नेपाललाई विश्वशान्ति क्षेत्र घोषणाको प्रस्ताव

हिमाल प्रेस २८ साउन २०८० ९:०८
6
SHARES
नेपाललाई विश्वशान्ति क्षेत्र घोषणाको प्रस्ताव

लुम्बिनी- लुम्बिनी प्रदेशमा क्रियाशील विभिन्न संघसंस्थाले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव गरेका छन्। दाङको देउखुरीमा आयोजित ‘विश्व शान्ति : बुद्ध र नेपाल’ विषयक गोष्ठिमा सहभागी सरोकारवाला व्यक्ति र संस्थाहरुले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव पारित गरेका हुन्।

विश्वलाई नै शान्ति र अहिंसाको युगीन सन्देश दिने महान् व्यक्ति गौतम बुद्धको जन्मथलोका रूपमा रहेको नेपाली जनताको शान्तिप्रति अटुट निष्ठा रहँदै आएको स्मरण गराउँदै विश्व समुदायले पनि शान्तिप्रतिको नेपालको सर्वोच्च निष्ठाको सम्मान गरोस् भन्ने तीव्र अभिलाषासहितको प्रस्ताव पेस गरिएको थियो। शान्तिप्रति नेपाल राष्ट्र र नेपाली जनताको अभिलाषा परराष्ट्र नीतिमा समेत लामो समयदेखि परिलक्षित भएको हुँदा असंलग्नता, समानता, आपसी सम्मान, कुनै पनि मुलुकको आन्तरिक मामलामा अहस्तक्षेप र पञ्चशील जस्ता शान्तिकामी सिद्धान्त परराष्ट्र नीतिका बलियो जग रहँदै आएका प्रस्तावमा उल्लेख छ।

नेपाली जनताको शान्तिप्रतिको अटुट निष्ठा, मुलुकको सर्वोच्च र साझा स्वार्थको रक्षा, शान्ति र स्वाभिमानपूर्वक बाँच्नका लागि नेपाली जनताले विगत सात दशकदेखि गर्दै आएको गौरवमय संघर्ष, बदलिँदो विश्व परिवेशलाई समेत दृष्टिगत गर्दै नेपाललाई शान्ति क्षेत्र घोषित गर्नु मुलुक, जनतार विश्व समुदायको समेत सर्वोच्च हितमा हुने हुँदा नेपाललाई शान्ति क्षेत्र घोषित गर्नेतर्फ तत्काल पाइला चाल्न विचार गोष्ठीले अपिल गरेको छ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुलुकमा शान्ति स्थापना अहिलेको आवश्यकता भएको बताए। हरेक नागरिकको मनमा शान्ति कायम गर्न राजनीतिक रुपमा पनि नेपाली समाजको विचार अटाउने समाजवादमा अग्रसर भइरहेको उनले बताए।

भौतिकवादले सुख दिए पनि मनको शान्ति नहुँदासम्म मानव विकासको आधार तय नहुने भएकाले लोभ, लालच, ईर्ष्या, गलत विचारबाट मुक्त कसरी बनाउने भन्ने कुराको बोध गर्न बुद्धदर्शन अध्ययन आवश्यक रहेको उनले बताए। लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष भिक्षु मैत्तेयले नेपाललाई मौलिकपनको समाजवाद चाहिएको बताए। नेपाललाई शान्तिक्षेत्र र लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिको सहरको प्रतीकका रूपमा स्थापित गर्नुपर्ने अभियानमा साझा प्रतिबद्धता कार्यान्वयनमा लाग्नु नै अहिलेको आवश्यकता रहेकोमा उनले जोड दिए।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले शान्ति र युद्ध भगवान् गौतम बुद्धकै पालामा भएको र बुद्ध नै यसको अभियन्ता भएको बताए। शान्तिको नारा र एजेन्डा अहिलेसम्म चलेको र यसलाई पूर्ण विजय बनाउन नेपाल शान्तिको आधारभूमि भएको उनले बताए।

वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले आधारपत्र प्रस्तुत गरेका थिए। उनले शक्तिको लडाइँका कारण विश्व अशान्त रहेको हुँदा यसलाई व्यवस्थापन गर्नु अहिलेको आवश्यकता भएको बताए। मानवलाई असल मानव बनाउन बुद्धको ज्ञान अनुशरण गर्नु नै हरेक मानवका लागि अपरिहार्य रहेको चापागाईंले बताए।

बुद्ध धर्मभित्र सजिलै संसार अटाउने हुँदा अहिले लुम्बिनी क्षेत्रलाई विश्वशान्ति सहर बनाउने र त्यसका लागि एकीकृत लुम्बिनी क्षेत्रीय विकास गुरुयोजना निर्माण गर्ने भन्ने चर्चा चलेकोप्रति ध्यानाकर्षण गराउँदै नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने अभियान सफल बनाउन सबैको साथ र सहकार्य अपरिहार्य रहेको सहभागीको धारणा थियो।

प्रकाशित: २८ साउन २०८० ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =