नेटवर्किङको धन्दा

दुर्गममा पनि ठगिँदैछन् सर्वसाधारण

रमा केसी १२ भदौ २०८० १९:०१
72
SHARES
दुर्गममा पनि ठगिँदैछन् सर्वसाधारण

सुर्खेत- जाजरकोटकी शशिकला खड्का कामको खोजीमा थिइन्। एक दिन पत्रिका पढ्दा एक्टिभ इन्टरनेसनलमा मान्छे चाहिएको थाहा भयो। हर्बल कम्पनी रहेछ। चाँडै म्यानेजर बनाइदिने आश्वासन पाएपछि उनले काम थालिन्।

म्यानेजर बन्न तोकिएअनुसार सामान बेच्नुपर्ने रहेछ। साँझबिहान नभनी उनी सामान बेच्दै हिँडिन्। तर आम्दानीका नाममा उनलाई ‘हातमा लाग्यो शून्य’जस्तै भयो। उनले भनिन्, ‘म्यानेजर पोस्ट पाउन आफूभन्दा सिनियरले अह्राएका सबै काम गरेँ। उनले दिएका धेरै ‘टार्गेट’ पनि पूरा गरेँ।’ सामान बेच्दा उनी पुरस्कृत पनि भइन्। उनको तह बढ्यो। म्यानेजर भइन्। काम भने सदस्यजसरी गर्नुपर्दथ्यो।

‘पद पाइने आसमा काम गर्दै जाँदा इनाम जितेँ र म्यानेजर भएँ। तर उनीहरू आफैँले बाचा गरेअनुसार पैसा दिएनन्। श्रमअनुसारको पारिश्रमिक पाउन सकिएन। पद खान नमिल्ने!’ उनीजस्तै टार्गेट पूरा गरेर इनाम जित्ने चार जना थिए। तर काम भने सबैको उस्तै थियो। उनले भनिन्, ‘काम धेरै इनाम र तलब निकै कम, खाना र खाजा खानसमेत आम्दानी भएन। ठग्दा रहेछन्।’ बिस्तारै उपभोक्ताले पनि गुणस्तरहीन सामान बेचेको भनेर गुनासो गर्न थालेको उनले बताइन्।

गैरकानुनी रूपमा सञ्चालित यस्ता केही कम्पनी सरकारले बन्द गरे पनि बाहिर बोर्ड नराखी चालु छन्। कर्णालीमा नेटवर्किङ व्यापार फैलँदो अवस्थामा रहेको शशिकला बताउँछिन्। प्रदेशका सबै जिल्ला सदरमुकाममा मात्र नभएर ग्रामीण क्षेत्रका उपभोक्तासम्म व्यापारी पुगेका छन्।

यस्ता कम्पनीले विभिन्न खालको पुरस्कारको प्रलोभन देखाएर सदस्य बनाउँछन्। म्यानेजर मातहत रहेर सदस्य बन्नुपर्छ। सदस्य बन्न शुल्क चाहिँदैन। सदस्यमात्रै बनेर बस्दा आम्दानी हुँदैन। आफू बनेजसरी अरूलाई बनाउँदाचाहिँ आफू म्यानेजरमा बढुवा हुने र सोही आधारमा ‘कमिसन’ पाइने सामान विक्रेताहरू बताउँछन्। सामान बिक्री गर्ने कम्पनीको सञ्जाल प्रदेशका कुनाकुनासम्म पुगेको छ।

विभिन्न होटलमा कार्यक्रम गर्ने, सदस्यता बनाउने, महँगो मूल्यमा बिक्रीवितरण गर्दै बजार र घरघरमा हिँड्ने यी कम्पनीको विशेषता हो। सञ्चालकहरू यस्तो व्यवसायमा संलग्न हुन आफूहरूले कसैलाई कर नगर्ने बताउँछन्। मन परेको र बुझेको मानिसले मात्र यस्तो काम गरिरहेको उनीहरूको भनाइ छ। नेटवर्किङ व्यापारले उपभोक्ता नगठिएको दाबी उनीहरू गर्छन्। उपभोक्ताले सामान खरिदबिक्री गरेको भरमा इनाम पाउनु महत्त्वपूर्ण कुरा रहेको उनीहरू बताउँछन्। एक्टिभ इन्टरनेसनलकी पूर्वसञ्चालक लक्ष्मी थापाले इनामस्वरूप फर्निचर, विद्युतीय सामान, कपडा र कहिले त नगदसमेत दिने गरिएको बताइन्।

हर्बलको प्रयोग गर्दा सेवाग्राहीलाई राम्रो हुने आश्वासन उनीहरूले दिन्छन्। त्यस्ता सामानको गुणस्तरबारे भने न खरिदकर्तालाई थाहा हुन्छ न त विक्रेतालाई। ग्लोबल ओरियस नेपाल प्रालिका सुर्खेतका म्यानेजर मीनबहादुर रावलले गुणस्तरीय सामान बैच्दै आएको बताए। उनले पनि कम्पनीले दिएको टार्गेटअनुसार सामान बिक्री गर्दा विभिन्न खालका इनाम दिइने बताए।

रोजगारी र व्यापारका नाममा ठगी गरेको आरोप छ नि भन्ने जिज्ञासामा रावल भन्छन्, ‘ग्लोबल ओरियस नेपालले कम्पनी दर्ता गराएर देशभर सामान बिक्री गर्दै आएको छ। हामीले कसैलाई ठगेका छैनौँ।’ आफ्नो कम्पनीले बिनाशुल्क सदस्यता उपलब्ध गराउने र तालिम लिनका लागि पाँच सय रुपैयाँ शुल्क लिने गरेको रावलले बताए। उनका अनुसार कम्पनीमा ११ जनाले तालिम लिइरहेका छन्। अघिल्लो पटक तालिम लिएकाहरू बढुवा भएर सातौँ तहमा पुगेको उनी बताउँछन्। उनले भने, ‘हाम्रो कम्पनीका ११ वटा लेबल पार गर्नेले तीनदेखि चार लाखसम्म जितेका छन्।’

ग्लोबल ओरियस नेपालले कर्णालीका १० जिल्लामा शृंगार र भान्साको सामान बिक्री गर्दै आएको जानकारी उनले दिए। ग्राहकको गुनासो बढ्दै गएपछि सुर्खेतमा सञ्चालित आइबस हर्बल कम्पनी र भेन्टिज कम्पनीले गुप्त रूपका कारोबार गर्न थालेका छन्। यी कम्पनीले स्वदेशी उत्पादन, जडिबुटीजन्य वस्तु, स्वास्थ्यका लागि लाभदायक भन्दै विभिन्न सामानको प्रचारप्रसार गर्दै आएका छन्।

प्रहरीले भने ठगिएको भनेर उजुरी नआएकाले कारबाही गर्न नसकिएको जनाएको छ। केही महिनाअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आफू ठगिएको भनेर दुईजनाले उजुरी दिएका थिए। यसरी उजुरी दिनेमा सुर्खेत र दैलेखका थिए। घटना कैलालीको टीकापुरसँग सम्बन्धित भएकाले उतै पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए।

उनले भने, ‘प्रहरीकहाँ यस्ता उजुरी प्रायः आउँदैन। उजुरी आएपछि मात्रै छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउन सकिन्छ। एकदुईवटा केस आए पनि बाहिरका भएकाले उतै पठाइदियौँ।’

नेटवर्किङका कर्मचारी नै भन्छन् : सर्वसाधारण ठगिएका छन्

स्वदेशी उत्पादनका नाममा नेटवर्किङको धन्दा

व्यवसायी भन्छन् : जति सदस्य, उति धेरै फाइदा

प्रकाशित: १२ भदौ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =