अवैध नेटवर्किङ धन्दा चलाएको भन्दै तीन कम्पनीमा इटहरी उपमहानगरको ताला

हिमाल प्रेस २५ साउन २०८० २०:४८
16
SHARES
अवैध नेटवर्किङ धन्दा चलाएको भन्दै तीन कम्पनीमा इटहरी उपमहानगरको ताला

इटहरी- इटहरीमा अवैध रूपमा नेटवर्किङ धन्दा चलाएको भन्दै तीनवटा कम्पनीमा उपमहानगरपालिकाले ताला लगाएको छ। इटहरीलाई केन्द्रबिन्दु बनाएर अवैध रूपमा सञ्चालनमा ल्याएको कम्पनीहरूमा उपमहानगरले अनुगमनको क्रममा तालाबन्दी गरेको हो ।

मेयर हेमकर्ण पौडेलले अवैध रूपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधरणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा तालाबन्दी गरेर कम्पनीका सन्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए।

नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेका कारण अहिले उपमहानगरले अभियानकै रूपमा अनुगमन गरिरहेको छ। कम्पनीमा आबद्ध व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाँड्ने गरेको पाइएको पौडेलले बताए।

इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो। ऐन, नियमावलीमा नेटवर्किङ र पीरामिड शैलीको व्यापारव्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरूले गरिरहेको पाइएको हो।

जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउँदै रकम लिने गरिएको छ। अझ सदस्य बनाएबापत औषधि छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको पाइएको छ।

गैरकानुनी रूपमा बनाइएका सदस्यहरूलाई कम्पनीले कमाएको मुनाफा वितरणमा बढी ‘बिक्री’ भए बढी कमाइने र कम ‘बिक्री’ भए थोरै कमाइने भनेर सिकाउँदै आइएको छ।

सोहीअनुसार बढी पैसा असुल्ने अरू विभिन्न नामका योजना कम्पनीले बनाएको भन्दै अनुगमनको क्रममा बन्द गरिएको हो। कम्पनीहरूले इजाजत एउटाको लिने, काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समिति संयोजक उपमेयर संगीता चौधरीले बताइन्।

प्रकाशित: २५ साउन २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =