७४ जिल्लामा डेंगी संक्रमण, १३ हजार संक्रमित

हिमाल प्रेस ३० साउन २०८० १६:३६
4
SHARES
७४ जिल्लामा डेंगी संक्रमण, १३ हजार संक्रमित लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्न दिक्तेलमा चलाइएको ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने’ अभियानमा विषादी छर्कँदै प्राविधिक। फाइल तस्बिर : रासस

काठमाडौँ- देशभर डेंगी संक्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल ७४ जिल्लामा डेंगीको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्।

डेंगीको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगीको संक्रमण बढिरहेको बताए।

उनले दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे। ‘दैनिक डेंगीको संक्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ,’ निर्देशक मरासिनीले भने, ‘डेंगी संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ।’

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगीको संक्रमण देखिएको थियो। सन् २०२२ मा ५४ हजार ७ सय ८४ जना डेंगीबाट संक्रमित भएका थिए भने ८८ जनाको मृत्यु भएको थियो।

सुनसरीमा उच्च संक्रमण

डेंगीको संक्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगीबाट संक्रमित भएका छन्। त्यस्तै मोरङ १ हजार ५ सय ९१, धादिङमा १ हजार २ सय २, झापामा ८ सय ९६, कास्कीमा २ सय ४७, धनकुटामा २ सय ३६, काठमाडौँमा १ सय ९६, दार्चुलामा १ सय ९४, सङ्खुवासभामा १ सय ५६ तथा चितवनमा ९० जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाे तथ्यांक छ।

कोशी प्रदेशमा बढी

डेंगीको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशमा छ। कोशीमा १० हजार १ सय ८२ जना संक्रमित छन्। त्यस्तै बागमती प्रदेशमा १ हजार ७ सय ९३, गण्डकीमा ५ सय १०, सुदूरपश्चिममा ४ सय १७, लुम्बिनीमा २ सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगीको संक्रमण देखिएको महाखाले जानकारी दिएको छ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ। त्यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ। रासस

प्रकाशित: ३० साउन २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =