क्यानडामा केन्द्रित भारत छेउको माल्दिभ्स ‘गुमाउँदै’

हिमाल प्रेस १२ असोज २०८० ८:२२
20
SHARES
क्यानडामा केन्द्रित भारत छेउको माल्दिभ्स ‘गुमाउँदै’

काठमाडौँ- यतिबेला भारतीय कूटनीति क्यानडासँगको टकराबमा केन्द्रित छ। उत्तर अमेरिकी देशसँगको झगडाका कारण छिमेकमा भइरहेको विकासक्रममाथि भने भारतको ध्यान पुग्न सकेको छैन।

भारतको दक्षिणी छिमेकी माल्दिभ्समा आउँदो शनिबार दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन हुँदैछ। यो निर्वाचनमा मोहम्मद मुइज्जु विजयी हुने अनुमान छ। मुइज्जु पूर्वराष्ट्रपति अब्दुल्लाह यमिन समर्थित उम्मेदवार हुन्। यामिनलाई चीननिकट मानिन्छ।

मुइज्जु इब्राहिम मोहम्मद सोलिहसँग भिड्दैछन्। सोलिहले सन् २०१८ को निर्वाचनमा यामिनलाई हराएका थिए। त्यसबेला सोलिह विपक्षी पार्टीहरुको साझा उम्मेद्वार थिए। र यो गठबन्धनलाई भारतको साथ थियो।

फलतः पछिल्लो पाँच वर्ष माल्दिभ्स भारतनिकट रह्यो। सोलिह नेतृत्वको सरकार बन्नुलाई भारतले आफ्नो कूटनीतिक जित ठानेको थियो। चीनसँग रक्षा, सुरक्षा र आर्थिक साझेदारी गरिरहेको माल्दिभ्सलाई आफूतिर फर्काउन खासमा भारतको जित नै थियो। तर अब त्यो मेहनत खतरामा परेको छ।

यसपल्टको राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सेप्टेम्बर ९ मै भएको थियो। जसमा दुवै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन्। त्यसकारण दोस्रो चरणको निपर्वाचन आवश्यक परेको हो।

मुइज्जु पिपल्स नेसनल कंग्रेस (पीएनसी) कम नेता हुन्। यो पार्टी र यामिन नेतृत्वको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम)बीच गठबन्धन छ। यही गठबन्धनको बलमा मुइज्जुले पहिलो चरणमा ४६ प्रतिशत मत ल्याए। जबकि सोलिहले पाएको मत ३९.०५ प्रतिशत मात्र थियो। उता पूर्वराष्ट्रपति मोहम्मद नाशिदको पार्टीका उम्मेद्वारले ७.१८ प्रतिशत मात्र मत पाए।

माल्दिभ्समा लामो समय नाशिदलाई भारतनिकट नेता मानिन्थ्यो। सोलिह पनि उनकै पार्टीमा थिए। तर नाशिदसँगको मतभेदका कारण सोलिहले अलिग्गएर यही वर्ष नयाँ पार्टी जन्माएका हुन्। यो विभाजनले भारतलाई अप्ठ्यारोमा पारेको छ। किनभने नाशिद र सोलिह एकै ठाउँमा हुन्थे भने यो निर्वाचनमा मुइज्जु बलियो हुँदैन थिए।

दोस्रो चरणको मतदानमा मुइज्जुलाई मात्र चार प्रतिशत थप मत चाहिएको छ। जबकि सोहिलले कम्तीमा ११ प्रतिशत मत थप्नुपर्छ।

माल्दिभ्सको राजनीतिमा लामो समय नाशिदलाई किंगमेकर भनियो। तर परिस्थिति यस्तो आइपुगेको छ कि उनी किनारा लाग्न बाध्य छन्। उनी आफैँलाई पनि आफ्नो सीमितता थाहा छ। उसो त नाशिदले सोलिहलाई भेटेर सम्बन्ध सुधारको प्रयास नगरेको होइनन्। तर यो प्रयासका ढिलोगरी मात्र सुरु भएको नाशिद स्वीकार गर्छन्।

‘अब धेरै समय छैन। फेरि मैले समर्थन गर्दा पनि सोलिहले जित्ने अवस्था छैन,’ नाशिदले हालै टाइम्स अफ इन्डियासँग भनेका छन्। हुन त पछिल्लो समय उनले मुइज्जुलाई समर्थन गर्ने हल्ला पनि चलेको छ। तर उनले टाइम्स अफ इन्डियासँगको अन्तरवार्तामा हल्लाको खण्डन गरेका छन्।

पूर्वराष्ट्रपति यामिन यतिबेला जेलमा छन्। आफू राष्ट्रपति हुँदा माल्दिभ्सलाई चीननजिक पुर्‍याएका यामिनले भ्रष्टाचारको मुद्धामा ११ वर्षको जेल सजाय पाएका हुन्। आफूले निर्वाचन लड्न नपाएपछि उनले राजधानी माले सहरका मेयरलाई समर्थन गरेका हुन्।

जेलमै भए पनि यामिन माल्दिभ्समा यस्तो तप्काको नेतृत्व गर्छन् जसले ‘इन्डिया आउट’ को अभियान चलाएको छ। हाल माल्दिभ्सको प्रतिपक्षीय राजनीति भारतविरोधी नारामा चलिरहेको छ।

मुइज्जुले सबै शक्तिसँग समान सम्बन्ध स्थापित गर्न त भनेका छन्। तर उनले पटक पटक माल्दिभ्स सरकारलाई भारतसँग असाध्यै निकट रहेको भन्दा आलोचना पनि गर्ने गरेका छन्। उनी माल्दिभ्सको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका लागि आफू राष्ट्रपति बन्नुपर्ने जिकिर गर्छन्। उनले माल्दिभ्सको भूमिमा विदेशी सेनालाई प्रवेश गर्न नदिन आफू प्रतिबद्ध रहेको पनि बताउने गरेका छन्।

यदि मुइज्जु राष्ट्रपति चुनिए, माल्दिभ्स फेरि एकपटक रक्षा तथा सुरक्षा कूटनीतिको भूमरीमा पर्ने भारतीय विज्ञहरुहको दाबी छ। सन् २०१८ को निर्वाचनअघि तत्कालीन राष्ट्रपति यामिनले भारतीय जलसेनाको दुई हेलिकप्टरलाई माल्दिभ्सबाट निकालिदिएका थिए।

यामिनको यो निर्णयले माल्दिभ्स र भारतबीचको सुरक्षा सहकार्य खतरामा परेको बताइएको थियो। त्यसबेला यामिनले हटाउन भनेको भारतीय हेलिकप्टर यस्तो स्थानमा थियो, जहाँ चीनले बन्दरगाह निर्माण गर्ने इच्छा राखिरहेको बताइएको थियो।

प्रकाशित: १२ असोज २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =