च्याम्पियन्स लिग : कसरी उदायो युनियन बर्लिन?

हिमाल प्रेस १६ असोज २०८० १४:५२
80
SHARES
च्याम्पियन्स लिग : कसरी उदायो युनियन बर्लिन?

इंग्ल्यान्डका मार्क जेमसन बर्लिनमा बसेको २० वर्ष भयो। उनी स्थानीय क्लब युनियन बर्लिनलाई समर्थन गर्छन्। युनियन कस्तो क्लब हो? यसको जवाफ दिँदा उनी एउटा उदाहरण पेस गर्छन्। ‘हेर्थाका एक समर्थकलाई ब्लड क्यान्सर भयो। हेर्थाको अरु समर्थकले उनका लागि रगत जुटाउन अभियान सुरु गरे। सही रगत भेट्न सजिलो थिएन। यस्तोमा युनियन समर्थकले पनि अभियान चलाए, रंगशालाअघि ब्लड स्टेसन राखे। खेल हेर्न आएका पाँच सयभन्दा भन्दा बढी हाम्रा समर्थक रगत दिने लाइनमा थिए,’ जेमसन सुनाउँछन्।

युनियन कस्तो क्लब हो, उसका समर्थक कस्ता छन्? जवाफका लागि यही उदाहरण काफी छ। पूर्वी बर्लिनको यो क्लबका लागि सफलताको व्याख्या गहिरो छ। युनियन मैदानभित्रको जितलाई मात्र महत्त्वपूर्ण मान्दैन।

केही वर्ष भयो युनियन अचम्मलाग्दो तरिकाले बलियो बनेको। कुनैबेला समय यस्तो पनि थियो जब युनियन आर्थिक रुपमा रुग्ण थियो, झन्डैझन्डै टाट पल्टिएको। तर आजको युनियन फरक छ। तल्लो श्रेणीबाट बुन्डेसलिगामा पुगेको युनियनले अन्ततः च्यामिपयन्स लिग खेल्ने हैसियत बनाएको छ। मंगलबार राति युनियन पहिलो पटक घरेलु रंगशालामा च्याम्पियन्स लिग खेल्दैछ। युनियनको विपक्षी हो, ब्रागा।

फुटबल क्लबमा खेलाडी आउँछन्, जान्छन्। जित वा हार पनि सधैँ रहिरहँदैनन्। तर समर्थक कतै जाँदैनन्। क्लबको चरित्र समर्थकको स्वभावले बुझाउँछ। युनियन यस्तो क्लब हो, जहाँ समर्थक बलिया छन्।

अरु जर्मन क्लबमा जस्तै यहाँ पनि ५० प्लसको एकको अवधराणा लागू छ। मतलब, क्लब व्यवस्थापनमा समर्थकसँग ५० प्रतिशत र थप एक मत। खासमा युनियन समर्थकले समर्थकका लागि सञ्चालन गरेको क्लब हो। युनियनका समर्थक त यसो पनि भन्छन्, हामी फुटबल खेल हेर्न होइन, युनियन जान्छौँ।

युनियनमा समर्थक कुन हदसम्म एकबद्ध छन्? सन् २००४ को यो उदाहरणले प्रस्ट पार्छ। युनियन चौँथो श्रेणीमा थियो, क्लब चलाउन चाहिने लाइसेन्सको शुल्क तिर्न सकेन। त्यसपछि ‘युनियनका लागि रगत’ अभियान चलाइयो। युनियनका समर्थक बर्लिन अस्पताल गई रगत दिन्थे। रगत दिएवापत पैसा पाइन्थ्यो। त्यसरी पाइने पैसा उनीहरू क्लबलाई दिन्थे। यसरी जम्मा भएको पैसाले लाइसेन्सको शुल्क तिरियो। युनियनको अस्तित्व जोगियो।

उसो त युनियनको रंगशाला पनि समर्थकले नै पुनः निर्माण गरेका हुन्। कुरा सन् २००८ को हो। ‘स्टाडिओन् एन डेर एल्टन फोर्सटेरी’ कमजोर स्थितिमा थियो। तर युनियनसँग रंगशाला पुनः निर्माण गर्न आर्थिक स्रोत थिएन। त्यसपछि समर्थक आफैँ निर्माण सामग्री लिएर रंगशाला पुगे। जबकि ती धेरैलाई यति पनि थाहा थिएन, सिमेन्ट कसरी घोलिन्छ।

‘मलाई के गर्न आउँछ भनेर सोधियो। म कुनै डकर्मी त थिइनँ। त्यसपछि मेरो भागमा सिँढीको पुरानो कंक्रिट उक्काउने काम पर्‍यो। मैले त्यो काम केही दिन गरेँ। काम गर्दा धुलै धुलो भइन्थ्यो। जे होस् गजबको अनुभव बटुलियो,’ जेमसन पुराना दिन सम्झिन्छन्।

त्यसबेला करिब २५ सय समर्थक एक लाख ४० हजार घण्टा रंगशाला मर्मतमा खटिएका थिए। अहिले यो रंगशाला तन्दरुस्त छ। २२ हजार समर्थकले यहाँ विपक्षी टिमको सातो लिन्छन्।

युनियन च्याम्पियन्स लिग भने एल्टन फोर्सटेरीमा खेल्दैन। च्याम्पियन्स लिगका लागि युनियनले बर्लिन ओलिम्पिक रंगशाला छानेको छ। जर्मनीको सबैभन्दा ठूलो यो रंगशाला हेर्थाको ‘होम ग्राउन्ड’ हो। साढे ७४ हजार दर्शक क्षमताको ओलिम्पिक रंगशालामा ५० हजारभन्दा बढी युनियन समर्थक ब्रागाविरुद्धको खेल हेर्न पुग्ने अनुमान छ।

च्याम्पियन्स लिगकै लागि सही, युनियन ओलिम्पिक रंगशालामा सरेको हेर्था समर्थकलाई चित्त बुझेको छैन। हेर्था हाल दोस्रो श्रेणीमा छ। गत शनिबारको खेलमा हेर्था समर्थकले युनियनलक्षित ब्यानर प्रदर्शन गरेका थिए। युनियनका कतिपय समर्थक आफ्नो क्लबले गलत निर्णय गरेको ठान्छन्। ‘हामीले एल्टन फोर्सटेरीमै खेल्नु पर्थ्यो। किनभने ओलिम्पिक रंगशालामा अनुभव फरक हुनेछ। फरक भन्नसाथ नराम्रो त होइन। तर मैदानबाट टाढा बसेर हेर्दा अनुभव बेग्लै हुनेछ,’ युनियन समर्थक बास टिमर्स भन्छन्।

टिमर्सले ओलिम्पिक रंगशालाको बनावटतिर पनि इंगित गर्न खोजेका हुन्। ओलिम्पिक रंगशाला भएकाले त्यहाँ रनिङ ट्रयाक छ। जसकारण समर्थक र मैदानबीचको दुरी फुटबल रंगशालामा भन्दा बढी हुन्छ।

रंगशालालाई लिएर गुनासो भए पनि युनियन समर्थक ब्रागासँगको खेललाई लिएर उत्साहित छन्। रंगशालामा ७४ हजार चार सय ७५ दर्शक अट्छन्। र यो खेलको सबै टिकट बिक्री भइसके। टिकट मूल्य तुलनात्मक रुपमा सस्तो छ। धेरैजसो टिकट २५ युरोका दरले बिक्री गरिएको बताइन्छ। यसबाहेक एक हजार टिकट समर्थकमाझ सित्तैमा वितरण गरिएको छ।

गत सिजन बुन्डेसलिगामा चौथो बनेका कारण युनियनले यसपालिको च्याम्पियन्स लिग खेल्न पाएको हो। तर यो सिजन भने युनियनको प्रदर्शन चित्तबुझ्दो छैन। १८ टिम सम्मिलित बुन्डेसलिगामा युनियन अहिले १० औँ स्थानमा छ। पछिल्ला पाँच खेल हारेको युनियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग पराजित भएको थियो। यो हार युनियनका लागि किन पनि पीडादायी भयो भने, रियलले अन्तिम मिनेटमा गोल गरेको थियो।

युनियनले यसपल्ट निकै नयाँ खेलाडी अनुबन्ध गरेको छ। लियोनार्दो बोनुची, डेभिड फोफाना, ब्रेन्डन आरोनसन, रोबिन गोसेन्स र केभिन भोल्यान्ड थपिएका खेलाडी हुन्। युनियनका कतिपय खेलाडी घाइते छन्। जस्तै रनी केडिरा। रियलका पूर्वमिडफिल्डर सामी केडिराका भाइ रनी युनियनका मुख्य खेलाडीमध्येका हुन्। फेरि कतिपय खेलमा गरेको प्रदर्शन र आएका नतिजा हेर्दा युनियनलाई भाग्यले साथ नदिइरहेको पनि भान हुन्छ।

हालको प्रदर्शन र नतिजा जे जस्तो भए पनि युनियन आफ्ना प्रशिक्षक उर्स फिसरको क्षमतामाथि ढुक्क छ। ‘उनले त हो हामीलाई दोस्रो श्रेणीबाट बुन्डेसलिगामा पुर्‍याएको। उनले रेलिगेसनबाट पनि बचाए। त्यसपछि कन्फ्रेन्स, युरोपा हुँदै च्याम्पियन्स लिगमा पुगेका छौँ,’ युनियनको खेल हेर्न स्कटल्यान्डबाट जर्मनी पुगेका कायल वाल्स भन्छन्, ‘उनी युरोपका उत्कृष्ट प्रशिक्षकहरूमध्येका हुन्। उनलाई अरु क्लबबाट पनि प्रस्ताव आएका होलान्। तर उनी यहीँ रहन चाहन्छन्। यदि उनी सधैँ यहीँ रहन चाहन्छन् भने पनि उनी त्यसो गर्न सक्छन्। जे मन लाग्छ त्यही गर्न उनलाई छुट छ।’

द गार्डियनबाट

प्रकाशित: १६ असोज २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =