सहभागी हुनेछन्।

असुक्षित गाजा

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो भिडन्तका कारण एक लाख ८० हजार गाजाका प्यालेस्टिनी घरविहीन भएका छन्। उनीहरु हाल कि त विद्यालय भवनहरुमा कि त सडकमै रात बिताउन बाध्य छन्।

इजरायली आक्रमणका कारण गाजा तहसनहस बनेको छ। ज्यान गुमाउनेको संख्या बढ्दो छ। स्थानीय खान युनिस अस्पतालको भुइँमा सयौँ शव त्यत्तिकै राखिएका छन्। मृतकहरुको बारेमा पर्याप्त सूचना राख्न सकिएको छैन। त्यसकारण प्रत्येक मृतकको पेटमा उनीहरुको नाम लेखिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

कतिसम्म भने गाजाका स्थानीय स्वास्थ्यकर्मीहरुले अस्पतालमा थुप्रिएका शव लिएर जान आफन्तहरुलाई आह्वान् गरेका छन्। ताकि थप शवका लागि स्थान खाली गर्न सकियोस्।

अस्पतालहरुमा भिड थेगिनसक्नु भएपछि स्थानीय नगरपालिकाका भवनहरुलाई कामचलाउ अस्पतालमा परिणत गरिएको छ। तर तीमाथि पनि इजरायली सेनाले बम खसालिरहेको छ।

‘गाजामा कुनै ठाउँ सुरक्षित छैन। किनभने इजरायल जताततै बम खसालिरहेको छ,’ ३५ वर्षीय अला अब्बु ताइर भन्छन्।

इजरायलको हवाइ आक्रमणमा परी हमासका दुई नेता मारिएका छन्। हमासको राजनीतिक विभागका जवाद अबु शामला र जाकारिया अबु मामार मारिएका हुन्। उनीहरु नयाँ चरणको द्धन्द्ध सुरु भएयता मारिने पहिलो शीर्ष नेताहरु हुन्। मारिनेमध्येका शामलाले इजरायलभित्र भएका कयौँ आक्रमणको नेतृत्व गरेको इजरायली सेनाको दाबी छ।

प्यालेस्टाइनको विदेश मन्त्रालयका अनुसार इजरायलले जारी राखेको बमबारीका कारण २२ हजार ६०० घर, ४८ विद्यालय भवन र १० अस्पताल ध्वस्त भएका छन्।

द्धन्द्ध गाजामा मात्र सीमित भएको छैन। इजरायलीको कब्जामा रहेको वेस्ट ब्याङ्कका केही क्षेत्र र पूर्वी जेरुसलेममा पनि केही व्यक्ति मारिएका छन्। मंगलबार राति इजरयाली प्रहरीको गोली लागेर दुई प्यालेस्टिनीको मृत्यु भएको खबर छ। शनिबार यता वेस्ट ब्याङ्कमा इजरायली प्रहरीसँगको झडपमा २१ प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १ सय ३० घाइते छन्।

रोयटर्सको सहयोगमा

प्रकाशित: २४ असोज २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =