मध्यपहाडी राजमार्गको हरिचोक–याम्दी खण्ड अलपत्र

हिमाल प्रेस २२ भदौ २०८० १४:४१
2
SHARE
मध्यपहाडी राजमार्गको हरिचोक–याम्दी खण्ड अलपत्र

पोखरा- मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। कमसल सडकका कारण बर्सात्‌मा हिलो र हिउँदमा धुलो छिचोल्दै हिँड्नुपर्ने बाध्यता छ।

पोखरा–बागलुङ चल्ने जीपका चालक लक्ष्मण क्षेत्रीले बर्खामासमा जहीँतहीँ परेका खाल्डाखुल्डीले झन् समस्या थपेको बताए। ‘एकातिर गाडी चाँडै बिग्रिने, अर्कोतिर यात्रुलाई सकस,’ उनले भने, ‘दुवैतर्फ चार लेन कालोपत्रे सडक छ, बीचको बाटो किन बनेन अचम्म छ।’ क्षेत्रीले एक वर्षदेखि सडकको हालत उही रहेको बताए। ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको कामसमेत भएको छैन।

यो सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ। पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्रे गरिएको थियो। बीचको झण्डै २२०० मिटर सडक विस्तार र कालोपत्रे गर्न बाँकी रहेको आयोजना कार्यालय, पर्वतले जनाएको छ।

केही ठाउँमा नाला निर्माण र पर्खाल चिर्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ। आयोजना प्रमुख कल्पना अधिकारीले सोचे जसरी निर्माण कम्पनीले काम नगरेको बताइन्। ‘ठेक्का अवधि अझै एक वर्ष बाँकी छ तर अहिले भइरहेको काम सन्तोषजनक छैन,’ उनले भनिन्, ‘कामलाई गति दिन निर्माण व्यवसायीलाई पटकपटक ताकेका गर्दै आएका छौँ, केही दिनमा मुख्य ठेकेदारलाई नै बोलाएर छलफल गर्छाैँ।’ बर्खायाम, भुक्तानी नपाएकोजस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको आयोजना प्रमुख अधिकारीले बताइन्।

गत वर्ष साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले निर्माणको जिम्मा पाएको थियो। २५ मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ। पश्चिमतर्फ पर्वत, बागलुङ, रुकुम पूर्वलगायतका जिल्लाबाट राजमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन्। सडक कालोपत्रे नहुँदा धुलो र हिलोको समस्याले स्थानीयबासी आजित छन्। सडक साँघुरो र अस्तव्यस्त हुँदा सवारी जामको समस्या उस्तै छ।

दुर्घटनाको पनि जोखिम बढेको छ। नाला र सडक खनेर अलपत्र छोड्दा बर्सातमा खाल्डाखुल्डी पर्ने र पानी जम्ने समस्या छ। सडक निर्माणमा ढिलासुस्ती भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले यसअघि स्थलगत अनुगमनसमेत गरेको थियो।

प्रकाशित: २२ भदौ २०८० १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =