ब्याजदर सस्तो : लगानीमा बढेन आकर्षण, उपाय खोज्दै राष्ट्र बैंक

रमेश भारती १५ फागुन २०८० १६:३७
40
SHARES
ब्याजदर सस्तो : लगानीमा बढेन आकर्षण, उपाय खोज्दै राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकमा पछिल्लो समय पैसा थुप्रिने क्रम बढेको छ। गत बिहीबार बैंकिङ प्रणालीमा ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार बुधबार ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहीबार ५ अर्ब रुपैयाँले वृद्धि भएको हो।

बुधबारसम्म कर्जा लगानी ५० खर्ब ८८ अर्ब थियो। कुल कर्जा प्रवाह रकम भने दुई अर्बले घटेर ५० खर्ब ८६ अर्ब पुगेको बैंकको तथ्यांक छ। राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम जम्मा भएको छ।

निजी क्षेत्रबाट कर्जाको माग नभएकै कारण बैंकहरूले राष्ट्र बैंकमा स्थायी निक्षेप संकलन सुविधाअन्तर्गत कुल ५३ अर्ब रुपैयाँ राखेका छन्। बैंकहरूले लगानी गरेर आफूसँग बाँकी रहेको रकम राष्ट्र बैंकमै संकलन गर्न सक्ने व्यवस्था छ।

बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको हो। बैंकहरूको कर्जाको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा लगानी बढ्न नसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन्।

निक्षेप बढ्दै जाँदा बैंकहरूको कर्जा निक्षेप/अनुपात (सीडी रेसियो) घट्दो क्रममा रहेको उनले बताए। ‘राष्ट्र बैंकले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न उपाय खोजिरहेको छ। बैंकमा आर्थिक मन्दी हट्दै गए पनि कर्जा र लगानीको पाटो कमजोर देखिएको हो’, उनले भने, ‘ससाना लगानीदेखि ठूला लगानीका लागि एउटा मापदण्ड बनाउने विषयमा छलफल भइरहेको छ। पैसा बैंक थुप्रिँदा अन्य क्षेत्रमा पनि असर पर्छ।’

कर्जा नबढ्नुको मुख्य कारण बैंक वित्तीय संस्थाविरुद्ध भइरहेको आन्दोलन हो। आर्थिक मन्दीका कारण पनि लगानीकर्ता डराइरहेको भट्टको भनाइ छ।

राष्ट्र बैंकले हालै स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको छ। बैंकहरूले बढी भएको रकम राष्ट्र बैंकमा राख्न पाएपछि अन्तर बैंक सापटीको ब्याजदर निर्देशित सीमामा आउने विश्वास राष्ट्र बैंकको छ। स्थायी निक्षेप संकलन सुविधाअन्तर्गत बैंकहरूले राष्ट्र बैंकमा रकम राख्न थालेपछि अन्तरबैंक ब्याजदरसमेत बढ्न थालेको छ। राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा उपकरण अभ्यासमा ल्याइरहेकाले पनि अन्तरबैंक ब्याजदर निर्देशित सीमामा कायम रहेको हो।

विकास बैंक र फाइनान्समा बुधबार कुल ७ खर्ब १५ अर्ब निक्षेप रहेकोमा बिहीबार एक अर्बले बढेर ७ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ४७ अर्ब निक्षेप रहेकोमा बिहीबार ४ अर्बले बढेर ५४ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको हो।

सीडी रेसियो बुधबार ८०.१९ प्रतिशत रहेकोमा बिहीबार ८०.०४ प्रतिशतमा झरेको छ। पुससम्ममा ३ खर्ब ७७ अर्ब निक्षेप संकलन हुँदा पनि १ खर्ब ९२ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको अवस्था छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बैंकहरू सबल अवस्थामा रहे पनि निष्क्रिय कर्जा केही बढेपछि व्यवस्थापनमा समस्या भइरहेको बताए। पछिल्लो समय बैंकमाथि भएको विभिन्न हल्ला र आर्थिक मन्दीका कारण कर्जा लगानीमा समस्या देखिएको उनको भनाइ छ।

‘सरकारले बैंकिङ क्षेत्रमाथि फैलाइएको विभिन्न हल्ला र अन्दोलन नियन्त्रणमा चासो नदिँदा पनि अहिलेको अवस्था सिर्जना भएको हो। समस्या छ, सबै मिलेर समाधान खोज्नुपर्छ’, उनले भने।

पछिल्लो समय राज्य संयन्त्रबाटै हतोत्साहित हुने खालका काम हुँदा निजी क्षेत्र कर्जा लगानी बढाउने मनस्थितिमा छैन भने ऋण लिएका लगानीकर्तालाई ब्याज भुक्तानी गर्न कठिन भइरहेको छ।

बेस रेट पनि एकल अंकमा

हाल बैंकहरूको बेस रेट एकल अंकमा आइपुगेको राष्ट्र बैंकले जनाएको छ। माघ महिनाका लागि बैंकहरूले कायम गरेको बेस रेट फागुनमा भने थप घटेको देखिएको छ।
माघमा बैंकहरूको बेस रेट औसत ९.५५ प्रतिशत थियो। अहिले औसत बेस रेट ९.३४ प्रतिशतमा पुगेको छ।

पछिल्लो समय बैंकहरूको प्रदान गर्ने निक्षेपको ब्याजदर पनि घट्दो छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घट्दै गएको हो। १७ वटा बैंक ग्राहकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउन सक्ने अवस्थामा पुगेका छन्।

 बैंकहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्छ। हाल बैंकहरूबाट ऋण लिँदा औसतमा न्यूनतम १२.५६ प्रतिशत र अधिकतम १५.३१ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ।

प्रकाशित: १५ फागुन २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =