रवि लामिछानेले आपत्ति जनाउँदै सोधे : तीन जना नेताले संसद्‌लाई बन्धक बनाउन पाइन्छ?

हिमाल प्रेस २३ साउन २०८० १७:००
12
SHARES
रवि लामिछानेले आपत्ति जनाउँदै सोधे : तीन जना नेताले संसद्‌लाई बन्धक बनाउन पाइन्छ? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठक चल्ने समय कुनै अमुक दलका नेताहरूको कुरा मिल्ने र नमिल्नेमा सीमित भएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार संसद्‌मा आकस्मिक समय लिएर बोल्दै उनले तीन जना शीर्ष नेताहरू बसेर जनताका जनप्रतिनिधिको समयमाथि खेलवाड गर्दै संसद् बन्धक बनाएको आरोप लगाए।

‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन समयमा चल्नुअघि चाहे रात परोस् चाहे बिहान होस्, देखिएका आवश्यक पर्ने दलका नेताहरू अगाडि नै बैठक बसेर सभामुखज्यूमार्फत आएको सदन चल्ने समयमा किन चल्दैन?,’ सभापति लामिछानेले प्रश्न गर्दै भने।

प्रत्येक दिन सदनमा जनतका प्रतिनिधिहरू आएर घडि हेरेर सदन कहिले खुल्छ भनेर बसिरहेको उनले बताए।

‘तीन जना नेताहरू मिलेर सल्लाह गर्नुपर्ने भए, संसदको समय कहिले सुरु हुन्छ भनेर समय जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिल्नुपर्ने कुरा मिलाउने पहिल्यै किन हुँदैन?,’ सांसद् समेत रहेका लामिछानेले भने, ‘हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सकिँदैन? सदन चल्ने बेलामा नै किन गरिन्छ?

साथै, उनले सभामुखबाट संसद् चल्ने सूचना टाँस भइसकेपछि सदनमा घन्टी बज्नुपर्नेबारे रुलिङ हुनुपर्ने बताए। ‘हामीलाई आशंका छ, केही दलका केही नेताहरू बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर संसदलाई बन्धक बनाउन पाइँदैन। आज सभामुखबाट रुलिङ होस् संसद बस्छ भनेर सूचना टाँसिएपछि सदनमा घन्टी बज्छ,’ उनले भने।

यसअघि सत्तारुढ दलका नेताले नै बजेट पास नभई सदन चल्न नदिने भने पनि पछि बार्गेनिङ गरेर सदन चल्न दिएको आरोप पनि उनले लगाए। उनले भने, ‘यो बजेट पास हुन दिन्नौँ भनेर सत्तापक्षमा बसेर कराउने मान्छेले खुरुखुरु पास गरेका थिए। त्यो बार्गेनिङ नै थियो त होला नि। नत्र यहीँ बोलेको हो। यथास्थितिमा पास भयो। के कारणले पास भयो?’

प्रकाशित: २३ साउन २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =