ओलीले नियुक्ति गरेका ५२ पदाधिकारीको मुद्दाको सुनुवाइ हुने

हिमाल प्रेस २७ भदौ २०८० ११:०५
4
SHARES
ओलीले नियुक्ति गरेका ५२ पदाधिकारीको मुद्दाको सुनुवाइ हुने सर्वोच्च अदालत

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक निकायमा अध्यादेशमार्फत् गरेका नियुक्ति विवादसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ।

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकिएको छ।

सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् ईश्वरप्रसाद खतिवडा र न्यायाधीश डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलास गठन गरिएको छ।

ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति दिइएका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। तर लामो समयसम्म हेर्न नभ्याउनेमा परेको उक्त रिटमा नियुक्ति गर्नुपर्नाको कारण देखाउन आदेश गर्दै ५२ जनालाई नै प्रत्यर्थी बनाइएको थियो।

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाउ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो।

त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने २०७९ फागुन ३ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो।

प्रकाशित: २७ भदौ २०८० ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =