भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट १७ दिन हिँडेर म्याग्दी

हिमाल प्रेस २२ असोज २०८० १९:५२
10
SHARES
भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट १७ दिन हिँडेर म्याग्दी फाइल तस्बिर

म्याग्दी- कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आइपुगेका छन्।

जुम्लाको पातारासी गाउँपालिका-३ का तीर्थराज बोहराको टोली २ सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा सोमबार म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो। ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ,’ उनले भने, ‘यहाँ ल्याइपुर्‍याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य ५० हजारदेखि ५५ हजार रुपैयाँ परेको छ।’

उनीहरू जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन्। मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन्।

स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन्। भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ। तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हुन्।

हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताए। ‘सबैले महँगो भयो भन्छन्,’ उनले भने, ‘पोखरासम्म पुर्‍याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ।’ दसैँ पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा ल्याइएको हो।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्न व्यापारीहरू मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्। मुस्ताङका कृषकका गोठबाट संकलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्छन्।

उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाल जडीबुटी खाने भएकाले दसैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ।

स्वादिलो र पोषिलो हुने भएकाले दसैँमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताए। तीन वर्षअघि प्रतिगोटा २५ हजार रुपैयाँमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेको छ। रासस

प्रकाशित: २२ असोज २०८० १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =