इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका अनलाइन रजिस्ट्रेशनको व्यवस्था

हिमाल प्रेस २२ असोज २०८० ७:२७
6
SHARES
इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका अनलाइन रजिस्ट्रेशनको व्यवस्था

काठमाडौँ- इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ।

समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ। यसको लागि दूतावासको वेबसाइट हेर्न भनिएको छ।

अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ।

शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएको इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । सोही फार्ममा रहेका विद्यार्थीमध्ये २ जना सुरक्षित छन्। अन्य ४ जनाको उपचार भइरहेको छ भने एक जना बेपत्ता छन् ।

मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन्।

सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन् । सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

कञ्चनपुर, भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ । गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बन्दै गएको छ । विज्ञप्तिमा इजरायलमा रहेका सबै नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित: २२ असोज २०८० ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =