मिलेमतो हटेको हल्लामात्रै, सात वाणिज्य बैंकको समान ब्याजदर

हिमाल प्रेस ३२ साउन २०८० १८:३९
52
SHARES
मिलेमतो हटेको हल्लामात्रै, सात वाणिज्य बैंकको समान ब्याजदर

काठमाडौँ- नेपाल बैंकर्स संघले साउनदेखि मिलेमतोमा ब्याजदर तोकिने चलन अन्त्य गर्ने निर्णय गरेको थियो। बैंकर्स संघ ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको संस्था हो।

साउनअघि उक्त संस्थाको बैठक बसेर हरेक महिनाको ब्याजदर निर्धारण गर्थ्यो। सोही समान ब्याजदर सबै बैंकमा लागू हुन्थ्यो। साउनदेखि उक्त व्यवस्था हटाउने भद्र सहमतिसँगै सबै बैंकले आआफ्नो तरिकाले ब्याजदर तोकेका थिए। तर भदौ महिनाको दर हेर्दा केही बैंकहरूले भित्रभित्रै मिलेर ब्याजदर तोकेको देखिन्छ।

भदौ १ गतेदेखि लागू हुने गरी सात वाणिज्य बैंकले समान ब्याजदर कायम गरेका छन्। नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सानिमा, कुमारी, एनआईसी एशिया, ग्लोबल आइएमई र सिटिजन्स् बैंकले भदौका लागि १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन्। यो व्यक्तिगत मुद्दती खातामा बैंकहरूले दिने ब्याजदर हो।

संस्थागत निक्षेपमा पनि यी सात वाणिज्य बैंकले एउटै ब्याजदर तोकेका छन्। संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याजदर तोकिएको छ।

साउनमा भने यी सातै बैंकले फरकफरक ब्याजदर तोकका थिए। साउनका लागि नेपाल बैंकले व्यक्तिगत मुद्दतीमा ८.९९ प्रतिशत, कृषि विकासले ९.५१, सानिमाले ९.५२ प्रतिशत ब्याजदर तोकेको थियो। त्यस्तै कुमारी बैंकले १०.०१, एनआईसी एशियाले १०.९३६ र सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदर तोकेको थियो।

भदौका लागि १२ वटा बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर बढाएका छन्। चार बैंकले स्थिर राखेका छन् भने चार बैंकले घटाएका छन्। नबिल बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। साउन भदौ दुवै महिनामा नबिलको ब्याजदर १०.४९ प्रतिशत छ।

लक्ष्मी सनराइज बैंकको ब्याजदर ०.४१ प्रतिशत बिन्दुले बढेको छ। साउनमा लक्ष्मी सनराइजको ब्याज ९.९९ थियो। प्राइम बैंकले साउनमा रहेको १०.९३ प्रतिशतलाई घटाएर १०.५ प्रतिशत तोकेको छ। सिद्धार्थ बैंकले ९.५ प्रतिशतबाट बढाएर ९.९९ पुर्‍याएको छ।

प्रभु र एभरेष्ट बैंकले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन्। साउनमा दुवैको ब्याजदर ९.५ प्रतिशत थियो। भदौका लागि १० प्रतिशत पुगेको छ।

नेपाल एसबीआई, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.९९ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९५ प्रतिशतको ब्याजदरलाई ८.९२ मा झारेको छ।

एनएमबी बैंकको ब्याजदर साउनमा १०.९३ थियो। भदौका लागि ९.९९ तोकिएको छ। राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकले पनि भदौका लागि ९.९९ प्रतिशत ब्याजदर तोकेका छन्। साउनमा राष्ट्रिय वाणिज्य बैंकले ८.९९ र माछापुच्छ्रेले ९ ब्याज दिएको थियो।

प्रकाशित: ३२ साउन २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =