एमाले लुम्बिनी अधिवेशनको सन्देश : अब ओलीको आशीर्वाद चल्दैन

विनोद परियार २१ भदौ २०८० १०:५०
14
SHARES
एमाले लुम्बिनी अधिवेशनको सन्देश : अब ओलीको आशीर्वाद चल्दैन अधिवेशन उद्घाटनमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली।

लुम्बिनी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनीको अधिवेशनमार्फत एकताको सन्देश दिन चाहन्थे। एकताको सन्देशसँगै अध्यक्ष ओलीको भित्री चाहना आफूले चाहेको व्यक्तिलाई नेतृत्वमा ल्याउने थियो। तर एमालेको प्रदेश अधिवेशनको सुरुवात नै ओली निर्देशन र चाहनाविपरीतबाट भएको छ।

लुम्बिनी प्रदेशमा सर्वसहमतिको भगीरथ प्रयत्न र नेतृत्वले बलमिच्याइँ गर्दा पनि प्रतिनिधिले अस्वीकार गरेपछि अन्ततः नेतृत्व चयन निर्वाचनबाट भएको छ। ओलीले भदौ १६ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र दर्जनौँ केन्द्रीय नेताहरू रहेको लुम्बिनीमा नेता मिलाउन नसकेको भन्दै मञ्चबाटै तुरुन्तै बसेर मिलाउन निर्देशन दिएका थिए। तर अध्यक्ष ओलीको निर्देशन लुम्बिनीले अस्वीकृत गरिदिएको छ। बुधबार सम्पन्न निर्वाचनमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएसँगै अध्यक्ष ओलीको निर्देशनमा मात्रै पार्टी चल्दैन भन्ने पुष्टि गरिदिएको हो।

चितवन महाधिवेशनमा आफू सर्वसम्मत बन्न खोजेजस्तै प्रदेशमा पनि नेतृत्व सर्वसम्मत बनाउने ओलीको प्रयत्न विफल बनेको छ। फरक विचार र फरक मत राख्नेलाई ओलीले कुनै स्पेससमेत नदिने गरेको विगतका उदाहरणले देखाउँछ। तर यसपटक ओलीले खोजेजस्तो र भनेजस्तै गरी तल्लो तहका कार्यकर्ताले मानेनन्। यसलाई कतिपयले ओली बिस्तारै पार्टीमा कमजोर हुँदै जाने विश्लेषण गरेका छन्। कतिपयले अब पार्टीमा आन्तरिक लोकतन्त्र बलियो बनेको टिप्पणी गरेका छन्। यद्यपि एमालेको अन्य ६ प्रदेशमा नेतृत्व चयन गर्न बाँकी नै छ।

ओली शंकरतिर ढल्कँदाको परिणाम

केपी ओलीसँग निकट नेता हुन् विष्णु पौडेल र शंकर पोखरेल। यी दुवै नेता ओलीको उत्तराधिकारी बन्ने होडमा छन्। चितवनमा सम्पन्न दसौँ महाधिवेशनमा पनि यी दुवै नेता महासचिवका दाबेदार थिए। तर ओलीले महासचिवका लागि शंकर पोखरेललाई रोजे। चितवनमा अध्यक्ष ओलीको निर्देशन वा चाहनाविपरीत बोल्ने आँट कसैमा देखिएन। त्यसैले पौडेल उपाध्यक्ष बने।

कम्युनिस्ट पार्टीमा महासचिव पदलाई अध्यक्षपछिको शक्तिशाली मानिन्छ। तर पनि अध्यक्ष ओलीको रोजाइमा पोखरेल परे। यी दुवै एमाले अध्यक्षका दाबेदार पनि हुन्। दुवै लुम्बिनी प्रदेशका नेता। त्यसैले पनि यी दुई नेता राजनीतिक रूपमा सधैँ प्रतिस्पर्धी हुन्। नवौँ महाधिवेशनमा उपमहासचिवमा विष्णु पौडेल निर्वाचित हुँदा शंकर पोखरेल पराजित बनेका थिए। माधव नेपाल पक्षबाट उठेका घनश्याम भुसाल उपमहासचिवमा विजयी भए। त्यतिखेर पौडेलले पोखरेललाई हराएको आरोप लागेको थिए। यीबाहेक प्रदेश राजधानीका विषयमा पौडेल र पोखरेलको लडाइँ राम्रै चल्यो। शंकरले नै जित हासिल गरे।

राजधानीकै मुद्दाका कारण पौडेलले रूपन्देही निर्वाचन क्षेत्र न. २ बाट मुस्किलले निर्वाचन जिते। यिनै घटनाकै पृष्ठभूमिमा एमाले लुम्बिनीको अधिवेशनमा पनि दुई नेताको शक्तिको लडाइँ सतहमै देखियो। प्रतिनिधि छनोटदेखि नै पौडेल र पोखरेल गुट सक्रिय भए। महासचिव पोखरेलले उपाध्यक्ष पौडेलको गृहजिल्ला रूपन्देहीमा झन्डै आधा जति नेताकार्यकर्तालाई आफ्नो पक्षका बनाएका छन्। राजनीतिक रूपमा सुरुदेखिको प्रतिस्पर्धा अहिले प्रदेश अधिवेशनमा देखापरेको हो।

उपाध्यक्ष पौडेल र महासचिवले उद्घाटनसत्रमा आफूहरूको नाम जोडेर समाचार लेखेकोमा सञ्चारमाध्यम र पत्रकारप्रति तिखो टिप्पणी गरेका थिए। तर त्यो भाषणमात्रै थियो। उपाध्यक्ष पौडेल पाल्पाका राधाकृष्णलाई जिताउने पक्षमा थिए। महासचिव पोखरेल प्यूठानका हरिप्रसाद रिजाललाई। रिजाल केन्द्रीय सदस्य भएर पनि प्यूठानबाट प्रदेशका लागि प्रतिनिधि बनेका हुन्।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री, सांसद भएका रिजाललाई प्रदेश अध्यक्षको उम्मेदवार बन्न महासचिवकै साथ र आडभरोसा थियो। रिजालले महासचिवमार्फत अध्यक्ष ओलीलाई समेत ‘कन्भिन्स’ गरेका थिए। परिणामस्वरूप अध्यक्ष ओलीकै निर्देशनमा निर्वाचन गर्न आनाकानी भइरहेको थियो। १६ गते उद्घाटनसत्र र साँझ बन्दसत्र भयो। तर बन्दसत्रमा पनि ओलीले सहमतिमै नेतृत्व चयन गर्ने र अन्य प्रदेशमा पनि एकताको सन्देश दिनुपर्छ भनेर कार्यकर्तालाई निर्देशन गरेका थिए। ‘प्रत्यक्ष रूपमा आफैँले नभन्ने तर, रिजाललाई अध्यक्ष बनाउनुपर्ने अभिव्यक्ति ओलीको थियो। केन्द्रीय नेताहरूलाई टुंग्याउन दबाब पनि थियो। तर कार्यकर्ता तयार नभएपछि बाध्य भएर चौथौ दिन दिनमा मतदान गराइएको हो’, एमालेका एक केन्द्रीय सदस्यले भने।

एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल।

ओलीले हस्तक्षेप गर्न खोजे पनि लुम्बिनीमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल गुट बनेकाले असफल बनेका हुन्। ओली रिजालतर्फ ढल्केको संकेत मिल्नासाथ कँडेल पक्ष चुनावमा जाने निष्कर्षमा पुगेको थियो। उद्घाटनलगत्तै महासचिव पोखरेल चीनतर्फ लागे। पोखरेलले रिजाललाई अध्यक्ष बनाउने जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिएका थिए। अध्यक्षलाई ‘कन्भिन्स’ गरेकाले पनि पोखरेल ढुक्क थिए।

सहमतिका लागि ओलीले पनि पर्याप्त गृहकार्य गरेका हुन्। यसका लागि उनी दुई दिन लुम्बिनीमै बसे। ओलीले यतिसम्म गरे कि अध्यक्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न गएका उपाध्यक्ष पौडेललाई महासविच पनि हुनुहुन्न, तपाईँ पनि नबस्नुस् भनेर काठमाडौँ सँगै लिएर गएका थिए। यसले अध्यक्ष ओलीको भूमिकामाथि पनि शंका गर्ने ठाउँ बनेको छ। १७ गते नै निर्वाचन गर्न सम्भव थियो। तर सहमतिका नाममा प्रतिनिधि थकाउने र गलाउने प्रयत्न गरिएको कार्यकर्ताहरूको गुनासो छ।

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने पदाधिकारीमध्ये महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीमात्रै ओलीले सर्वसम्मत बनाउन चाहेका रिजालका पक्षमा खुलेका थिए। बाँकी सबै पदाधिकारी र युवा नेता कँडेलकै पक्षमा लागे। उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णु पौडेल, सचिवत्रय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल पनि कँडेलकै पक्षमा थिए। पूर्वमुख्यमन्त्री लीला गिरीदेखि युवा नेता ठाकुर गैरेसम्मको कँडेललाई साथ दिए।

ओलीका हरेक कदमलाई चुपचाप समर्थन गर्ने पोलिटब्युरो सदस्य सूर्य थापासमेत रिजालको पक्षमा खुलेनन्। केन्द्रीय सदस्यहरू बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमीश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरे रिजाललाई अध्यक्ष बनाउने पक्षमा लागे। पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, दधिराम शर्मा न्यौपानेको पनि कँडेललाई नै समर्थन थियो।

झिनो मतान्तरको जित नै पौडेलको शक्ति

पाल्पाका राधाकृष्ण कँडेलको झिनो मतान्तरले जित हात पारेका छन्। उपाध्यक्ष विष्णु पौडेलले समर्थन गरेका कँडेलको हार भएको भए उनी कमजोर साबित हुन्थे। रिजाललाई कँडेलले दुई मतको अन्तरले पराजित गरेका हुन। कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत पाए। प्रदेश अधिवेशन भए पनि यो निर्वाचनलाई एमालेका प्रभावशाली नेताद्वय पौडेल र पोखरेलको शक्ति परीक्षणका रूपमा समेत हेरिएको थियो।

यसपटक शक्ति परीक्षणमा पौडेल मुस्किलले पास भएका छन्। उपाध्यक्षमा पनि कँडेल प्यानलबाट उम्मेदवार बनेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। रूपन्देहीका श्रेष्ठले ४५५ मत ल्याए। रिजाल प्यानलबाट उम्मेदवार बनेका रुपन्देहीकै विश्वराज बराल (अनुप) ले मात्र ३०६ मत मात्र ल्याए। बराल माओवादी पृष्ठभूमिबाट आएका नेता हुन। सचिवमा कँडेल प्यानलकै दाङका लक्ष्मण आचार्य निर्विरोध भएका थिए। उपसचिवमा पुरुषतर्फ रोल्पाका पूर्ण बुढा मगर निर्वाचित भएका छन्।

एमालेको लुम्बिनी अध्यक्ष पदमा निर्वाचित भएपछि शपथ ग्रहण समारोहमा अध्यक्ष राधाकृष्ण कँडेल।

रिजाल प्यानबाट उम्मेदवार बनेका बुढा ४१८ मतसहित विजयी हुँदा कँडेल प्यानलका दुर्गाप्रसाद थारूले ३९३ मत पाए। उपसचिवमा महिलातर्फ कँडेल प्यानलकी लीला राना मगर १ मतले निर्वाचित भइन् भने लेखा समिति अध्यक्षमा कँडेल प्यानलकै दामोदर घिमिरे विजयी भए। एक हजार चार मतदाता रहेको चुनावमा ९ सय ६५ मत खसेको थियो। ३९ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन्।

एमालेको अब अब बागमतीमा असोज ८ र ९ गते, कर्णालीमा १० र ११ गते प्रदेश अधिवेशन हुँदैछ। कोशीमा असोज १२ र १३ गते, गण्डकीमा १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा १९ र २० गते प्रदेश अधिवेशन तोकिएको छ। सुदूरपश्चिममा २१ र २२ असोजमा तथा मधेशमा २४ र २५ असोजमा अधिवेशन गर्ने एमालेको कार्यसूची छ। लुम्बिनीको अधिवेशनले अन्यत्र पनि चुनाव हुन सक्ने संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =