नेटवर्किङको धन्दा

स्वदेशी उत्पादनका नाममा नेटवर्किङको धन्दा

मस्त केसी १० भदौ २०८० १३:३४
204
SHARES
स्वदेशी उत्पादनका नाममा नेटवर्किङको धन्दा

स्वदेशी उत्पादन, जडिबुटीजन्य वस्तुको नाममा केही कम्पनीले पिरामिड शैलीको नेटवर्किङको व्यापारलाई ब्युँताएका छन् । जसको मुख्य निशाना गृहिणी र पाका उमेरका पुरुष छन् ।

साउन २५ गते सुनसरीको इटहरीमा अवैध नेटवर्किङ कम्पनी चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीका कार्यालयमा ताला लगायो। अवैधानिक नेटवर्किङ व्यवसायको धन्दा चलाएका कारण उपमहानगरले ग्लोबल ओरियन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसिएट कम्पनीका कार्यालय बन्द गरायो।

नेटवर्किङका नाममा ठगीधन्दा गरेको आरोपमा भदौ २ गते अछामको मंगलसेनबाट बैतडी र अछामका तीन युवा पक्राउ परे। उनीहरूले आरएनसी ट्रेडिङ प्रालिका नाममा नेटवर्किङ व्यवयाय सञ्चालन गरी ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। व्यापारका नाममा आफूहरूलाई ठगी गरेको भन्दै १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएका थिए।

सुदूरपूर्व र पश्चिमका यी घटना भित्रभित्रै नेटवर्किङ व्यवसायको धन्दा देशभर फैलिएको प्रमाण हो। सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी गरेपछि एक दशकअघि बन्द भएको नेटवर्किङ व्यवसायको धन्दा पुनः ब्युँतिएको छ। फरक यति छ‍- पहिलेका कम्पनीले सुरुमा सदस्य बनाउँदा हजारौँ रुपैयाँ लिन्थे अहिलेका कम्पनीले थोरै रकम र केहीले निःशुल्क सदस्य बनाइरहेका छन्।

यस्ता कम्पनीले स्वदेशी उत्पादन, जडिबुटीजन्य वस्तु, स्वास्थ्यका लागि लाभदायक भन्दै आफ्नो सामानको प्रचारप्रसार गर्छन्। देशका विभिन्न होटलमा कार्यक्रम गर्दै सदस्य बनाउँदै हिँड्छन् र मातहतमा सदस्य बनाउने (पिरामिड) शैली अपनाएर महँगो मूल्यमा सामान भिडाउँछन्।

पिरामिड शैलीमा सदस्य बनाएर सर्वसाधारण ठगेपछि २०६८ सालमा सरकारले युनिटी, गोल्ड क्वेस्ट, हर्बो इन्टरनेसनल, क्रिस्टल भिजन, रोबियस इन्टरनेसनलजस्ता दर्जन कम्पनी खारेज गर्दै सञ्चालकहरूलाई कारबाही गरेको थियो। यी कम्पनीले निश्चित रकममा सदस्य बनाउने, उनीहरूलाई आफ्नो सामान बेच्ने र मातहत अरूलाई सदस्य बनाउन लगाएर ठगी गर्थे।

‘१२ वर्षपछि खोलो पनि फर्किन्छ’ भनेजस्तै अहिले पुनः त्यस्तै शैलीका व्यवसाय गर्नेहरू छ्यापछ्याप्ती भेटिन थालेका छन्। विभिन्न पुरस्कार, विदेश भ्रमण र योजनाको प्रलोभन देखाएर पिरामिड शैलीमा सदस्य बनाउने र आफूले उत्पादन गरेका वस्तु तथा सेवा बिक्री गर्ने कम्पनी सहरका चोकचोक र गाउँका गल्लीगल्लीमा छन्।

यस्ता कम्पनीहरूले काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय राखेर आफ्नो धन्दा देशव्यापी बनाएका छन्। जसले सदस्य र ग्राहकका रूपमा विशेषगरी गृहिणी र पाका उमेरका पुरुषलाई लक्षित गरिरहेका छन्।

अर्गानिक वर्ल्ड ग्रुप (ओडब्लूजी) ले धेरै सदस्य बनाउने आफ्ना लिडरलाई गराएको थाइल्यान्ड भ्रमण।

नेचर हर्ब्स, अर्गानिक वल्र्ड ग्रुप, युटर्न इन्टरनेसनल, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल, न्यु विवेक इन्टरप्राइजेज, हेल्दी लिभिङ नेपाल, केयर मार्टस् इन्टरनेसनल, केयर नेसन इन्टरनेसनल, ग्लोबल ओरियन्स, अपी लाइफ इन्टरनेसनलजस्ता कम्पनी यसको शीर्ष स्थानमा छन्।

ग्राहक बन्ने भन्दै अर्गानिक वल्र्ड ग्रुपको अफिसियल नम्बरमा सम्पर्क गर्दा त्यहाँकी प्रतिनिधिले निःशुल्क सदस्य बन्न सकिने बताइन्। उनका अनुसार सदस्य बन्न आफूमाथि कुनै अर्को व्यक्ति आवश्यक पर्छ। उनले भनिन्, ‘तपाईँ म्यानेजर मातहत रहेर सदस्य बन्नुपर्छ। सदस्य बन्न शुल्क चाहिँदैन। सदस्यमात्रै बनेर बस्दा आम्दानी हुँदैन।’ आफू बनेजसरी अरूलाई बनाउँदाचाहिँ आफू म्यानेजरमा बढुवा हुने र सोही आधारमा ‘कमिसन’ प्राप्त हुने उनले बताइन्। यसरी सदस्यपिच्छे कम्पनीको सामान महँगोमा भिडाउने धन्दा त यसमा हुनै नै भयो।

सोही तरिकाले हेल्दी लिभिङ नेपाल प्रालिमा फोन गर्दा ठ्याक्कै यही शैलीको जवाफ त्यहाँका प्रतिनिधिले दिइन्। हेल्दी लिभिङमा पनि निःशुल्क सदस्य बन्न सकिने र आफू मातहत अरूलाई बनाएर समान बिक्री गर्दा ‘कमिसन’ प्राप्त हुने जवाफ आयो।

यसरी नै ग्राहक बन्ने भन्दै युटर्न इन्टरनेसनल, केयर नेसन इनटरनेसनललगायतलाई फोन गर्दा यी सबै कम्पनीले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा पिरामिड शैलीमा नेटवर्किङको धन्दा चलाउँदै आएको पुष्टि हुन्छ।

यस विषयमा प्रशासन मौन छ। न स्थानीय तहले सक्रियता जगाएको देखिन्छ न यसको नियमन, अनुगमन वा व्यापारको अनुमति दिन वाणिज्य विभाग जिम्मेवार देखिन्छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यस्ता ठगी धन्दा गर्नेको अनुगमन गर्न र आवश्यक कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको जनाएको छ। विभागका महानिर्देशक गजेन्द्रप्रसाद ठाकुर भन्छन्, ‘म विभागमा आउनुअघि नै यस विषयमा ७७ जिल्लालाई अनुगमनका लागि पत्राचार भइसकेको थियो। विभागका साथै अनुगमन गर्ने र कारबाही गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पनि छ।’

व्यवसायका नाममा नेटवर्किङको धन्दा गर्दै ठगी गरेको पाइएपछि अनुगमन गर्न भन्दै वाणिज्य विभागले २०७९ माघ २६ गते सबै जिल्लालाई पत्राचार गरेको थियो। तर त्यसको प्रभावकारिता कस्तो छ स्वयम् विभागलाई नै जानकारी छैन। ‘कति कम्पनीको कागजात जफत गरेर अध्ययन गरिरहेका छौँ, यसमा अहिले धेरै बोल्न मिल्दैन,’ ठाकुर भन्छन्, ‘वस्तुको प्रत्यक्ष बिक्रीका नाममा पिरामिड शैली अपनाउन र इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री पनि गर्न पाइँदैन। यसो गरेको पाइए जसलाई पनि कारबाही हुन्छ।’

तनहुँका प्रहरी प्रमुख एसपी अवधेश विष्ट शनिबार युटर्न इन्टरनेसनलको कार्यक्रममा मन्तव्य राख्दै।

संलग्न कोको?

अहिले पिरामिड शैलीको व्यापार अगाडि बढाउनेमध्ये अधिकांश विगतमा यस्तै व्यवसायमा संलग्न भएको पाइएको छ। विगतमा ग्रिन बुटीका नाममा नेटवर्किङ व्यवसाय गरेका राज दंगालले श्रीमती सरिता गुनीको नाममा आइबोस ग्लोबल लाइफ इन्टरनेसनल चलाइरहेका छन्। दंगाल यसअघि गैरकानुनी नेटवर्किङ व्यवसायमा आबद्ध रहेको भन्दै पक्राउ परेका थिए।

आइबोसका अर्का सञ्चालक हुन्- हेमन्तबहादुर पाल। उनी नेपाल प्रहरीका पूर्वएआईजीसमेत हुन्। यसअघि हर्बो इन्टरनेसनलमा आबद्ध भएका श्रीबल्लभ नेपाल पनि आइबोसका अर्का सञ्चालक छन्।

केयर मार्टस् इन्टरप्राइजेजमा पासाङ लामा, सरला लामा, दिनेशप्रसाद अधिकारी र दलबहादुर सारु सञ्चालक छन्। पासाङ लामा यसअघि पनि नेटवर्क लिडरका नाममा विभिन्न कम्पनीमा आबद्ध थिए।

युटर्न इन्टरनेसनल प्रालिको सञ्चालकमा बलराम सुवेदी, सुवास केसी र अर्जुन गिरी छन् । ईएमआई नेटवर्क नामको पुरानो कम्पनी चलाएको समूहले नै युटर्नको नाममा नयाँ कम्पनी चलाएर उही धन्दालाई अगाडि बढाएको छ।

अपी लाइफ इन्टरनेसनल प्रालिका सञ्चालकमा रामबहादुर बीसी, उपबहादुर पाइजा पुन, लेपबहादुर पुर्जा पुन र सन्देश खड्का छन्। केयर नेसन इन्टरनेसनल प्रालिको सञ्चालकमा विनिता गुरुङ, रुद्रबहादुर न्यौपाने, फणीराज लोहनी, कौरव अधिकारी, खगेन्द्र दाहाल र विष्णुप्रसाद काफ्ले छन्। लोहनी यसअघि युनिटी इन्टरनेसनलसँग आबद्ध थिए।

प्रकाशित: १० भदौ २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =