बेइजिङ- सोमबार बिहान बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। चिनियाँ व्यक्तित्व तथा बेइजिङमा रहेका विभिन्न देशका कुटनीतिक नियोग तथा दूतावासका कूटनीतिज्ञहरूले योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी थेरापीको साथमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएका हुन्।
संयुक्त राष्ट्रसंघले हरेक वर्षको अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको छ। नेपालको पहलमा संयुक्त राष्ट्रसंघको महासभाले यसै वर्ष (१० मार्च, २०२६) एक प्रस्ताव पारित गर्दै हरेक वर्ष अप्रिल १५ तारिखलाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने घोषणा गरेको हो। सोही सन्दर्भमा बेइजिङस्थित नेपाली दूतावासले अप्रिल २० तारिख सोमबार प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएको हो।

नेपाली योगगुरु रमेश सिटौला अर्थात् ‘अमर गुरु’ ले एक घण्टा लामो योग अभ्यास, ध्यान, प्राणायम र ध्वनी थेरापी सञ्चालन गरेका थिए। उनलाई योग कार्यक्रमपश्चात कार्यवाहक राजदूत रोशन खनालले प्रशंसापत्र प्रदान गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत खनालले हिमाल, प्राकृतिक स्रोत, आध्यात्मिक परम्परा र सांस्कृतिक सम्पदाले सम्पन्न नेपाल आरोग्य पर्यटनका लागि विश्वमै आकर्षक गन्तव्य भएको बताइन्। उनले नेपाल भ्रमणका लागि आग्रह गर्दै भनिन्, ‘म यहाँ उपस्थित सबैलाई नेपाल भ्रमण गर्न र त्यहाँको प्राकृतिक सुन्दरताको मात्र होइन, साँस्कृतिक सम्पदाको पनि आनन्द लिन तथा शान्त वातावरणमा परम्परागत स्वास्थ्य अभ्यास गरेर ऊर्जा प्राप्त गर्न स्वागत गर्दछु।’

आजको अन्तरसम्बन्धित संसारमा, सुस्वास्थ्यको खोजीमा सीमा पार गरिने भन्दै स्वस्थ जीवनशैली, दिगो जीवन र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न राष्ट्रहरूबीचको सहयोग पहिलेभन्दा अझै आवश्यक भएको पनि औँल्याइन्।
कार्यक्रमका मुख्य अतिथि, चीनको परराष्ट्र मन्त्रालयका काउन्सलर वाङ सीनले आफ्नो सम्बोधनमा नेपालमा प्रतिनिधि सभाको निर्वाचन सहज रूपमा सम्पन्न भएर नयाँ प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह चयन भएपछि नेपालमा विकासको नयाँ अध्याय खोलेको बताए।

‘चीनलाई खुसी लागेको छ कि नेपालले गएको महिनामा प्रतिनिधि सभाको निर्वाचन सहज रूपमा सम्पन्न गर्यो, सफलतापूर्वक नयाँ सरकार गठन गर्यो र महामहिम बालेन्द्र शाह नयाँ प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरेको देख्यो, नेपालको विकासमा नयाँ अध्याय खोलेको छ,’ उनले भने, ‘चीनले सधैँ नेपालको नयाँ सरकारलाई स्थायित्व र सुशासन कायम राख्न समर्थन गर्नेछ, नेपाललाई चीनको विकासको लाभलाई साझा गर्न स्वागत गर्दछ, र नेपालसँग विविध क्षेत्रहरूमा पारस्परिक लाभदायी सहकार्यलाई गहन बनाउन, जनशक्ति आदानप्रदान र सांस्कृतिक अन्तरक्रियालाई प्रवर्द्धन गर्न र सधैँ मैत्रीपूर्ण विकास र समृद्धिका लागि चीन नेपाल रणनीतिक साझेदारीलाई अगाडि बढाउन तयार छ।’
उनले संयुक्त रूपमा ट्रान्स हिमालय वेलनेस टुरिजम कोरिडोरको स्थापना गर्नसकिने भन्दै यसबाट सो क्षेत्रका मानिसहरूलाई लाभ प्रदान गर्नसकिने र क्षेत्रीय आर्थिक विकासमा नयाँ हरित गति प्रदान गर्नसकिने पनि औँल्याए।
कार्यक्रममा ‘नेपालमा वेलनेस पर्यटन’ सम्बन्धित् भिडियो पनि देखाइएको थियो। साथै, नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको अन्तर्राष्ट्रिय आरोग्य दिवस सन्दर्भको भिडियो सम्बोधन प्रसारण गरिएको थियो।




