‘फेसनेबल’ सहरमा खस्कँदो शृंगार व्यवसाय

विजय नेपाल २२ साउन २०८० ८:४१
8
SHARES
‘फेसनेबल’ सहरमा खस्कँदो शृंगार व्यवसाय पोखराको लेकसाइडस्थित एक कस्मेटिक पसल। तस्बिर : विजय नेपाल

पोखरा-  लेकसाइडकी शोभा कार्की शृंगारपटारमा अलि चनाखो छिन्। उनी मौसमअनुसार शृंगारिक सामान खरिदमा आम्दानीको केही रकम छुट्याउँछिन्। थोक मूल्यमै सामान खरिद गर्न पाइने भएपछि उनी सधैँजसो एलिस कस्मेटिक सप पुग्छिन्। चिप्लेढुंगाको पन्थीगल्लीमा रहेको एलिस २० वर्षदेखि सञ्चालित छ। एलिसमा सन स्क्रिन क्रिम खरिद गरिरहेकी शोभाले भनिन्, ‘मुहारको सुरक्षा त गर्नैपर्‍यो।’

कस्मेटिक सामानमा उनको बढीजसो रोजाइ सन स्क्रिन क्रिम, मोस्चराइजर, नेल पोलिस, लिपस्टिक, पाउडर, गाजल, चुरा, टीकी, अत्तरलगायत रहने गरेको छ।
यस वर्ष हरितालिका तीज संघारमै आएको छ। अन्य समयको तुलनामा तीजमा महिलाले शृंगारका बढी सामान खरिद गर्ने गर्छन्।

पोखरा फेसनेबल सहर हो। लाहुरे बस्ती बढी भएको पर्यटकीय नगरी पोखरामा शोभाजस्तै युवती शृंगारिक सामान खरिदमा ‘कम्पोर्माइज’ गर्दैनन्। यद्यपि कोरोना महामारीपछि व्यवसाय बिस्तारै खस्किँदो रहेको गुनासो गर्छन् यहाँका कस्मेटिक सञ्चालकहरू।

एलिस कस्मेटिक सप सञ्चालक शारदा सापकोटा सुवेदी व्यवसाय नतंग्रिइसकेको बताउँछिन्। उनका अनुसार कोरोना कालमा ग्राहक बिहान, बेलुका गरी सामान किन्न आउँथे। अहिलेसम्म कोरोनाको असर छ।

अर्थतन्त्रमा पारेको प्रभावले सोचेजस्तो व्यवसाय नरहेको उनले बताइन्।  दैनिक कति कारोबार हुन्छ? भन्ने हिमालप्रेसको जिज्ञासामा उनी अक्कनमक्क बनिन्। उनले भनिन्, ‘खास यत्ति भन्ने हुँदैन। कुनै दिन बढी हुन्छ। कहिलेको व्यवसायले भाडा तिर्नै पनि धौधौ हुन्छ।’ होलसेल पसल भएकाले दैनिक कम्तीमा दुई लाख रुपैयाँको कारोबार जरुरी रहेको उनको भनाइ छ।

पछिल्लो समय बिनादर्ता सञ्चालित विभिन्न पसल तथा ठेलागाडामै पनि घरघरमै भारतीय नागरिकले सेवा दिने गर्दा व्यवसायमा गिरावट आएको सुवेदी बताउँछिन्। नेपाली, भारतीय, चिनियाँ सामान बिक्रीका लागि राखिएको उनी बताउँछिन्। युनिलिभर, सोनाटाले राम्रो बजार लिएको उनको अनुभव छ। स्वास्थ्य र स्किनसम्बन्धी सामान बढी बिक्री हुने उनले बताइन्। उनी भन्छिन्, ‘कालो पोतो, चाउरीपना भयो भने स्किनसम्बन्धी सामान बढी बिक्री हुने भयो। ग्राहकको चाहना र सामान हेरीहेरी हुन्छ।’

पोखरा क्षेत्रमा सञ्चालित कस्मेटिक पसलका सञ्चालित संगठित छन्। १० वर्षअघि स्थापित कस्मेटिक व्यवसाय संघ कास्कीमा हाल १ सय ८४ जना सदस्य आबद्ध रहेको संघ अध्यक्ष दुर्गा बरालले जानकारी दिइन्। कोरोनाअघि यो संख्या २ सय ४० थियो। ‘आर्थिक मन्दीले व्यवसाय खस्केको छ’, अध्यक्ष बराल भन्छिन्, ‘कस्मेटिक खासमा अत्यावश्यक सामानभित्र पर्दैन। विलासिताभित्र पर्ने भएकाले कतिपयलाई अहिले खानै धौधौ हुँदा बिक्रीवितरणमा कमी आएको हो।’

उनले पोखरा अमरसिंहचोकमा १५ वर्षदेखि सञ्चालित मानषी गिफ्ट एन्ड कस्मेटिक चलाउँदै आएकी छन्। उनका अनुसार पसल छिर्नेमध्ये ८० प्रतिशत महिला हुन्छन्। पुरुषले फेसवास, क्रिम, सेभिङ रेजर, सेम्पु, अत्तर किन्न रुचाउँछन्। संघले नेपाली प्रोडक्टलाई प्रोत्साहित गर्ने उनले बताइन्। भारतीय नागरिक सञ्चालक रहेका पसललाई संघले सदस्यता दिए पनि मताधिकारको अधिकार दिँदैन। स्थानीय स्तरमा उत्पादित सामानको बजारीकरणमा समस्या रहेको तथा सरकारले पनि प्रोत्साहन नगरेको संघ अध्यक्ष बरालले गुनासो गरिन्।

यसका लागि स्थानीय, प्रदेश तथा संघ सरकारले स्थानीय स्तरमा उत्पादित शृंगारिक सामानको बजारीकरणमा सहयोग गर्नुपर्ने उनले सुझाव दिइन्। चार पाँच लाख रुपैयाँ लगानी गरेर सहरको कुनै कुनामा पसल सञ्चालन गर्न चाहनेलाई भाडामा समस्या छ।

घरबेटीले पेस्कीका नाममा लाखौँ रुपैयाँ माग्ने हुँदा अहिलेको समयमा व्यवसाय सञ्चालनमा अर्को समस्या हो भन्छिन् उनी। मध्यम वर्गका महिला दिदीबहिनीले एकपल्ट ब्युटी पार्लरमा गएर हुने खर्चले शृंगारका सामान खरिद गरे दुईचार महिनासम्म उपभोग गर्न सकिने भन्दै सामान खरिदमा रुचि राख्ने उनी बताउँछिन्। सामान प्रयोगबारे सिक्न खोज्नेलाई आफूले सिकाएर पनि पठाउने गरेको बरालले बताइन्।

पोखरेली व्यवसायीको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई मर्का पर्दा सहयोग गर्ने गरेको छ। संघमा वस्तुगत संघबाट कार्यसमिति सदस्यमा निर्वाचित कस्मेटिक व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रेमप्रसाद सुवेदीले व्यवसायीको पिरमर्का सुन्न संघले हेल्प डेस्क खडा गरेको बताए।

कस्मेटिक व्यवसाय संघमा विभिन्न पदमा रहेर १४ वर्षसम्म काम गरेका सुवेदी बजारमा चिनियाँ तथा भारतीय सामानको अवैध कारोबार भइरहेको बताउँछन्। ‘गुणस्तरीय सामान निरुत्साहित गर्न विभिन्न बहानामा भन्सारबाट नक्कली सामान आयात हुने गरेकोले सिंगो गण्डकी प्रदेशलाई ठूलो समस्या पारेको छ,’ उनले भने, ‘कपी आइटम आउँछ। ग्राहक पनि सक्कली वा नक्कली के हो? झुक्किने गरेका छन्।’

नेपाल–भारत खुला सिमानाका कारण नेपालीले भन्दा भारतीय नागरिकले यस्तो धन्दा गर्ने गरेको उनको आरोप छ। स्थानीय, प्रदेश वा संघ सरकारबाट त्यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उनले गरे। बिना दर्ता झोला, गाडी, ठेलामा सामान राखेर हिँड्दासमेत सम्बन्धित निकायले अनुगमन नगर्दा ६० प्रतिशतजति व्यवसाय खस्किएको भएको उनी आकलन गर्छन्।

त्यसो त आर्थिक मन्दीसँगै बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज, अस्थिर सरकारको कारण सम्पूर्ण कस्मेटिक व्यवसायलाई गाह्रो परेको उनले बताए। पान, भ्याट लिएर घरेलु तथा राजस्व कार्यालयमा दर्ता भई पसल सञ्चालन गर्न उनी सुझाउँछन्। व्यवसायीलाई मर्का परेमा आवश्यक सल्लाहसुझाव दिएर पठाउने, सक्दो सहयोग गर्ने, कर, भ्याटसम्बन्धी बेलाबेलामा तालिम दिने गरेको उनले जानकारी दिए।

शृंगार बजार उछाल्ने साउन

प्रकाशित: २२ साउन २०८० ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =