संसद् खोल्ने कुरा मेरो हातमा मात्रै छैन : सभामुख

हिमाल प्रेस १ भदौ २०८० २०:५९
8
SHARES
संसद् खोल्ने कुरा मेरो हातमा मात्रै छैन : सभामुख फाइल तस्बिर।

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद् खोल्ने कुरा सभामुखको हातमा मात्रै नहुने बताएका छन्। धुलिखेलमा शुक्रबारदेखि सुरु भएको संसद्-सञ्चार सम्बन्ध विषयक दुईदिने कार्यशालालाई सम्बोधन गर्दै उनले सभामुखको पनि सीमितता हुने बताएका हुन्।

‘संसद् खोल्ने विषयमा प्रधानमन्त्री, कांग्रेस, एमालेका दलका नेताहरूसँग छलफल गरिरहेको छु,’ उनले भने, ‘संसद्लाई संसदलाई सबै समस्या छलफल गर्ने ठाउँ बनाऔँ, निकास पनि निकालौँ। विरोध र समर्थन पनि त्यहीँ गरौँ, सहमति र विमति पनि त्यहीँ गरौँ तर रोकेर राख्ने कुरा अन्त्य गरौँ भन्ने कुराकानी भएको छ। तर सरकार र प्रतिपक्ष दुवै आफ्ना अडान छाड्न तयार भइसकेका छैनन्।’

अवैध सुन काण्डपछि एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ। एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहेको छ भने सरकारले समिति बनाउँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै मानिरहेको छैन।

सुनकाण्डपछिका आठवटा बैठक अवरुद्ध भएका छन्। ‘पाँचवटा बैठक सञ्चालन गर्ने कोसिस गरियो, अवरोध भइसकेपछि कार्यसूचीमा लान सकिएन,’ सभामुख घिमिरेले भने, ‘तीनवटा बैठक दलका प्रमुख सचेतक, सचेतकहरूसँग कार्यव्यवस्था परामर्श समितिमा बसेर कोसिस गर्दा नचलाउन उपयुक्त हुन्छ, समाधान खोजेर मात्रै चलाऔँ भनेपछि सूचना टाँसेर स्थगित गरिएको छ।’

उनले संसद‍्प्रति जनताको वितृष्णा बढेर गएको पनि बताए। ‘यसलाई टेकेर यो व्यवस्थामाथि नै प्रश्न खडा गर्नेहरूलाई फाइदा पुग्दै गइरहेको छ,’ उनले भने, ‘यसले काममा असर गरेको छ नै, संसदीय प्रणालीमाथि नै प्रश्न खडा भइरहेको परिस्थितिमा विभिन्न दलका नेताहरूसँग गम्भीर कुरा भएको छ। यसमा दलहरू गम्भीर हुनुपर्छ।’

सो कार्यशाला संसदीय मामिलामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूका लागि संघीय संसद् सचिवालयले आयोजना गरेको हो।

प्रकाशित: १ भदौ २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =