अझै ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भएन

हिमाल प्रेस ९ असोज २०८० ७:३६
6
SHARES
अझै ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भएन

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनले प्रकाशन गरेको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८र७९ मा धोबिघाट (दोस्रो) ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उल्लेख गरे पनि अझै काम सकिएको छैन।

आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुर महानगरपालिका वडा नं ३ स्थित धोबिघाटमा तीनवटा प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने हो तर हालसम्म एउटा मात्र प्रशोधन केन्द्र निर्माण भएको छ। त्यो पनि प्रयोगमा आउन सकेको छैन।

विनासकारी गोरखा भूकम्पअघि काठमाडौँ उपत्यका खानेपानी बोर्डको स्वामित्वमा रहेको पाँच सय ८९ रोपनी जमिनमा घेराबार थियो। भूकम्पले घेराबार ढालेपछि अहिले मलपोखरीमा घेराबारसमेत छैन।

चक्रपथ सुधार परियोजनाका सामानलगायत अन्य विभिन्न संस्थाले केही समयका लागि उपकरण राखेका छन्। जमिन खाली भएकाले अहिले पशु–चौपाया चरिरहेका छन्। जमिन खाली देखेपछि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग निश्चित समयका लागि जमिन उपलब्ध गराउन विभिन्न निकायले अनुरोध गरिरहन्छन्।

काठमाडौँ उपत्यका खानेपानी ब्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालका अनुसार ढल प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा छ। निर्माण भएको प्रशोधन केन्द्र कति प्रभावकारी हुन्छ भन्ने कुरा प्रयोगमा आएपछि मात्र थाहा हुन्छ। उनले भने, ‘धोबिघाटमा ढल प्रशोधन केन्द्र निर्माण भएर प्रयोगमा आएपछि बागमतीको पानी सफा हुन्छ । अत्याधुनिक प्रविधियुक्त फोहर पानी प्रशोधन केन्द्र निर्माण भएपछि काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ रहने अनुमान गरिएको छ ।’

धोबिघाटमा ढल प्रशोधन केन्द्र निर्माणपछि आयोजना कार्यान्वयन निर्देशनालयले गन्ध हटाउनका लागि विशेष ध्यान दिने जनाइएको छ। ढल प्रशोधन केन्द्रको वरिपरि हरियाली बनाउनेछ र फोहर पानी प्रशोधनका क्रममा उत्पन्न बायोग्यासबाट बिजुली निकालिने योजना समेत रहेको छ।

काठमाडौँ उपत्यकालाई स्वच्छ राख्नका लागि निर्माण गर्न थालेको ढल प्रशोधन केन्द्रको क्षेत्रमा हरियाली पार्क निर्माण गर्ने भनिएता पनि अहिलेसम्म घेराबारसमेत निर्माण भएको छैन।

धोबिघाटमा तीनवटा अत्याधुनिक प्रविधिका ढल प्रशोधन केन्द्र निर्माण भएपछि गन्ध रोक्नका लागि पार्क अनिवार्यरूपमा निर्माण गर्नुपर्ने काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी बरालले बताए।

काठमाडौँ उपत्यकालाई सुन्दर र सफा राख्ने उद्देश्यले विसं २०३३ मा ललितपुर महानगरपालिका वडा नं ३ धोबिघाटमा पाँच सय ८९ रोपनी जमिन खरिद गरिएको थियो । खरिद गरेको उक्त जमिन हाल खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको स्वामित्वमा छ ।

विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा सो आयोजना कार्यान्वयन भएको थियो । वैज्ञानिक तवरले प्रशोधन केन्द्र निर्माण गर्न नसकेको कारण ढलको गन्ध बस्तीसम्म पुगेकाले बन्द गर्नुपर्यो।

अहिले पनि मलपोखरीमा तीनवटा ढलको पोखरी छन्। यसमा पूरै घाँस उम्रेका छन्।

प्रकाशित: ९ असोज २०८० ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =