सुन प्रकरणमा महराले भने : मेरो संलग्नता छैन

हिमाल प्रेस १८ साउन २०८० ९:३४
10
SHARES
सुन प्रकरणमा महराले भने : मेरो संलग्नता छैन फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै आफूलाई अवैध सुन तस्करबाट फोन नआएको दाबी गरेका हुन्। उनले निष्पक्ष छानबिनका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन्।

केही दिनदेखि सुन प्रकरणसँग जोडेर आफ्नो नाम आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु। जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु।’

गत पुस १० मा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको आठ करोड ५५ लाख बराबरको सुन तस्करी तथा बेचबिखनमा चिनियाँ गिरोहसँग महरा  र उनका छोरा राहुलको संलग्नता रहेको आरोप लागेको छ। सोही कारण उनले स्पष्टीकरण दिएका हुन्।

महरा प्रतिनिधिसभाका पूर्वसभामुख हुन्। संसद् सचिवालयका कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेपछि उनले उनले २०७६ असोज १४ मा सभामुख पदबाट राजीनामा दिएका थिए।  सभामुखको सरकारी निवासबाटै पक्राउ परेका उनलाई पुर्पक्षका लागि पाँच महिना थुनामा राखिएको थियो। उच्च अदालत पाटनले सफाइ दिएपछि उनी रिहा भएका थिए।

त्यसअघि उनी चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको अडियो काण्डका कारण विवादमा तानिएका थिए। २०६७ साल भदौ १८ गते एक चिनियाँ नागरिकसँग सांसद खरिदका लागि ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।

उक्त अडियो एक टेलिभिजनले सार्वजनिक गरेपछि महरा आलोचित बनेका थिए। अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड रुपैयाँ चाहिएको बताएका थिए। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महरा २०६३ पछि पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका र धेरैपटक मन्त्री बन्ने नेतामध्येमा पर्छन्।

प्रकाशित: १८ साउन २०८० ९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =