काठमाडौँ– एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस्) को पढाइ सन् १९०४ देखि बेलायतबाट सुरु भएको हो। सन् १९९० को दशकमा केही नेपालीले एसीसीएको अध्ययन व्यक्तिगत रूपमा गरे पनि संस्थागत रूपमा भने सन् २००६ देखि आरम्भ भएको हो। एसीसीए पढाइ हुने सबै देशको अनुगमन र सहजीकरण बेलायतस्थित एसीसीएको मुख्य कार्यालयले गर्दै आएको छ।
एसीसीए १८१ देशमा फैलिएको छ। यसका विश्वभर २ लाख ४७ हजारभन्दा बढी सदस्य छन्। ५ लाख २६ हजार सदस्यको मान्यता पाउने क्रममा छन्। एसीसीए ग्लोबलडटकमका अनुसार एसीसीए सदस्य हुन १४ वटा पेपर पास गरेको र एकाउन्टिङ, फाइनान्सिङ, अडिटिङलगायतका क्षेत्रमा तीन वर्षको अनुभव पूरा गरेको हुनुपर्छ। ‘मापदण्ड विश्वभरका सबै विद्यार्थीका लागि एउटै हुन्छ,’ एसीसीए नेपाल प्रमुख रविन कटवाल भन्छन्।
कस्तो कोर्स?
पढ्दै गर्दा काम गर्न सकिने, पाठ्यक्रममै इन्टर्नसिप अनिवार्य गरिएको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण एसीसीएप्रति विद्यार्थी आकर्षित हुँदै गएका छन्।
विश्वभर एकै परीक्षा प्रणाली, कोर्स र मान्यता एसीसीएको विशेषता हो। एसीसीएका नेपाल प्रमुख कटवाल विश्वबजारका लागि उपयुक्त जनशक्ति उत्पादन, अन्तर्राष्ट्रिय अवसरलगायत कारण एसीसीएको माग हरेक वर्ष बढेको बताउँछन्।
एसीसीएको मान्यता पाउन १४ पेपर पास गर्नुपर्ने प्रावधान भए पनि स्नातक र स्नातकोत्तर तह पूरा गरिसकेकाको हकमा भने ११ पेपर मात्रै दिए पुग्छ। विद्यार्थीले इच्छाअनुसार पेपर छनोट गर्न पाउँछन्।
सामान्यतया एसीसीए कोर्स पूरा गर्न चारदेखि पाँच वर्ष लाग्छ। नलेज, स्किल्स र प्रोफेसनल गरी एसीसीएका तीन तह हुन्छन्। नलेज तहमा भर्ना हुन कक्षा १२ पास गरेको हुनुपर्छ। स्किल्सका लागि स्नातकको योग्यता चाहिन्छ। प्रोफेसनल तहमा भने एकाउन्टेन्सी पास गरिसकेकाले सोझै प्रवेश पाउँछन्। कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीले पनि फाउन्डेसन इन एकाउन्टेन्सी कोर्स पूरा गरेपछि यो कोर्स पढ्न पाउँछन्।
पेपर छनोट गरी परीक्षा दिन पाइने र सैद्धान्तिकभन्दा व्यावहारिक पाटो बढी भएकोले एसीसीए पढ्न सहज छ। अनुत्तीर्ण विषयको मात्रै पुनः परीक्षा दिनुपर्ने र आफूलाई पायक परेको समयमा परीक्षामा सहभागी हुन सकिने सहुलियत पनि छ।
नेपालमा पढाउने संस्थाअनुसार शुल्क फरक भए पनि करिब ५–७ लाखको लागतमा एसीसीए कोर्स पूरा गर्न सकिने कटवाल बताउँछन्।
विश्वभर माग
आर्थिक गतिविधिको व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको माग दिनहुँ बढिरहेको छ। त्यसमा झन् बैंक, बिमा, वित्तीय संस्था, होटल, कर्पोरेट हाउस, सरकारी निकाय, निजी कम्पनी आदिका लागि दक्ष जनशक्तिको माग हरेक दिन बढिरहेको छ। पछिल्लो समय यस्ता संस्थाको व्यवस्थापकीय नेतृत्व र विज्ञका रूपमा एसीसीए कोर्स उत्तीर्ण गरेकाहरूको बाहुल्य देखियो। कटवाल भन्छन्, ‘सबैतिर एसीसीए सदस्यहरूको माग बढ्दो छ, त्यसैले पनि यो कोर्स विशेष बनिरहेको छ।’
विशेषगरी अर्थ, व्यवस्थापन वा लेखा क्षेत्रमा काम गर्न चाहनेहरूका लागि एसीसीएले व्यावहारिक दक्षता प्रदान गर्छ। वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउन र गतिशील वित्तीय प्रणालीको स्थापनामा एसीसीएको भूमिका महत्त्वपूर्ण ठानिन्छ।
त्यसैले पनि वित्तीय संस्था, सरकारी र गैरसरकारी निकायमा एसीसीए राख्ने प्रचलन बढेको छ। जानकारहरू भन्छन्, ‘एसीसीएले संस्थाको आर्थिक गतिविधि मजबुत बनाउनेदेखि मुलुककै अर्थ व्यवस्था पनि चलायमान बनाउँछ।’
विदेशमा आकर्षक तलब र सम्मान पाउने थोरै काममध्ये एसीसीए पनि हो। विश्वव्यापी मान्यताको कोर्स भएका कारण कार्यक्षेत्र पनि फराकिलो हुन्छ।
विदेशमा मात्र हैन पछिल्लो समय स्वदेशकै बैंक, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले एसीसीए योग्यता खोज्ने गरेको एसीसीए नेपाल प्रमुख कटवालको अनुभव छ। देशले आर्थिक विकासमा फड्को मार्न थालेपछि भने व्यापार, उद्योग सबैतिर एसीसीएको माग झनै बढेको उनको तर्क छ। एसीसीएका सदस्यले अवसर खोज्ने मात्रै होइन बजार आफैँ सिर्जना गर्न सक्षम हुने उनी बताउँछन्।
‘ग्लोबल डिग्री’ भएका कारण एसीसीए पढेका विद्यार्थी संसारभर कामका लागि योग्य हुन्छन्। वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउन र गतिशील वित्तीय प्रणाली स्थापनामा एसीसीएको भूमिका महत्त्वपूर्ण हुने कटवालको भनाइ छ।
केही नेपालीले १९७० को दशकमा नै एसिसिए गरेका थिए, १९९० मा मात्र होईन।