नदीजन्य पदार्थको दोहन रोक्न कञ्चनपुरमा गस्ती

हिमाल प्रेस २९ भदौ २०८० १०:५५
4
SHARES
नदीजन्य पदार्थको दोहन रोक्न कञ्चनपुरमा गस्ती

कञ्चनपुर- कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन रोक्न पहल सुरु भएको छ।

शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रिय गस्ती गरिरहेका छन्।

सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुंगा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। ‘बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि पालो मिलाएर खटिएका छौँ’, उनले भने।

वनहरा, अनौखी, गौडी खोलालगायत क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाए पनि संलग्न फेला नपरेको उनले बताए। चुरेक्षेत्र भएर बग्ने नदी, खोलामा अवैध उत्खनन गरिँदा बर्सेनी बाढीको समस्या बल्झिँदै आएको छ।

नदी, खोला साविकको क्षेत्रमा बग्न छाडेर धार परिवर्तन गरी बस्तीतर्फ सोझिन थालेका छन्। चुरे फेदीका बेलडाँडी, पिल्लरीलगायतका बस्तीका बासिन्दाले केही वर्षयता बाढीको समस्या झेल्दै आएको सामुदायिक वनकी पदाधिकारी विमला चौधरीले बताइन्।

‘वैज्ञानिक तरिकाले चुरे क्षेत्र नजिकका नदी, खोलाबाट ढुंगा, बालुवा, गिट्टी झिक्ने कार्य गरे समस्या हुँदैन, त्यस्तो अहिलेसम्म हुनसकेको छैन’, उनले भनिन्, ‘अन्धाधुन्धरूपमा नदीजन्य पदार्थ झिकिँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन्। त्यसैले सामुदायिक वनका पदाधिकारी, उपभोक्ता खटिँदै आएका हुन्।’

सब डिभिजन वन कार्यालय, प्रहरी र नगरपालिकासँग समन्वय गरी अवैध उत्खनन रोक्न प्रयास थालिएको उनको भनाइ छ।

प्रकाशित: २९ भदौ २०८० १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =