चीनमा चम्किँदै भारतीय कलाकार

हिमाल प्रेस १३ साउन २०८० १७:२७
10
SHARES
चीनमा चम्किँदै भारतीय कलाकार

काठमाडौँ- भारतका देव रतुरी चीनमा चर्चित छन्। उनले ३५ भन्दा बढी चिनियाँ फिल्म, वेब सिरिज र टीभी सिरियलमा अभिनय गरेका छन्। उनको जीवन र संघर्षको कथा चीनको सियान सहरमा कक्षा ७ को पाठ्यक्रममा समेटिने भएको छ।

४६ वर्षीय रतुरी भारत, उत्तराखण्डका हुन्। उनको जन्म सन् १९७६ मा उत्तराखण्डको टिहरी गढवालको केमरिया–सौर गाउँमा भएको थियो। उनी ब्रुस लीका ‘डाई–हार्ड फ्यान’ हुन्।

बाल्यकालदेखि नै ब्रुस ली जस्तो बन्न चाहन्थे। अभिनयमा त्यस्तै रुचि थियो। फिल्म खूब हेर्थे। ब्रुस लीका पाइला पछ्याउन उनी घरबाट भागेर मुम्बई पुगेका थिए। सन् १९९८ मा मुम्बईमा ‘महाभारत’ सिरियलमा अभियन गर्न दुर्योधनको चरित्रका लागि उनले अडिसन दिएका थिए। तर छनोटमा परेनन्।

असफलताले रतुरीलाई आफ्नो सपनाको पछि लाग्न निरुत्साहित गरेन। सन् २००५ मा उनी चीन गए। भारतीय रेस्टुरेन्टमा वेटरका रूपमा काम गरे। उनले सेन्जेनमा दुई वर्ष काम गरे। चिनियाँ भाषा सिके।

दुई वर्षभित्रै बेइजिङको एउटा रेस्टुरेन्टको म्यानेजर बने। सफलताको भर्‍याङ उक्लिँदै गए। रेस्टुरेन्टको वेटर हुँदै मालिक बन्न सफल भए। धेरै चिनियाँ सहर जस्तै सियान, बेइजिङ र अन्यमा रेस्टुरेन्टको शाखा खोले। आफ्नो अभिनयको सोखलाई भने मर्न दिएनन्। त्यसलाई निरन्तरता दिइरहे।

‘टाइम्स अफ इन्डिया’लाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘सेन्जेनमा दुई वर्ष काम गरेँ। दिनभरि काम गर्थेँ। राति मार्सल आर्टस्  सिक्थेँ। सात वर्षसम्म मैले कडा मेहनत गरेँ।’ अहिले उनी आठ रेस्टुरेन्टका मालिक हुन्।

रेस्टुरेन्टमा एक दिन उनको भेट चिनियाँ निर्माता–निर्देशकसँग भयो। सन् २०१७ मा निर्देशकले उनलाई बोलाएर ‘स्वाट’ वेब सिरिजमा काम गर्ने प्रस्ताव राखे। रतुरीले प्रस्ताव स्वीकार गरे। जसमा उनी नकारात्मक भूमिकामा देखापरे। उनका लागि अभिनय क्षेत्रको ढोका खुल्यो।

उनले अभिनय गरेका चिनियाँ फिल्म, टीभी सिरियल, वेब सिरिजमध्ये ‘माई रुम मेट इज ए डिटेक्टिभ’ चर्चित छ। सन् २०१९ सम्म धेरै चिनियाँ फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाए। चाइनिज टेलिसिरियल ‘रिपब्लिक अफ चाइना एजेन्ट’मा जासुसको भूमिकामा देखिएका छन्। त्यस्तै ‘बिग हार्बर’मा प्रहरीको भूमिकामा छन्।

यिनै रतुरीको जीवन र संर्घष, गरिबबाट धनी बनेको प्रेरणादायी कथा चीनको विद्यालयको कक्षा ७ को पाठ्यक्रममा समेटिनेछ। चाइनिज सिनेमामा उनको नाम प्रसिद्ध छ। उनका थुप्रै चिनियाँ प्रशंसक पनि छन्। रतुरीले कोरोनाकालमा चीनका धेरै मानिसलाई सहयोग गरेका थिए। त्यस्तै उनको रेस्टरेन्टमा काम गर्ने ७० जनामध्ये ४० जना उत्तराखण्डका रहेको उनले ‘टाइम्स अफ इन्डिया’लाई बताएका छन्।

प्रकाशित: १३ साउन २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =