यो देशमा सबैभन्दा धेरै तलब हुने जागिर शिक्षकको हुनुपर्छ : गगन थापा

हिमाल प्रेस ५ असोज २०८० १५:५६
128
SHARES
यो देशमा सबैभन्दा धेरै तलब हुने जागिर शिक्षकको हुनुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले नेपालमा शिक्षकहरूको तलब तथा सेवा सुविधामा पुनर्विचार गर्ने गरी सरकारले कानुन बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँको नन्दी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै थापाले अहिले शिक्षकहरू आन्दोलनमा जानुपर्ने अवस्था आउनुमा सरकारको गम्भीर त्रुटि भएको बताएका हुन्।

उनले नेपालमा सबैभन्दा धेरै तलब हुने जागिर शिक्षकको हुनुपर्ने पनि बताए। ‘नेपालको शैक्षिक क्षेत्रको सुधार गर्ने पहिलो खुट्किला भनेको सबैभन्दा धेरै तलब हुने जागिर शिक्षकको हुनुपर्छ,’ थापाले भने, ‘हामीले शिक्षकको सुविधाहरू अहिले कानुन बनाउँदा पनि व्यवस्था गर्न सकेनौँ भने विद्यालय ठिक ढंगबाट चलाउन सकिँदैन। शिक्षक साथीहरूको गतिविधि, सुझाव हामीले नियालीरहेका छौँ। पढिरहेका छौँ। संसद्‌मा हामीहरू छौँ हाम्रो नियतमाथि तपाईंहरूले विश्वास गर्नुपर्छ। हाम्रो विवेकमाथि विश्वास गर्नुपर्छ। यो त सरकारको प्रस्ताव न हो। हामीले छलफल गर्नै बाँकी छ।’

सरकारले संसद्‌मा दर्ता गरेको शिक्षा विधेयकको विरोधमा देशभरिका शिक्षकहरू विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। थापाले सरकार र शिक्षक महासंघका प्रतिनिधिहरूको वार्ताले निष्कर्ष दिनुपर्ने पनि बताए।

‘अप्ठ्यारो माहोल भयो। विद्यालयहरू बन्द छन्। शिक्षकहरू संघर्षमा हुनुहुन्छ आन्दोलन चलिरहेको छ। सरकारसँगको आजको वार्ताले निष्कर्ष दिन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘धेरै पहिले आइसक्नुपर्ने कानुन ढिला भइरहेको छ। हामीहरू चुक्यौँ। धेरै पछि एउटा कानुन आएको छ। कानुनको प्रथम दृष्टीमै धेरै त्रुटि छ। मैले सरसर्ती विधेयक हेर्दा मैलेमात्रै ७० वटा भन्दा धेरै संशोधन हाल्ने रहेछु। कति त्रुटि होला। त्यसैले अहिले बन्ने शिक्षाको कानुनले कम्तिमा २० वर्षपछिसम्मलाई हेर्नुपर्ने छ। सबैभन्दा ठूलो कुरा शिक्षकहरूको सम्मान, मर्यादा ख्याल गर्नुपर्नेछ।’

उनले शिक्षा विधेयकलाई संविधान सम्वत् बनाउनुपर्ने पनि बताए। ‘यसलाई संविधान सम्वत् बनाउनुपर्छ। शिक्षकका कतिपय कुराहरू सही छैनन् भने नमान्ने हो। तर उपयुक्त कुराहरू त मानेर जाने हो,’ थापाले भने, ‘चाँडै आन्दोलन स्थगित गरेर संसद्‌लाई विश्वास गर्न पनि म शिक्षकहरूलाई आग्रह गर्छु।’ शिक्षकहरूको आन्दोलनमा सत्ता गठबन्धनसँगै प्रतिपक्षी दलहरूले समर्थन जनाइरहेका छन्।

प्रकाशित: ५ असोज २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =