‘विदेशी कूटनीतिज्ञले शेरबहादुर देउवाविरुद्ध नेपालमा के हुँदैछ भनेर सोधे’

हिमाल प्रेस ८ असोज २०८० १५:४२
8
SHARES
‘विदेशी कूटनीतिज्ञले शेरबहादुर देउवाविरुद्ध नेपालमा के हुँदैछ भनेर सोधे’

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ। जारी बैठकमा केन्द्रीय समिति सदस्यले धारणा राखिरहेका छन्। सोमबार आफ्नो धारणा राख्न आएका केन्द्रीय सदस्य डा.नारायण खड्काले विदेशी कूटनीतिज्ञले सभापति शेरबहादुर देउवाबारे चासो राख्न थालेको जानकारी गराए।

कांग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यकाल सकिन लागेको बारे आफूलाई विदेशी कूटनीतिज्ञले सोधेको खड्काको भनाइ छ। उनले भने, ‘मलाई एक कूटनीतिज्ञले फोन गरे। उनले तिम्रो पार्टीमा के हुँदैछ? पार्टी सभापतिको विषयमा के हुन लागेको हो भनेर सोधे।’

खड्काले केही दिनअघि काठमाडौँ पोष्टमा आएको समाचारका विषयलाई लिएर आफूलाई ती कूटनीतिज्ञले फोन गरेर चासो राखेको बताए। काठमाडौँ पोष्टमा केही दिनअघि ‘कांग्रेस डिसिडेन्ट टू देउवा : मेन्ड वे अर फेस कन्सिक्वेन्सेज’ शीर्षकमा समाचार छापेको थियो। खड्काले यही शीर्षकबारे प्रष्टाउँदै भनेका थिए, ‘इतर समूहले सभापतिलाई सुधार गर वा परिणाम भोग भनेर लेखेको रहेछ। लोकतान्त्रिक पार्टीमा सुधार गर नभए परिणाम भोग भन्ने हेडलाइन दिइन्छ भने यो पार्टीको हाम्रो लेजेटिमेसी (आधिकारिकता) त छँदै छ यसको बाहिरी मान्यता र हामीलाई बाहिरले हेर्ने दृष्टिकोण के होला?’

केन्द्रीय समिति बैठकअघि इतर समूहका नेता डा.शेखर कोइराला समूहले सभापति देउवालाई नसुध्रिए अबको परिणाम भोग्न तयार रहनू भन्ने चेतावनी दिएको थियो। त्यसलगत्तै बसेको पार्टी पदाधिकारी बैठकमा पनि शेखरले सभापतिलाई आफ्नै ढंगले चल्ने हो भने आफूहरू पनि सोहीअनुसार प्रस्तुत हुने जवाफ दिएका थिए।

खड्काले यस्ता गतिविधि बाहिर आउन थाले नेपाली कांग्रेसको विधानले काम नगर्ने बताए। उनले विधानले १४ जना पदाधिकारीको व्यवस्था गरेको भन्दै निर्वाचित सभापतिका विषयमा यस्तो समाचार आउने कस्तो पार्टी भन्दै प्रश्न उठाए। खड्काले देउवाको प्रशंसा गर्दै भने, ‘सभापति शेरबहादुर देउवा र तपाईंहरूबीच २०/२५ वर्ष फरक छ, उहाँको अनुभव र व्यक्तित्वको क्षमताले पनि पार्टीलाई लिएर हिड्नुभएको छ। भोलि त नेतृत्वको आकांक्षीको लामो लाइन हुनसक्छ। हम किसिसे कम नही भन्नेको लाइन हुन्छ । पार्टी सभापति भएर कसरी काम गर्नुहुन्छ?

उनले शेखर कोइरालालाई लक्षित गर्दै पार्टी सभापतिमा हार्नेले पनि हिस्सा खोज्ने र सभापतिलाई यस्ता धम्की दिने गरेकोप्रति आपत्ति जनाए। ‘पार्टी सभापतिमा हार्नु हुन्छ अनि ४० प्रतिशत हिस्स्सा चाहिन्छ भन्नुहुन्छ। सभापतिका विषयमा आउने यस्ता समाचारले के सन्देश दिन्छ?’ उनले भने।

त्यस्तै उनले पार्टीको केन्द्रीय समिति बैठक दुई-दुई महिनामा गर्न सम्भव नभएको र यसलाई विधान संसोधन गरेर वर्षमा न्युनतम तीनपटक गर्ने व्यवस्था गर्न प्रस्ताव गरे।

प्रकाशित: ८ असोज २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =