इजरायल आक्रमणपछि इरानी राष्ट्रपतिले गरे हमासका नेतासँग कुराकानी

हिमाल प्रेस २१ असोज २०८० २१:००
16
SHARES
इजरायल आक्रमणपछि इरानी राष्ट्रपतिले गरे हमासका नेतासँग कुराकानी

तेहरान (रासस/एएफपी)- इजराइलमा हमासले गरेको अप्रत्यासित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

‘राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल-नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माल हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ,’ थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ।

गाजालाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गरेका थिए। इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा ६ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा बढीलाई बन्धक बनाएको बताएको छ। गाजामा पनि कम्तीमा ३१३ मारिएको समाचार छ।

इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारबाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ। ‘यो विजयी कारबाहीले यहुदीहरूको शासनको पतनलाई सहजता र गति दिनेछ तथा यहुदीहरूको आसन्न विनाशलाई पूरा गर्ने प्रतिज्ञा गर्दछ,’ इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली अकबर भेलायतीले भने, ‘म यो विशाल र रणनीतिक विजयलाई शुभकामना दिन्छु।’

इरानले गत जुनमा हमास र इस्लामिक जिहादका नेताहरूको वार्ताको आयोजना गरेको थियो। त्यतिबेला इरानी राष्ट्रपति रइसीले अधिनस्थ क्षेत्रहरू मुक्त गर्न खोज्ने युवा प्यालेस्टिनीहरूलाई निरुत्साहित गर्ने उद्देश्यले इजरायलले धेरै अरब र मुस्लिम देशसँगको सम्बन्धलाई सामान्यीकरण गर्न खोजिरहेको बताएका थिए।

प्रकाशित: २१ असोज २०८० २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =