राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

हिमाल प्रेस १२ असोज २०८० १६:३६
536
SHARES
राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित २०८० असोजमा राजधानीको माइतीघर क्षेत्रको सडकमा सुतेर प्रदर्शन गर्दै राहत शिक्षक। फाइल तस्बिर

काठमाडौँ– काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका राहत शिक्षक र सरकारबीच सहमति भएको छ। आज शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको दुई पक्षबीचको वार्तामा सहमति भएको हो। सहमति भएसँगै राहत शिक्षकले तत्कालका लागि तय भएका सबै आन्दोलनका कार्यक्रमहरू पनि स्थगित गरेका छन्।

आजको वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए।

शिक्षा मन्त्री राईले आन्दोलनरत राहत शिक्षकहरूसँग सहमति गरिएको बताए। शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको उनको भनाइ छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए।

शिक्षकहरूको प्रतिस्पर्धामा राहत शिक्षकले पनि शत प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने, राहत शिक्षक स्थायी भएको खण्डमा अस्थायी अवधि पनि गणना हुने सहमति भएपछि आन्दोलन स्थगित भएको छ। अध्यक्ष खेमराज अधिकारीले सहमति कार्यान्वयन हुने विश्वास रहेको बताए।

शिक्षा विधेयकका कतिपय व्यवस्था संशोधन गर्नुपर्नेजस्ता माग गरेर करिब ४० हजार राहत शिक्षकहरू आन्दोलनमा थिए। सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकमा राहत लगायतलाई पनि दरबन्दी कायम गरी त्यसमा प्रतिस्पर्धा गराएर स्थायी गराइने प्रस्ताव राखेको छ।

शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आन्दोलन भएको थियो। महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो। उक्त सहमतिले राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए। राहत शिक्षकहरू आइतबारदेखि विद्यालयमा उपस्थित हुने बताइएको छ।

प्रकाशित: १२ असोज २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast