नेपालमा रमाइरहेका इजरायली ‘हिरोज फर लाइफ’

हिमाल प्रेस १९ असोज २०८० २०:२२
28
SHARES
नेपालमा रमाइरहेका इजरायली ‘हिरोज फर लाइफ’

काठमाडौँ- नेपाल र इजरायलबीच जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने क्रममा इजरायली गैर सरकारी संस्था ‘हिरोज फर लाइफ’ अर्थात् जीवनका लागि नायकहरूका ३४ जना स्वयंसेवकहरू काठमाडौँ र आसपासको जिल्लामा रमाइरहेका छन्। उनीहरू सामाजिक कार्यमा संलग्न रहँदै सिक्दै र सिकाउँदै रमेका हुन्। उनीहरूले उपत्यकाका विभिन्न पाँचवटा विद्यालयहरूमा गत आइतबारदेखि काम सुरु गरेको र त्यसअघि कतिपय ट्रेकिङ सकेर यसमा जोडिएको पनि उनीहरूले बताए।

इजरायली राजदूत खनान गोडेरको निवासमा जम्मा भएका ३४ जना इजरायली स्वयंसेवीहरूले नेपालको अनुभव सुनाउँदै भने, ‘कस्तो रमाइलो मुलुक साँच्चै यो दुई साता हामी विश्वकै सुन्दर मुलुकमध्ये एकमा रहेको अनुभूति भइरहेको छ।’

कतिपयले विद्यालयका साना विद्यार्थीले गरेको पेन्टिङहरू देखाउँदै भने, ‘उनीहरुसँग रमिरहन पाउँदा कस्तो रमाइलो अनुभूति भइरहेको छ।’ उनीहरूले गत आइतबारदेखि दुई सातासम्म पठनपाठन र विद्यालयको पूर्वाधार विकासमा सहयोग गर्नेछन्।

उनीहरू इजरायलको सैन्य प्रशिक्षण लिएपछि घुम्न जाने चलनअनुरूप नेपाल रोजेर सहयोगी भूमिकामा आएका हुन्। उनीहरूको सम्मानमा इजरायली दूतावासले बुधबार स्वागत समारोहको आयोजना गरेको थियो। उक्त समारोहमा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले नेपाल र इजरायलबीचको पुरानो मित्रतालाई यी स्वयंसेवीहरूले थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

‘विद्यालयमा भएका यी सहकार्यहरूले शैक्षिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने मात्र होइन, दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि अझ मजबुत बनाउनेछ,’ उनले सुनाए, ‘यो अभियान आगामी वर्षहरूमा पनि निरन्तर जारी रहनेछ। यसबाट सरकारी स्तरमा नभएर जनस्तरमा नै सानैदेखि नेपालीले इजरायल र इजरायलीले नेपाल स्मरण गराउने काम हुनेछ। यो राम्रो काम हो।’

यतिबेला इजरायलमा सुकोट चाड चलिरहेको सुनाउँदै उक्त चाडको महत्त्व र इजरायली परम्परा सुनाएका थिए। उनले नेपालको जात्राहरू पनि स्मरण गर्दै आफ्नो चाडलाई त्यहाँ लगेर जोडिरहेका थिए।

कार्यक्रममा सहभागी एक स्वयंसेवी अनिथिले नेपाली विद्यार्थीहरूसँगको आफ्नो अनुभव सुनाउँदै हिमाल प्रेससँग भनिन्, ‘हामी उनीहरूलाई अंग्रेजी भाषा, गणित, भुगोल पढाउनुका साथै इजरायलको बारेमा पनि जानकारी गराइरहेका छौँ। अनि आर्टहरू पनि गर्न लगाएका छौँ।’ उनले हेर्नुहोस् त आर्ट भन्दै सानो आर्ट पनि देखाइन्।

कतिपय विद्यालयमा साना विद्यार्थीले अंग्रेजी नबुझ्दा हाउभाउले पनि बुझाएको उनले सुनाइन्। उनले नेपालीहरूको हँसिलो र मायालु स्वभावले आफू निकै प्रभावित भएको पनि बताइन्।

विश्वका १७ देशमा स्वयंसेवीहरू पठाउने गरेको इजरायली संस्था हिरोज फर लाइफले नेपालमा सन् २०१७ देखि स्वयंसेवीहरू पठाउने गरेको हो।

उनीहरू काठमाडौँको शान्ति शिक्षा मन्दिर ठहिँटी, नन्दीरात्री मावि नक्साल, पञ्चायन सेलेस्टियल स्कुल टोखा, नारायण जन मावि चन्द्रागिरी–९, मच्छेगाउँ र किटीनी मावि गोदावरी, ललितपुरमा दुई हप्तासम्म स्वयंसेवा गर्ने दूतावासले जनाएको छ।

नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध कायम भएको ६३ वर्ष भइसकेता पनि इजरायली स्वयंसेवकहरू आउन थालेको भने ६ वर्ष अघिदेखि मात्रै हो।

नेपाल यस क्षेत्रको पहिलो मुलुक हो इजरायललाई छुट्टै मुलुकको मान्यता दिने तर नेपालसँग पछिल्लो समय इजरायल बहुपक्षीय फोरममा गर्ने भोटका कारण केही हच्केको छ। त्यसलाई सुधार गर्न इजरायली राजदूत गोडेर लागेका छन्। यद्यपि केही सुधार आएकोमा खुसी पनि छन्।

नेपालबाट इजरायल जाने र इजरायलबाट पनि नेपाल आउने जस्ता कार्यले नै जनस्तरको सम्बन्ध मजबुद हुने हो र विकास सहकार्य पनि अघि बढ्ने राजदूतले गोडेरले सुनाए।

 

प्रकाशित: १९ असोज २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =