सुर्खेतमा बढे आँखाका बिरामी

हिमाल प्रेस १९ साउन २०८० १८:०२
14
SHARES
सुर्खेतमा बढे आँखाका बिरामी

सुर्खेत– सुर्खेतमा आँखा पाक्ने रोगका बिरामीको संख्या बढेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दिनप्रतिदिन आँखाका बिरामीको संख्या बढ्दै गएको हो।

पछिल्ला वर्षमा भन्दा यस वर्ष आँखा अस्पतालमा आँखाका बिरामी ६० प्रतिशतले बढेको आँखा रोग विशेषज्ञ डा. आकांक्षा रानाले जानकारी दिइन्। डा. रानाका अनुसार बिरामीमा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्या छ। यसलाई ‘एडिनो भाइरल कन्जङ्टिभाइटिस’ भनिन्छ।

यस्तो संक्रमण हुँदा आँखा चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिने गरेको उनले बताइन्। केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन्छन्। एडिनो भाइरसका कारण आँखा पाक्छ। आँखा रातो हुनु, कचेरा लाग्नु, आँसु आउनु, ज्वरो आउनु, घाँटी दुख्नु, धमिलो देखिनु, बत्तीमा हेर्दा इन्द्रेणी जस्तो देखिनु यसका मुख्य लक्षण हुन्। उनले भनिन्, ‘हेरेर वा हावाबाट सर्दैन। आँसु र कचेरामा भएको भाइरसबाट सर्छ।’

आँखामा लागेको यस्तो रोग दुई सातासम्म रहन सक्छ। त्यसैले सकेसम्म आँखा सफा राख्ने, सफा कपास वा टिस्यु पेपरले पुछ्ने, चिसोले सेक्ने, चिकित्सकको सुझावअनुसार औषधि राख्नुपर्ने डा. रानाले बताइन्।

उनले भनिन्, ‘आँखा पाक्नबाट जोगित छुट्टै शौचालय प्रयोग गर्ने, बिरामीले आँसु हातले पुछेर जताततै नदल्ने, आँखा छुनुअघि र पछि साबुनपानीले हात धुने, अस्पताल तथा स्कुलमा विशेष ध्यान दिने गर्नुपर्छ।’

प्रकाशित: १९ साउन २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =