‘टीकापुर घटना’मा मारिएका बालकको बनाइयो सालिक, रेशम चौधरीले गरे अनावरण

हिमाल प्रेस ७ भदौ २०८० १८:१६
38
SHARES
‘टीकापुर घटना’मा मारिएका बालकको बनाइयो सालिक, रेशम चौधरीले गरे अनावरण

धनगढी- थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ। टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लागेर अदालतबाट जन्म कैदको फैसला सुनाइएका र पछि राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउँदको सालिक अनावरण गरेका हुन्।

८ वर्षअघि आजकै दिन थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा १८ महिने नाबालक साउँद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जनाको विभत्स हत्या गरिएको थियो।

उक्त घटनाको ८ वर्ष पुगेको तथा मृतक साउँदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो।

उक्त सालिकको रेशमलालसहित नाउपाकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउँदका बाजे जंग साउँद र बुबाआमाले संयुक्त रूपमा अनावरण गरे। सालिक अनावरण गर्दै नाउपाका संरक्षक रेशमलालले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा भएको बताए। साउँदका बुबा नेत्र साउँदलाई अंकमाल गर्दै रेशमलाल चौधरीले अझै पनि आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने धारणा राखेका थिए। टीकापुरमा टाढाबाट ढुंगा हानेर सद्भाव खलबल्याउने काम भइरहेको आरोप पनि उनको थियो।

मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जेजस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताइन्। २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो।

‘टीकापुर घटना निकै पीडादायी र दुःखद् थियो। त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘अहिले पनि त्यही घटनालाई देखाएर राजनीति गर्नेहरूका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ। टीकापुरमा अशान्ति छैन, शान्त छ।’

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबै सकारात्मक रूपमा प्रस्तुत हुन आग्रह गरिन्।

प्रकाशित: ७ भदौ २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =