रंगशालामा बाघ वध गर्दा जब जयजयकार लाग्यो

हिमाल प्रेस २१ भदौ २०८० ७:०३
8
SHARES
 रंगशालामा बाघ वध गर्दा जब जयजयकार लाग्यो

पोखरा- पोखरा रंगशालामा नरभक्षी बाघको वधसँगै सिन्दुर जात्रा भयो। सबैले खुसीको जयजयकार मनाए। मानिसको घरबस्तीमा छिरेर दुख दिने हिंस्रक बाघको बरोबर आक्रमण र वथमा आधारित रहेर मनाइने यहाँको ऐतिहासिक बाघजात्रा आगामी ५ वर्षपछि भेट्ने गरी बुधबार समापन भयो।

पोखराका विशेषगरी नेवार समुदायमा प्रचलित यो बाघजात्रा यसपालि २३ वर्षपछि निकालिएको हो। गत सोमबारदेखि सुरु बाघजात्रामा मानिसको अनेक भावभंगी देख्न सकिन्थ्यो।

कोही राजारानी। कोही प्रधानमन्त्री। कोही प्रधानसेनापति। मन्त्री, तिनका सुरक्षागार्ड, यमराज, सेना, प्रहरी, गुरिल्ला, कुमारी, लाखे, ज्यासीन्यासी तथा सर्वसाधारण। तीन दिनसम्म सहरका विभिन्न भागमा देखाइएको बाघजात्रामा बाघ आक्रमण (बाघको स्वरूपमा मानिस)बाट बँच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोजिन्छ।

खिन, झ्याली लगायतका बाजाको धूनमा बाघ लठ्ठ पार्ने प्रयास गरिन्छ। यसैगरी जात्रा अघि बढ्छ । जात्रा अघि बढ्दै जाँदा लाखे, कुमारी, तायमचाको रौनक त छँदैछ। जात्राको मुख्य तात्पर्य बाघ मारेर जनतालाई डरत्रासबाट उन्मुक्ति दिलाउनु रहेको विभिन्न जात्राका जानकार अष्टमान प्रधानाङ्ग बताउँछन्।

जात्राको अन्तिम दिन पोखरा–३, नदीपुरस्थित नेवाः छें भवनबाट सुरु बाघजात्रा नालामुख, तेर्सापट्टि, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, शीतलदेवी, गौंडाकोमुख, अमरसिंहचोक हुँदै पोखरा रंगशाला पुगेको थियो। राजाको आदेशमा सेनाले गोली हानेर बाघ वध गर्दा सबैमा हर्षोल्लास छाएको थियो।

जात्रामा विशेष आकर्षणमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रा पनि देखाइएको थियो। जात्राका क्रममा राजारानीलाई आवश्यक सुरक्षा व्यवस्थासहित नगर परिक्रमा गराइएको थियो । तर मुलुकमा गणतन्त्र आइसकेको ८ वर्ष बितिसक्दा जात्राका नाममा राजारानीसहित सेनाको लावाँलस्कर प्रस्तुत गर्दै सहर डुलाइनु अशोभनीय भएको पनि कतिपयको टिप्पणी थियो।

नेवारी संस्कृतिमा आधारित यो जात्रामा नेवार समुदायसहित अन्य जातजातिका मानिसको पनि ठूलो संख्यामा उपस्थिति थियो। जात्रा घर अगाडि आउँदा स्थानीय घडा राखेर स्वागत गरेका थिए।

भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा बढी प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेको भन्दै यहाँका नेवार समुदायले जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति नै गठन गरेका थिए। उनै जवहारलाल गएको बाघजात्राका पनि संयोजक थिए।

लामो समयको तयारीपछि बाघजात्रा पुनजीर्वित गर्न सकेकोमा खुसी व्यक्त गर्दै श्रेष्ठ अब ५ वर्षपछि फेरि देखाउने समितिले निर्णय गरिसकेको सुनाए।

‘बाघजात्रा निकाल्न सजिलो छैन । व्यवस्थापन गर्नै गाह्रो छ,’ समिति सचिव सुनिल उलकले भने । उनका अनुसार बाघजात्रा निकाल्न सबै जना गरेर करिब ३ सय जनाले सहभागिता जनाए ।

बाघजात्रा पोखरामा कहिलेदेखि सुरु भयो यकिन नभए पनि बाइसेचौबिसे राजाको पालादेखि सुरु भएको किंबदन्ती छ। भक्तपुरे नेवारहरुले भित्राउन मद्दत गरेको र १९९० देखि सुरु भएको अष्टमान प्रधानाङ्गले बताए।

केही महिनाअघि पोखराका नेवार समुदायले यस्तै खालको ऐतिहासिक बाह्र भैरव नृत्य पनि देखाएका थिए।

प्रकाशित: २१ भदौ २०८० ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =