यसपालिको च्याम्पियन्स लिग आउँदो मंगलबार राति सुरु हुँदैछ। पहिलो खेल एसी मिलान र न्युकासल युनाइटेडबीच सान सिरोमा हुनेछ। यी टिम रहेको समूहलाई ग्रुप अफ डेथ मानिएको छ।
समूह ‘एफ’ मा अमेरिकी निजी लगानी कोष रेडबर्ड क्यापिटल्स पार्टनर स्वामित्वको मिलान र साउदी अरबले लगानी गरेको न्युकासलबाहेक बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेन छन्। डर्टमन्ड समर्थकहरूको सेयरबाट चलेको क्लब हो। पीएसजीमा भने कतारी लगानी छ।
२१ औँ शताब्दीमा युरोपेली क्लब फुटबल कुन परिस्थितिमा छ? यो प्रश्नको जवाफ यही समूह ‘एफ’ले दिनेछ।
च्याम्पियन्स लिग कति महत्त्वपूर्ण छ र यसका खेल कति रोमाञ्चक हुन्छन्, भनिरहनु पर्दैन। यस्तोमा मिलान र न्युकासलबीचको खेललाई लिएर फुटबल समर्थक उत्साहित छन् नै।
यसपालिको च्याम्पियन्स महत्त्वपूर्ण हुनुको कारण अरू पनि छन्। एउटा कारण हो, नयाँ स्वरूपको क्लब विश्वकप सुरु हुनुअघिको अन्तिम च्याम्पियन्स लिग। नयाँ स्वरूपको क्लब विश्वकपको मतलब हो, टिम संख्यामा वृद्धि। सन् २०२५ को क्लब विश्वकपमा ३२ टिम हुनेछन्।
स्वामित्वकर्ताका कारण पनि मिलान र न्युकासलबीचको खेल सर्वाधिक चासोको विषय बनेको हो। खासमा यो भिडन्तले एउटा सन्देश पनि दिँदैछ, युरोपेली क्लब फुटबल अब नयाँ चरणमा प्रवेश गरेको छ। नयाँ चरणमा दबदबा लगानी कोषहरूको हुनेछ। जसका कारण क्लब फुटबल क्रमशः महँगो भइरहेको छ। वर्र्षाँैदेखि भइरहेको उच्च मुनाफा अब बढिरहेको खर्चले छायामा पर्न थालेको छ।
‘हाम्रो फुटबल व्यवस्था असफल हुने बाटोमा छ,’ युरोपेली क्लब प्रतियोगितामा नछुट्ने एक क्लबका कार्यकारी अधिकृत भन्छन्, ‘फुटबल व्यापार बढ्न त बढेको छ, तर यही बेला धेरैजसो क्लब आर्थिक रूपमा भत्किँदैछन्।’
अहिलेको परिस्थितिमा हरेक क्लबका आआफ्ना अप्ठ्यारा छन्। कम मुनाफा गरिरहेका क्लब खर्च कटौतीमा लागेका छन्। जति मन लाग्यो त्यति खर्च गर्नसक्ने क्लबको भने भिन्नै चिन्ता छ, कतै कारबाहीमा त परिने होइन? किनभने युरोपेली फुटबल महासंघ (यूईएफए) को वित्तीय नियम छ। जसलाई सन् २०१० देखि २०२२ सम्म फाइनान्सियल फेयर प्ले (एफएफपी) भनियो। कमाइभन्दा बढी खर्च गरे, यो नियमअन्तर्गत कारबाही गरिन्थ्यो। २०२२ बाट भने नयाँ वित्तीय नियम लागू भइसकेको छ। जसलाई वित्तीय दिगोपनको नाम दिइएको छ।
एफएफपी कत्तिको प्रभावकारी छ? भन्ने बहस जारी रहँदा नयाँ नियम ल्याइएको थियो। जसलाई एकथरीले स्वागत गरेका छन्। स्वागत गर्ने ती अमेरिकी लगानीकर्ता हुन्। जो करोडौँ डलर बोकेर युरोपेली फुटबलमा छिरिरहेका छन् क्लब खरिद गर्न।
अमेरिकी लगानीकर्ताको मत छ, फुटबल व्यापार दिगो बनाउनुपर्छ। फुटबल व्यापार दिगो भए मुनाफा बढ्ने उनीहरूको भनाइ छ। साना मानिने क्लबहरू पनि नयाँ नियमको पक्षमा छन्। युरोपेली क्लब फुटबलमा अथाह आर्थिक स्रोत भएकाहरू छिर्दा खेलाडी बजारमा प्रतिस्पर्धा नै गर्न नसकिएको उनीहरूको गुनासो छ। यस्तोमा नयाँ नियमले बजारलाई नियमन गर्ने अपेक्षा छ।
‘ठूलाठूला लगानीकर्ता आइरहेका छन्, विशेषगरी खाडीबाट। अरु क्षेत्रबाट पनि लगानी भित्रिरहेको छ। यस्तोमा दिगो तरिकाले क्लब सञ्चालन गर्छु भन्नेका लागि परिस्थिति निरन्तर अप्ठ्यारो बनिरहेको छ,’ मिलान र आर्सनलका पूर्वकार्यकारी अधिकृत इभान गाजिडिज भन्छन्।
अस्पष्ट मुनाफा
युरोपेली क्लब फुटबल पछिल्लो २० वर्षमा ठूलो व्यापार बनेको छ। मुनाफा पनि निरन्तर बढेको छ। यसको एउटा कारण हो, प्रसारण अधिकार बिक्री। इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगका लागि आम्दानीको मुख्य स्रोत नै प्रसारण अधिकार बिक्री हो।
प्रसारण अधिकार बिक्री प्रिमियर लिग मात्र होइन युरोपका अन्य चार ठूला लिगका लागि कमाइको भरपर्दो स्रोत हो। युरोपेली क्लब फुटबलमा पाँच ठूला लिगलाई ‘बिग फाइभ’ भनिन्छ। जसमा प्रिमियर लिगसँगै स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ए र फ्रेन्च लिग वान पर्छन्।
सन् २०२१-२२ सिजनमा युरोपका पाँच ठूला लिगले १७ अर्ब २० करोड युरो कमाइ गरेका थिए। फुटबल व्यापारबारे तथ्यांक राख्ने डेलोइटका अनुसार एक दशकअघिको कमाइ जम्मा नौ अर्ब ३० करोड युरो थियो।
कमाइ अथाह भए पनि क्लबहरूले देखाउने नाफामाथि भने प्रश्न उठ्ने गरेको छ। यसरी देखाइने नाफालाई सुकेको आलुबखडाको रसको संज्ञा दिन्छन्, टोटनहमका पूर्वअध्यक्ष एलन सुगर। ‘क्लबमा एउटा ढोकबाट पैसा भित्रिन्छ, अर्को ढोकाबाट बाहिरिन्छ,’ सन् २०१५ मा प्रिमियर लिगले करोडौँ पाउन्ड बराबरको प्रसारण अधिकार बेचेपछि सुगरले प्रतिक्रिया दिएका थिए। क्लबहरूको धेरैजसो कमाइ खेलाडी र उनीहरूका एजेन्टले लग्ने उनको तर्क थियो।
सुगरको तर्क गलत छैन। उनको तर्कलाई खेलाडी सरुवा बजारले बल पु¥याउँछ। विश्व फुटबल नियामक निकाय फिफाका अनुसार अघिल्लो खेलाडी सरुवा बजारमा सात अर्ब ३६ करोड अमेरिकी डलर खर्च भएको थियो। जुन अहिलेसम्मकै सर्वाधिक ठूलो खर्च हो। खर्चमध्ये ७९ करोड ७० लाख अमेरिकी डलर एजेन्टहरूले पाएका थिए।
एजेन्ट शुल्कमा जस्तै करोडौँ डलर खेलाडीको तलबमा खर्च हुने गरेको छ। पछिल्लो समय खेलाडीको तलब अचाक्ली बढेको छ। कतिपयचाहिँ यसो हुनुमा केही क्लबहरूमाथि आरोप लगाउँछन्। सरकारी कोषबाट सञ्चालित क्लबहरूले जति भन्यो त्यति तलब प्रस्ताव गर्ने भएकाले अस्वस्थ प्रतिस्पर्धाले ठाउँ लिएको उनीहरूको दाबी छ।
सबै खर्च कटाएपछि बच्ने नाफा त्यसै पनि कम हुँदै गइरहेको थियो। झन् कोभिड महामारीले त क्लबहरूलाई आर्थिक संकटमा धकेलिदियो। यूईएफएका अनुसार महामारीका कारण युरोपेली क्लबहरूले सन् २०२० देखि २०२२ सम्ममा १० अर्ब युरोभन्दा बढी गुमाएका थिए।
महामारीका कारण व्यहोरेको घाटाका कारण रन्थिनिएका केही ठूला क्लबले कमाइ बढाउने जुक्ति ननिकालेका होइनन्। जुक्ति थियो, युरोपियन सुपर लिग गठन प्रयास। यो लिगलाई च्याम्पियन्स लिगको विकल्पका रूपमा अघि सारिएको थियो। तर आखिरमा यो प्रयास असफल साबित भयो।
यही बीचमा यूईएफएमाथि वित्तीय अनुशासन कडाइका साथ लागू गर्न दबाब बढिरहेको छ। नयाँ लगानीकर्ता भित्रिने क्रम बढेसँगै यूईएफए दबाबमा परेको हो। यी नयाँ लगानीकर्ताले ठूला-ठूला क्लबहरूको जिम्मा लिइरहेका छन्। पछिल्लो उदाहरण हो, चेल्सी। जसलाई क्लियरलेक क्यापिटल्सले खरिद गरेको धेरै भएको छैन।
त्यसैगरी म्यानचेस्टर सिटीमा सिल्भर लेक नाम गरेको लगानी कोष भित्रिएको छ। क्लियर लेकले स्पेन र इटालीको फुटबलमा पनि लगानी गरेको छ। उता सिक्स्थ स्ट्रिटले त स्पेनका दुई प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड र बार्सिलोना दुवैमा लगानी गरेको छ।
‘फुटबलमा संस्थागत पुँजी जति धेरै भित्रिन्छ, नियामक संस्थामाथि वित्तीय नियम बलियो बनाउन त्यति नै धेरै दबाब सिर्जना हुन्छ। तर संस्थागत पुँजी आकर्षित गर्न सजिलो छैन। यसका लागि फुटबल फाइदाजनक व्यापार भएको बारम्बार पुष्टि गरिरहनुपर्छ,’ युरोपेली फुटबलमा कन्सलट्यान्ट रहेका फाउस्तो जानोटोन भन्छन्।
उसो त पछिल्लो समय एक्लै लगानी गर्ने अर्बपति पनि छन्। एपोलोे ग्लोबल म्यानेजमेन्टका संस्थापक जोन ह्यारिससँग प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसको सेयर छ। अमेरिकी बास्केटबल टिम बोस्टन सेल्टिक्समा लगानी गरेका स्टिफन पाग्लिउकाले गत वर्ष सिरी एक क्लब एटलान्टा खरिद गरेका थिए। कतिले फुटबल क्लब र अन्य खेलका क्लबहरूको सञ्जाल नै बनाउन प्रयास गरिरहेका छन्।
‘क्लबहरू सञ्चालनमा दिगोपन होस् भन्ने चाहना हो। मलाई लाग्छ यूईएफए यो विषयमा सचेत छ। प्रिमियर लिगमा पनि यसमा गम्भीर छ। यो अभियान चलिरहोस्, यसले सबैको भलाइ हुनेछ। अभियानलाई समर्थन नगर्ने ती क्लबहरू मात्र हुनेछन्, जसको स्वामित्व देशहरूसँग छ,’ युरोपेली क्लबमा लगानी गरेका एक अमेरिकी लगानीकर्ता भन्छन्।
समान अवसर
युुरोपेली फुटबल नियमन गर्ने यूईएफएको नयाँ नियमअनुसार कुनै पनि क्लबले कमाइको ९० प्रतिशत मात्र खेलाडी खरिद र तलबमा खर्च गर्न पाउँछन्। अर्को वर्ष खर्च सीमा ८० र दुई वर्षपछि ७० प्रतिशतमा झर्नेछ। यो नियमले तत्काल थोरै क्लबहरूलाई मात्र प्रभावित बनाउनेछ। तर बिस्तारै यसको प्रभाव फराकिलो हुनेछ।
डेलोइटका अनुसार सन् २०२१-२२ सिजनमा इटालीमा क्लबहरूले आफ्नो कमाइको ८३ प्रतिशतसम्म खेलाडीको तलबमा खर्च गरेको पाइएको थियो। उता फ्रान्समा भने यो आँकडा ८७ प्रतिशत थियो।
नयाँ नियम उल्लंघन भएमा कारबाहीका स्पष्ट प्रावधान छन्। जस्तै- सरुवा बजारमा प्रतिबन्ध, खेलाडीको संख्या घटाउने आदि। उसो त यसअघि पनि कारबाहीका प्रावधान थिए। तर कारबाही पर्दापछाडिबाट निक्र्योल गरिन्थ्यो।
‘म एउटा कुरामा प्रस्ट छु, क्लबले आफूले कमाएको पैसा खर्च गर्न पाउनुपर्छ। तर मलिकको गोजीबाट प्रत्येक वर्ष आउने पैसा खर्च गर्न पाउनु हुँदैन। मेरो यो अडानका कारण धेरै जना रिसाउँछन्। तर म आफ्नो अडानबाट पर हट्दिनँ,’ डर्टमन्डका अध्यक्ष तथा यूईएफए कार्यकारी समितिका सदस्य हान्स योकिम वाज्केले भनेका छन्। वाज्के सदस्य रहेकै समितिले वित्तीय नियम बनाउने गर्छ।
यूईएफएका अध्यक्ष अलेक्जान्डर क्याफरिन पनि वाज्के जत्तिकै कडा मत राख्छन्। अझ उनले त भविष्यमा खेलाडीको तलब सीमा पनि तोकिनुपर्ने बताइरहेका छन्। यसो भएमा सबैभन्दा गहिरो असर धनी क्लबहरूलाई पर्नेछ, विशेषगरी ती क्लब जो प्रिमियर लिग खेल्छन्। प्रिमियर लिगको प्रसारण अधिकार सबैभन्दा महँगो मूल्यमा बिक्री हुने गर्छ। जसका कारण यो लिगका क्लबहरूको आम्दानी र खर्च क्षमता अन्य लिगका क्लबहरूको भन्दा बढी भएको हो।
खर्च नियन्त्रण र तलब सीमा तोक्ने अवधारणा अमेरिकी खेलकुदमा बलियो छ। त्यहाँका बास्केटबल, फुटबल, अमेरिकी फुटबल लिग (एनएफएल), बेसबल लिगमा कडा वित्तीय नियम लागू छ। फर्मुला वानमा समेत यस्तै नियम लगाइएको छ। नियम पालनाले अमेरिकी खेलकुदलाई हानि गरेको छैन। बरु क्लबहरूकै आर्थिक स्थिति सुध्रिएको छ। तब त फोब्र्सले निकालेको धनी क्लबहरूको सूचीमा एनएफएलका ३० क्लब छन्, जबकि बाँकी देशका सात फुटबल क्लब मात्र यो सूचीमा अटेका छन्।
केही वर्षयता स्पेनको ला लिगाले वित्तीय नियम कडाइका साथ लागू गरिरहेको छ। त्यहाँका क्लबहरूले नियमित रूपमा आफ्नो कमाइको विवरण लिग प्रशासनलाई बुझाउनुपर्छ। प्रिमियर लिगमा भने वित्तीय अनुशासन पालना गराउन भिन्दै निकाय स्थापना गरिँदैछ। प्रिमियर लिग यूईएफएले ल्याएको भन्दा भिन्न नियम ल्याउने गृहकार्यमा पनि जुटेको छ।
खाडीका देशहरूको लगानी रहेका क्लबहरू पनि वित्तीय नियमका पक्षमा छन्। कतारी लगानीको पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले आफूहरू खेलाडीको तलबसीमा तोक्नुपर्ने पक्षमा रहेको बताउँछन्। युरोपेली क्लबहरूको छाता संगठन ईसीएको सम्मेलनमा बोल्दै खेलैफीले क्लबहरूको खर्च अत्यधिक बढेको र कटौतीका लागि कडा नियम आवश्यक रहेको बताएका थिए।
‘कुनै क्लब पनि पैसा गुमाउन चाहँदैन। खर्च कटौती गर्न हामी तलब सीमा तोक्न सक्छौँ भने त्यो सही कदम हुनेछ,’ खेलैफीले भनेका थिए।
खेलैफीको क्लब पीएसजी आफैँ पनि खर्च कटौतीमा लागेको छ। पीएसजी युरोपेली क्लब फुटबलमा खर्चालु मानिने क्लब हो। सन् २०११ मा कतारी लगानी कोषले स्वामित्व लिएपछि पीएसजीले खेलाडी खरिदमा दुई अर्ब खर्च गरिसकेको छ। वित्तीय अनुशासन पालना नगरेको भन्दै पीएसजीलाई गत वर्ष एक करोड युरो जरिबाना तिराइएको थियो। अचेल भने पीएसजी आफ्नो परिचय बदल्ने प्रयासमा छ।
सन् २०२१-२२ सिजनमा पीएसजीले आफ्नो कमाइभन्दा नौ प्रतिशत बढी खेलाडीको तलबमा खर्च गरेको थियो। लियोनल मेस्सी, नेयमार र किलियान एम्बाप्पेजस्ता महँगा खेलाडी टिममा भएकाले पीएसजीले तलबमा त्यत्तिको ठूलो खर्च गर्नुपरेको हो। हाल भने पीएजीमा मेस्सी र नेयमार छैनन्। उनीहरूको बहिर्गमनको एक कारण पीएसजीको खर्च कटौतीको नीति पनि हो। यही बीचमा पीएसजीले आफ्नो सेयर पनि बिक्री गर्ने प्रयास गरिरहेको छ। सेयर खरिदका लागि अमेरिकाको आर्कट्स समूह इच्छुक रहेको बताइन्छ।
खेलाडीको विरोध
युरोपेली क्लब फुटबल खर्चिलो बन्दै जाँदा फाइदा अवश्य पनि खेलाडीलाई भएको छ। यसकारण खर्च कटौतीको मारमा सबैभन्दा बढी खेलाडी नै पर्नेछन्।
खेलाडीहरूको संगठन फिफप्रोका महासचिव जोनास बाइर होफमन नयाँ वित्तीय नियमलाई सुरुवाती लागूऔषधसँग तुलना गर्छन्। तलब सीमा तोक्ने प्रयास युरोपेली क्लब फुटबलमा सफल नहुने जिकिर पनि छ होफमनको। प्रत्येक देशमा फरकफरक कर व्यवस्था रहेकाले तलब सीमाको अवधारणा सफल नहुने उनको तर्क छ।
डर के पनि छ भने यूईएफएको वित्तीय नियमका कारण क्लबहरूबीचको खाडल झनै ठूलो बन्नसक्छ। जस्तै- डेलोइटका अनुसार म्यानचेस्टर सिटी सर्वाधिक धनी क्लब हो। सन् २०२१ २२ सिजनमा सिटीले ७३ करोड १० लाख युरो कमाएको थियो। जबकि च्याम्पियन सिटीभन्दा ६ स्थान तल रही सिजन समापन गरेको वेस्टह्याम युनाइटेडको कमाइ आधा मात्र थियो। कमाइअनुसारको खर्च गर्ने हो भने सिटी वेस्टह्यामभन्दा सधैँ माथि हुनेछ।
कुनै पनि लिगको रोमाञ्च त्यहाँ हुने प्रतिस्पर्धा र अनिश्चितताले तय गर्छ। लिग जति रोमाञ्चक भयो, विश्वभर समर्थक त्यही दरमा बढ्ने हो। तर लिग वान, बुन्डेसलिगा र प्रिमियर लिगमा एकएक क्लबो दबदबा छ। पीएसजी पछिल्ला ११ सिजनमा नौ पटक च्याम्पियन बनेको छ भने बायर्नले लगातार बुन्डेसलिगा जितेको ११ सिजन भयो। उता सिटीले प्रिमियर लिगका पछिल्ला ६ संस्करणमध्ये पाँचमा शीर्षस्थान कब्जा गरेको छ।
‘घरेलु फुटबलमा मात्र सीमित क्लबहरूले त्यही लिग खेल्ने तर विश्वस्तरीय ब्रान्ड भएका क्लबहरूसँग प्रतिस्पर्धा गर्नसक्ने छैनन्,’ फुटबलबारे शोध गर्ने फुटबल बेन्चमार्क नाम गरेको संस्थासँग आबद्ध एन्टोनियो सियान्नी भन्छन्, ‘यसकारण यो नियमले सबैलाई सन्तुष्ट पार्छ जस्तो लाग्दैन।’
उसो त ठूला क्लबहरूको उग्र महत्त्वाकांक्षालाई लगाम लगाउने गरी नयाँ नियम लागू हुनेमा शंका गर्नेहरू पनि छन्। किनभने पुरानो नियम एफएफपीले नै अपेक्षाकृत् प्रभाव छाड्न सकेको छैन।
एफएफपीअन्तर्गत गरिएको ठूलो कारबाही सिटीलाई लगाइएको प्रतिबन्ध हो। सिटीलाई दुई वर्ष च्याम्पियन्स लिग खेल्न नदिइने घोषणा गरिएको थियो। तर सिटीले मुद्दा जितेपछि यो निर्णय उल्टियो। प्रिमियर लिगले पनि सिटीमाथि अनुसन्धान गरिरहेको बताएको छ। तर अनुसन्धान एक सयभन्दा बढी विषयमा भइरहेको हो।
फुटबल बजारमा नयाँ खेलाडी
क्लबहरूको खर्च कटौती गर्न यस्तो बेला ल्याइँदैछ जतिबेला लिगहरूको आम्दानी स्रोत कमजोर हुने बाटोमा छ। माथि उल्लेख गरिए जस्तै हरेक लिगका लागि आम्दानीको मुख्य स्रोत प्रसारण अधिकार बिक्री नै हो। यतिबेला इटाली र फ्रान्समा लिग प्रसारण अधिकार बिक्रीमा राखिएको छ। प्रिमियर लिगको वर्तमान सम्झौता यही वर्ष सकिँदैछ। जर्मन बुन्डेलिगाले अर्को वर्ष नयाँ खरिदकर्ता खोज्नुपर्नेछ।
फेरि यो यस्तो बेला हो, जति बेला विश्व टेलिभिजन बजार खस्किएको छ। बजार खस्किएकाले ठूला पाँच लिगले समेत आफूले चाहेको मूल्यमा प्रसारण अधिकार बिक्री बेच्नसक्ने सम्भावना कम छ। विश्लेषकहरू के भन्छन् भने, लामो समय लिगहरूले प्रसारण अधिकार महँगो मूल्यमा बेचे। तर अब त्यो परिस्थिति रहेन।
यही बेला युरोपेली क्लब फुटबलले नयाँ प्रतिद्वन्द्वी पाएको छ। त्यो हो, साउदी लिग। जसले युरोपका ठूला क्लबबाट स्टार खेलाडीहरूलाई भनेजति मूल्य तिरेर लगेको छ। यो सम्भव हुनुको कारण हो, साउदी सरकारको राष्ट्रिय लगानी कोष। जसले गत जुनमा साउदी लिगका चार क्लबको पूर्ण स्वामित्व लिएको थियो। र ती चार क्लबका लागि मात्र होइन अरु क्लबका लागि पनि युरोपेली क्लब फुटबलमा प्रभाव पारेका खेलाडीलाई अनुबन्ध गरिएको छ।
साउदी लिगलाई किन पनि प्रतिद्वन्द्वी भनिएको हो भने, त्यहाँका क्लबहरूले मनलाग्दी खर्च गरेका छन्। डेलोइटका अनुसार यसपालिको सरुवा बजारमा साउदी क्लबहरूले नयाँ खेलाडी खरिदमा एक अर्ब अमेरिकी डलर खर्च गरे। रियादको अल हिलालले मात्र ३५ करोड खर्च गरेको थियो। विश्वका सर्वाधिक ६ खर्चालु क्लबमध्ये तीन क्लब साउदीका हुन्।
‘यो त सुरुवात मात्र हो। परिस्थिति झन् गम्भीर बन्दै जानेछ। लिगहरूबीचको खर्च गर्ने प्रतिस्पर्धा घट्नेवाला छैन। यस्तोमा हामी हरेक क्लबका लागि समान अवसर सिर्जना गर्न प्रतिबद्ध हुन जरुरी छ,’ प्रिमियर लिगको निष्कर्ष छ।
खेलाडी बजारमा साउदी लिगको उदय युरोपेली क्लबहरूका लागि पूर्ण रूपमा नकारात्मक भने रहेन। हो कतिपय क्लबका महत्त्वपूर्ण खेलाडी साउदीले खोसेकै हो। तर कैयौँ क्लबले यस्ता खेलाडी बिक्री गर्न पाए जसलाई उनीहरू पहिलेबाटै बिक्री गर्न चाहन्थे तर खरिदकर्ता पाइरहेका थिएनन्।
हालको खेलाडी बजारमा खर्चालु देखिए पनि साउदी लिगको भविष्य प्रस्ट छैन। स्पष्ट यो पनि छैन कि फुटबलमा साउदीको लगानी युरोपका लागि चुनौती हो वा अवसर। ‘साउदीमा के हुनेवाला छ, हामीलाई थाहा छैन। उनीहरूसँग अथाह पैसा छ। तर त्यो पैसा फुटबलमा कसरी उपयोग गर्छन् अहिल्यै भन्न सकिँदैन,’ डर्टमन्डका अध्यक्ष वाज्केले भनेका छन्।