बन्ला सुन तस्करीको अनुसन्धान गर्न संसदीय समिति?

हिमाल प्रेस १६ साउन २०८० ६:२६
2
SHARE
बन्ला सुन तस्करीको अनुसन्धान गर्न संसदीय समिति? फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

सोमबार एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँसेर स्थगित गरिएको थियो।

एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ।

एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार सूचना टाँसेर आज १ बजेसम्मका लागि स्थगित हुन्।

उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा वेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई दिएको थियो। सभामुखले एमालेलगायतका दलका संसदीय पदाधिकारीसँग संसद्को अवरोध खुलाउनेबारे छलफल गरे पनि सफल हुन सकेन। त्यसपछि सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए।

एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरु अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको बताएका छन्।उनले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको बताए। यस्तो अवस्थामा एमालेले कुनैपनि हालतमा संसद चल्न नदिने अडान राखे।

एमाले नेता गोकुल बाँस्कोटाले समिति गठन नभए आजको बैठक पनि चल्न नदिने बताए। उनले संसदको अवरोध हट्ने–नहट्ने सरकारको हातमा रहेको बताए। माओवादीका सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने भन्दै सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले एमाले र माओवादी केन्द्रको अडानले संसदको उपेक्षा भएको र यसको प्रभावकारीतामै प्रश्न उठेको धारणा राखे।

नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनु पर्नेमा जोड दिँदै सुन तस्करीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्नेमा जोड दिएका छन्। उनले मुल माफियाको नाइके पत्ता लगाउन सरकारमाथि आफूहरुले पनि दबाब दिने बताए।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्करीले स्थान पाएको भन्दै सेटिङ बिग्रिएर सुन समातियो भन्ने आशंका रहेको दाबी गरे।

सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा पनि छानबिन समिति गठन नभएसम्म संसदको अवरोध कायम राख्ने अडान लिएका थिए।

ओलीले सरकारको मिलेमतोमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको बताउँदै आएका छन्। गत साउन २ विमानस्थल बाहिरबाट एक सय किलो सुन बरामद भएपछि हालसम्म १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आएको छ। यस्तै कांग्रेस सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै संसद भवनमै अनशन बस्ने चेतावनी दिएका छन्। एमालेले संसदीय समिति नबनाएसम्म संसद् चल्न नदिने अडान राखेको छ।

प्रकाशित: १६ साउन २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =