लगानी बोर्डलाई चुस्त र सक्षम संस्थाको रूपमा विकास गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १४ साउन २०८० ७:५२
8
SHARES
लगानी बोर्डलाई चुस्त र सक्षम संस्थाको रूपमा विकास गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवम् अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन्।

आइतबार बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आर्थिक वर्ष ०७९/८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका हुन्।

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुमा बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्रीसमक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेस गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्थाबमोजिम प्रतिवेदन प्रस्तुत गरिएको हो।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवम् अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिए।

प्रधानमन्त्रीले यो संस्थालाई तुलानात्मक रूपले थोरै तर रणनीति पूर्वाधारमा परियोजना निर्माणमा कि इन्ष्टिच्युडका रूपमा विकास गर्ने सोंच वर्तमान सरकारको रहेको बताउँदै यस संस्थाले गरेको कार्यप्रगतिले यस दिशामा संरचना तयार भइसकेको विश्वास व्यक्त गरे।

समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा लगानी बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महुसुस गरेको बताउँदै प्रधानमन्त्रीले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको सम्वृद्धी र विकासमा योगदान पुर्‍याउन आग्रह गरे।

आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिँदे प्रधानमन्त्रीले आफ्नोतर्फबाट आवश्यक सहयोग रहने उल्लेख गरे।

प्रधानमन्त्रीले गत आर्थिक वर्षमामा लगानी बोर्डको कार्यालयबाट भएका कार्यले आफूलाई देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)सहित निजी क्षेत्रको लगानी भित्र्याउन सकिन्छ भन्दै पूर्वाधार विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताए।

बोर्डको कार्यालयबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाको रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत लगानी बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उनले उल्लेख गरे।

परियोजना विकासमा बार्डले अपनाएको स्क्रीनिङ प्रक्रिया वैज्ञानिक तथा समयसापेक्ष भएको र अब परियोजनाको पहिचान र स्ट्रक्चरिङमा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई सार्वजनिक निजी साझेदारी (सानिसा) परियोजना बैंकलाई अझै घनीभूत तथा उपयोगी बनाई दिगो, निश्चित समयसारिणीसहित क्षेत्र विशेषका परियोजना सूची तयार गरी लगानी बोर्डको समन्वयमा सम्बन्धित मन्त्रालय तथा प्रदेश सरकारबाट समेत सहयोग लिन सकिने उनले सुझाव दिए।

सो अवसरमा कार्यसम्पादन प्रतिवेदन पेस गर्दै अध्यक्ष भट्टले गत आर्थिक वर्षमामा बोर्डको म्यान्डेट, बोर्डको व्यावसायिक योजनासहितको रणनीतिक योजना तथा नेपाल सरकारको बजेट तथा कार्यक्रमको अधीनमा रही विभिन्न समयमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशनहरू समेतका आधारमा सम्पन्न भएका कार्यप्रगतिबारे विस्तृत प्रतिवेदनमा प्रस्तुत गरिएको जानकारी दिए।

उक्त प्रतिवेदनमा सम्झौता बमोजिमका विषयमा चार खम्बे रणनीति बमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारी अन्तर्गतका कार्य प्रस्तुत गरिएको छ।

प्रत्येक कार्यलाई परिणाममा आधारित सूचक एवम् संक्षिप्त व्याख्यासहित राखिएको छ। प्रतिवेदन बुझाउँदै बोर्डका अध्यक्ष भट्टले गत आर्थिक वर्षमामा चार वटै स्तम्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै आगामी आर्थिक वर्षमा आफूले सम्पन्न गर्ने मुख्य कार्यहरू संक्षिप्त रूपमा प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेका थिए।

प्रकाशित: १४ साउन २०८० ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =