सुदूरपश्चिम प्रदेश सरकारले पायो ६ महिनापछि पूर्णता

हिमाल प्रेस १७ साउन २०८० १८:४०
12
SHARES
सुदूरपश्चिम प्रदेश सरकारले पायो ६ महिनापछि पूर्णता कमलबहादुर शाह। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले बल्ल पूर्णता पाएको छ। आज बुधबार मन्त्रिपरिषद्‌ विस्तार भएसँगै सरकारले पूर्णता पाएको हो। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले तेस्रोपटक मन्त्रिपरिषद्‌ विस्तार गरी सरकारलाई पूर्णता दिएको हो।

सरकारमा ६ महिनायता रिक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रिक्त थियो। मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रिपरिषद्‌ विस्तार गर्दा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको थिएन। २०७९ माघ २७ गते मुख्यमन्त्री नियुक्त भएका शाहले दुई पटक मन्त्रिपरिषद्‌ विस्तार गर्दासमेत पूर्णता दिन सकेका थिएनन्।

उन्मुक्तिले सरकारमा सहभागी हुन २ वटा मन्त्रालय पाउनैपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। उन्मुक्तिलाई सरकारमा सहभागी गराउने विषयमा सहमति जुटाउन मुख्मन्त्री कमलबहादुर शाह नै काठमाडौँ आएका थिए।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, मुख्यमन्त्री शाह, संघीय सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी सहितको उपस्थितिमा सहमति जुटेको हो। त्यसअघि शाहले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

नागरिक उन्मुक्तिबाट रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरी राज्यमन्त्री बनेका छन्। रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सदस्य शिवराज भट्टलाई दिइएको छ। नयाँ मन्त्रीले आज नै शपथ लिने छन्।

प्रकाशित: १७ साउन २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =