आममाफी बदनियतसाथ गरिएको छ, विरोध गर्छौँ : गगन थापा

हिमाल प्रेस १८ असोज २०८० १५:०९
2
SHARE
आममाफी बदनियतसाथ गरिएको छ, विरोध गर्छौँ : गगन थापा प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले गम्भीर अपराधमा संलग्न कैदीबन्दीलाई आममाफी दिएर सरकारले गलत गरेको भन्दै त्यसको विरोध गरेका छन्। बदनियतसाथ भएको यस्तो निर्णय गलत रहेकाले यसको विरोध स्वाभाविक रहेको थापाले बताए। प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै थापाले भने, ‘यसको विरोध हुन्छ, हामी यसको विरोध गर्छौँ।’

उनले आममाफी दिने क्रममा केहीलाई कानुनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको आरोप लगाए। उनले भने, ‘गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको छ।’

कानुन छिद्रमा टेकेर हुने यस्ता घटना रोक्न कानुन आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने उनले बताए। थापाले कानुनका कारण समस्या भएको भन्दै यसलाई सच्चाउनुपर्ने र राष्ट्रपतिलाई बद्नाम हुनुबाट रोक्नुपर्नेमा जोड दिए।

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कानुनी छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरे।

संविधान दिवसका दिन ६७० जना कैदीबन्दीको बाँकी सजाय माफी मिनाहा गरिएको थियो। त्यसै क्रममा गम्भीर आपराधिक घटनामा संलग्न केही व्यक्तिले पनि आममाफी पाएका थिए।

आममाफी पाउने सूचीमा रिगल भनिने योग ढकाल पनि छन्। उनी नेपालगन्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी एकजनाको हत्या गरेको अभियोगमा जेलमा थिए। उनको उन्मुक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ।

प्रकाशित: १८ असोज २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =