एमालेको लुम्बिनी अधिवेशन : मतदान स्थगित

हिमाल प्रेस १८ भदौ २०८० २२:२१
22
SHARES
एमालेको लुम्बिनी अधिवेशन : मतदान स्थगित

लुम्बिनी– नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिबेशनको आज हुने भनिएको मतदान स्थगित भएको छ। बिहान १० बजेसम्म मनोनयनका लागि समय दिएर दिनभरि तयारी गर्नुपर्ने भए पनि केन्द्रीय नेताहरूको निर्देशनका कारण निर्वाचन समितिले काम गर्न नसक्दा ढिलाइ भएको हो।

राति ८ बजे मतदान सुरु हुने गरी साँझ ६ बजे सूचना प्रकाशन गरिएको थियो। त्यसपछि साढे ९ बजे सुरु गर्ने भनिए पनि राति १० बजे मतदान स्थगित गरिएको हो।

मंगलबार बिहान ८ बजेदेखि मतदान हुनेगरी मतदानका सबै कार्यक्रम स्थगित भएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए। रातको समयमा मतदान गर्न कठिन हुने भएकाले मतदान कार्यक्रम स्थगित गरिएको उनले बताए।

प्रदेश अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरिप्रसाद रिजाल चुनावी मैदानमा छन्। उम्मेदवार रिजालविरुद्ध परेको उजुरीमाथि छानबिन गरी निर्वाचन समितिले उम्मेदवारी सदर गरेर अन्तिम नामावली प्रकाशन गरेको छ।

पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको र प्यूठानका रिजाललाई महासचिव शंकर पोखरेलको समर्थन छ। त्यसैगरी उपाध्यक्षमा पुजन विक (बाँके), भोजप्रसाद श्रेष्ठ (रूपन्देही), विश्वराज बराल (रूपन्देही), शान्ताकुमारी वली (रोल्पा) ले उम्मेदवारी दिएका छन्। सचिवमा दाङका लक्ष्मण आचार्य सर्वसम्मत भए।

उपसचिवमा पुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हीरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन्। महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र वसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १८ भदौ २०८० २२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =