मुस्ताङबाट ६ हजार भेडाच्यांग्रा निकासी, मूल्य अचाक्ली बढेको गुनासो

विजय नेपाल ३० असोज २०८० १५:५१
14
SHARES
मुस्ताङबाट ६ हजार भेडाच्यांग्रा निकासी, मूल्य अचाक्ली बढेको गुनासो पोखरामा बिक्रीका लागि ल्याइएका च्यांग्रा। तस्बिर : हिमाल प्रेस

पोखरा- दसैँका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट झण्डै ६ हजार भेडाच्यांग्रा निकासी भएका छन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलका अनुसार मंगलबारसम्म मुस्ताङबाट ५ हजार ७ सय ५० भेडाच्यांग्रा जिल्लाबाट निकासी भएका हुन्।

तीमध्ये २ सय जति भेडा छन्। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट भेडाच्यांग्रा खरिद गर्न अघिल्लो साता नै व्यापारीहरु मुस्ताङका किसानको गोठमै पुगेका थिए।

पोखरेलले गत वर्ष तुलनामा यसपालि केही बढी संख्यामा भेडाच्यांग्रा बिक्री हुने बताए। केन्द्रले आवश्यक प्रक्रिया पूरा गरेरमात्रै बिक्रीका लागि अनुमति दिने गरेको छ। मुस्ताङ सदरमुकाम जोमसोम काठेपुलदेखि आवश्यक स्वास्थ्य परीक्षण गराएपछि मात्रै भेडाच्यांग्रा बिक्रीका लागि पठाइने गरिएको उनले बताए।

मुस्ताङदेखि ३ देखि ४ वर्ष उमेरका च्यांग्रा मासुका लागि बजार पठाउने गरिन्छ। हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने भएकाले दसैँको बेला यो विशेष रोजाइको हुने गर्दछ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्यांग्रा पालिएका छन्। जिल्लामा ६५ वटा ठुला च्यांग्रा फार्म रहेको तथ्यांक छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका किसानले ३० देखि ५० वटासम्म घरघरमा च्यांग्रा पाल्ने गरेको पोखरेलले बताए।

विगतको तुलनामा भेडाच्यांग्राको मूल्य भने अकासिएको छ। पछिल्लो ४ वर्षयता चिनियाँ च्यांग्रा नआएको र मुस्ताङमा च्यांग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको किसानहरू बताउँछन्।

चार वर्षअघिसम्म प्रतिगोटा च्यांग्राको मूल्य २५ हजार थियो। अहिले रोजेको च्यांग्राको मूल्य पोखरामा ५७ हजारसम्ममा बिक्री हुने गरेको छ। कोरोना महामारीसँगै निम्तिएको आर्थिक मन्दी एवं कोरला नाकाबाट च्यांग्रा आयात नहुँदा मूल्य बढेको व्यापारी यामबहादुर कार्की बताए।

पोखरा-बागलुङ राजमार्गअन्तर्गत पोखरा १, जौबारी क्षेत्रमा च्यांग्राको खरिदबिक्री सुरु भएको छ। ग्राहकहरू रोज्जा च्यांग्राको मोलतोल गरिरहेको पाइन्छ। तर यसपालि च्यांग्राको मूल्य अकासिएको उनीहरूको गुनासो छ। दसैँका लागि पोखराको अमरसिंहचोकदेखि च्यांग्रा किन्न आएका प्रकाश रानाभाटले च्यांग्रा खाइसक्नु नरहेको बताउँन्। उनले भने, ‘पहिलो २५ देखि ३० हजारसम्म पाइने च्यांग्रा अहिले ६० हजारसम्म पर्ने देखियो।’

पोखरामा बझाङ, बाजुरा, मुस्ताङबाट च्यांग्रा आउने गर्दछन्। अहिले पोखरा भित्रिएका च्यांग्रा भने बझाङ, बाजुराका बढी छन्।
बझाङबाट भेडाच्यांग्रा ल्याएका व्यापारी राजेन्द्रबहादुर धामीले अरुले भन्दा पहिला ल्याएर चाँडो बिक्री थालेको बताउँछन्। यसपालि आफूले १ सय ३० च्यांग्रा लिएर पोखरा आएकोमा ३० वटा जति बिक्री गरिसकेको जानकारी दिए।

प्रकाशित: ३० असोज २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =