एमाले सुदूरपश्चिम प्रदेशको निर्वाचन आज : सर्वसम्मतिको ढोका बन्द

हिमाल प्रेस २३ असोज २०८० ६:३३
10
SHARES
एमाले सुदूरपश्चिम प्रदेशको निर्वाचन आज : सर्वसम्मतिको ढोका बन्द

काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।

नेताहरूले सहमतिको प्रयास गरेपनि अन्ततः सहमति नजुट्दा आज निर्वाचन हुने भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयासमा लागेका थिए तर आकांक्षीहरूका बीचमा सहमति हुन सकेन।

सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन्।

यस्तो छ सुदूरपश्चिममा उम्मेदवारलाई केन्द्रीय नेताको साथ

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको लागि अकांक्षी देखिएका हुन्।

अध्यक्षका उम्मेदवार कृष्णप्रसाद र कमल अछामका हुन् भने बचनबहादुर कञ्चनपुरका हुन्। अहिलेसम्मको परिवेश अनुसार कृष्णप्रसादलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितको समर्थन रहेको बताइन्छ।

कमललाई एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावलसहित एमाले अध्यक्षकै समेत सद्भाव रहेको छ। वचनबहादुरलाई भने प्रदेशका युवा नेताहरूले समर्थन गरेका छन्। एमालेका निवर्तमान इन्चार्ज लेखराज भट्ट भने अहिले तटस्थ बसेका छन्।

२०४४ सालदेखि विद्यार्थी राजनीतिमा लागेका कमलले लामो समय अछामको पार्टी राजनीति गरेका छन्। उनी जिल्ला सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै जिल्ला अध्यक्ष बनेका थिए। अहिले उनी प्रदेशको उपाध्यक्ष पनि हुन्।

यस्तै कृष्णप्रसाद पनि सुदूरपश्चिम प्रदेशमा स्थापित नेता हुन्। शिक्षण पेसा छोडेर राजनीतिमा लागेका उनले एमालेको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला उपसचिव र दुईपटक सचिव भएर काम गरेका छन्। अर्का दाबेदार वचनबहादुर भने निवर्तमान राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष तथा एमाले सुदूरपश्चिमका सचिवालय सदस्य हुन्।

प्रकाशित: २३ असोज २०८० ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =