भूमिकर घटाउन रास्वपाले गर्‍यो इटहरीवासीको हस्ताक्षर संकलन

हिमाल प्रेस ५ असोज २०८० १७:१४
6
SHARES
भूमिकर घटाउन रास्वपाले गर्‍यो इटहरीवासीको हस्ताक्षर संकलन

इटहरी- इटहरी उपमहानगरपालिकाले भूमिकरमा अत्यधिक वृद्धि गरेपछि निरन्तर आन्दोलन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरवासीको हस्ताक्षर संकलन गरेको छ। इटहरीको २० वटै वडाबाट २७ हजारभन्दा बढी हस्ताक्षर संकलन गरिएको रास्वपाको दाबी छ।

रास्वपा कोसी प्रदेशका प्रवक्ता कमलबाबु मैनालीले करवृद्धि विरुद्ध २७ हजार नगरवासीको हस्ताक्षर संकलन गरिएको जानकारी दिए। उनका अनुसार रास्वपाले कर वृद्धिको विरोधमा हरेक दिन इटहरी उपमहानगरपालिकाअगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै आएको छ।

पार्टीले कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापनपत्र बुझाएको थियो। २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको थियो।

हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए। कर घटाउने प्रक्रिया अगाडि नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए। कर घटाउने विषयमा उपमहानगर भने मौन रहँदै आएको छ।

प्रकाशित: ५ असोज २०८० १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =