कोशीमा एमाले अधिवेशन : अध्यक्षमा ओलीकै कृपा

विवेक विवश रेग्मी ११ भदौ २०८० २१:३३
388
SHARES
कोशीमा एमाले अधिवेशन : अध्यक्षमा ओलीकै कृपा

इटहरी- नेकपा एमालेले सातै प्रदेशमा अधिवेशन गराउने तयारी गरेको छ। २०७८ मंसिरमा चितवनमा महाधिवेशन गरेको एमाले यतिबेला प्रदेश अधिवेशनको तयारीमा जुटेको हो।

यसैबीच कोशी प्रदेशमा पनि एमालेले अधिवेशनको तयारी सुरु गरेको छ। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको पूर्ण बैठक उद्घाटन गरे। उनले बैठकको उद्घाटन गर्दै असोज १२ र १३ गते हुने अधिवेशन सम्पन्न गर्नका लागि तयारीमा जुट्न निर्देशन दिए।

पार्टी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले आगामी अधिवेशनको उद्घाटन ओलीले गर्ने गरी तयारी भएको जानकारी दिए। ‘कोशी प्रदेशको समृद्धि र विकाससम्बन्धी एउटा योजना प्रस्तुत गर्ने गरी अधिवेशनमा जुटेका छौँ,’ उनले भने, ‘प्रदेशको अधिवेशनसँग सम्बन्धित बैठकको उद्घाटन गर्दै अध्यक्षज्यूले अधिवेशन केन्द्रित रहन निर्देश गर्नुभएको छ।’ कोशी प्रदेशको राजधानी विराटनगरमा असोज १२ गते ओलीले पार्टी प्रदेश अधिवेशन उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए।

पार्टीको प्रदेश अधिवेशनको मिति तय भएर कार्यक्रमको तयारी सुरु गरिएसँगै कोशी प्रदेशमा एमालेले कसलाई अगाडि सार्ने भन्ने पनि बहस हुन थालेको छ। अहिले एमाले नेता वृत्तमा विशाल भट्टराई (खोटाङ), विनोद ढकाल (मोरङ) र तुलसी न्यौपाने (संखुवासभा) को आकांक्षा रहेको बहस हुन थालेको छ। अरू आकांक्षी भए पनि मुख्य यिनै तीन जना रहेको एमाले वृत्तमा चर्चा छ।

एमाले पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले भने अहिलेसम्म आफ्नो कुनै तयारी नभएको प्रतिक्रिया दिए। ‘अघिल्लोपटक प्रस्ताव आएको थियो, तर यसपटक सम्भावना छैन,’ उनले भने, ‘नेतृत्वको माथिल्लो तहबाट र कार्यकर्ता साथीहरूसँग पनि छलफल हुन बाँकी छ, अहिले नै फाइनल भइसकेको छैन।’

उनले नेतृत्व तहले इच्छ्याएको अवस्थामा भने अध्यक्ष उठ्न सक्ने संकेत गरे। ‘खासमा साथीहरूले अध्यक्षका लागि प्रस्ताव राखिरहनुभएको छ,’ उनी भन्छन्, ‘तल्लो तहका साथीहरूसँग पनि छलफल गर्न बाँकी छ।’

एमालेले प्रदेशमा भदौ ३० गतेसम्म प्रतिनिधि चयन गर्नेछ। प्रतिनिधिहरूकोे नाम असोज १ सम्म पार्टीलाई पठाउने र उनीहरूनै मतदानमा सहभागी हुने तयारी भइरहेको एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले बताइन्। ‘पार्टीले वैशाख, जेठ र असारसम्म सदस्यता नवीकरणको मिति तय गरेको थियो,’ गौतमले भनिन्, ‘भदौ ३० गते प्रदेशका सबै जिल्लामा एकैपटक प्रतनिधि छनौट हुनेछ। एक हजारभन्दा कम सदस्य भएको पालिकाले सय जना बराबर एक जना प्रतिनिधि पाउने र एक हजारभन्दा बढी सदस्य भएको पालिकामा १५० जना बराबर एक जना प्रतिनिधि पाउने गरी निर्णय भएको छ।’ उनका अनुसार कोशी प्रदेशमा एमालेका ७४ हजार ७९१ जना सदस्य छन्। यसमा केही थपघट हुन सक्छ। जसमा एक हजार बढी प्रतिनिधि छनौट हुने अनुमान राखिएको छ।

गौतमले भनिन्, ‘प्रत्येक पालिकामा कुल सदस्यको ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ।’ पार्टीले अहिले निर्णय संशोधन गरेर पोलिटब्युरो सदस्य हुनेले प्रदेशको अध्यक्ष हुन पाउने व्यवस्था गरेको जानकारी दिइन्। खास गरी झापा, मोरङ र सुनसरीमा बढी क्रियाशील रहेकाले यी जिल्लाबाट बढी प्रतिनिधि पाउने र यिनै जिल्लाबाट बढीजसो पदाधिकारी पनि छनोट हुने बताइएको छ।

अध्यक्षमा चर्चा भइरहँदा वर्तमान अध्यक्ष न्यौपाने भन्छन्, ‘मलाई पार्टीले जिम्मेवारी दिएर यसअघि पनि प्रदेश अध्यक्ष बनाएको हो। अहिले अधिवेशन सम्पन्न गर्ने जिम्मा दिएको छ। फेरि पनि पार्टीले जिम्मेवारी दिन्छ भन्ने विश्वास छ।’

आफू जिम्मेवारीमा रहँदा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएर कुशल जिम्मेवारी निर्वाह गरेको उनको दाबी छ। ‘पार्टीले दिएको जिम्मेवारी पूरा गरेको छु, अब पनि कार्यकर्ता साथीहरू र नेतृत्वको इच्छाअनुसार उठ्ने तयारी छ,’ पार्टी अध्यक्ष ओलीको चाहना के छ भन्ने जिज्ञासामा उनले भने, ‘पहिला पनि उहाँले नै जिम्मेवारी दिएकाले फेरि पनि जिम्मा पाउँछु भन्ने विश्वास छ।’

त्यसो त एमालेमा ओलीले जसलाई चाह्यो त्यही व्यक्ति अध्यक्ष हुने जानकारहरू बताउँछन्। ओली निकट मानिएका विशाल भट्टराई पनि अध्यक्ष हुने चर्चा पनि छ। उनै भट्टराईलाई ओलीले आफ्नो गृह जिल्लामा यसअघि इन्चार्जसमेत बनाएका छन्। भट्टराईलाई अध्यक्ष बनाउने विषयमा ओली भने मौन छन्।

विद्यार्थी नेता जीबी गजल भन्छन्, ‘अन्तिममा पार्टी अध्यक्षको मनमा बसेको मान्छे अध्यक्ष हुने हो। अहिले नै उहाँले को अध्यक्ष बनाउने भन्नेबारे बोल्नुभएको छैन।’ ओलीले चाहेको व्यक्ति नै निर्विरोध रूपमा अध्यक्ष हुने उनको दाबी छ।

‘पार्टी अध्यक्ष भएका कारण अहिले नै केही बोल्नुभएको छैन,’ उनले भने, ‘तर उहाँको हृदयमा बसेको मान्छे अध्यक्ष हुने कुरामा दुईमत छैन।’

यता पार्टीको अधिवेशनअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) को अधिवेशन भदौ १५ र १६ मा तोकिएको छ। विराटनगरमा हुने अधिवेशनमा उनै गजलसहित सन्तोष घिमिरे अध्यक्षका आकांक्षी छन्।

गजल सुनसरीमा बसेर राजनीति गर्दै आएका छन् भने घिमिरे मोरङका हुन्। गजल ओली निकट हुन्।

प्रकाशित: ११ भदौ २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =