बोल्ने मौका नै नदिई मन्त्रीहरूको राजीनामा माग्‍ने संस्कार राम्रो होइन : प्रचण्ड

हिमाल प्रेस १२ साउन २०८० ११:२६
6
SHARES
बोल्ने मौका नै नदिई मन्त्रीहरूको राजीनामा माग्‍ने संस्कार राम्रो होइन : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका मन्त्रीहरूको राजीनामा मागेर सदनमा अवरोध गर्नु ठिक नभएको बताएका छन्।

इटाली भ्रमण सकेर शुक्रबार (आज) बिहान स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

विपक्षी दलले प्रधानमन्त्री, मन्त्रीहरूको राजीनामा माग्ने क्रम बढ्न थालेको भन्दै यस्तो प्रवृत्तिले कसैलाई पनि हित नगर्ने उनको भनाइ छ।

१ सय केजी सुन तस्करी भएको विषयमा विपक्षी एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकोमा उनले यस्तो राजनीतिक संस्कार कसैका लागि पनि ठिक नहुने जिकिर गरे।

‘प्रधानमन्त्री, मन्त्रीहरूको राजीनामा हत्त न पत्त मागिहाल्ने जुन परिपाटी विकसित हुँदैछ, यसले कसैलाई पनि राम्रो गर्दैन। घटना भएको के हो त्यसबारे स्पष्ट पार्ने, बोल्ने मौका नै नदिई राजीनामा माग्ने संस्कार राम्रो होइन,’ उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीहरूले राजीनामा देउ नत्र सदन चल्न दिँदैनौं भनेर पहिले नै घोषणा गर्ने संस्कारले हामी कसैलाई राम्रो ठाउँतिर लाँदैन।’

उनले विमानस्थलबाट बरामद भएपछि विकसित भएको राजनीतिक घटनाक्रमबारे उपप्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेर मात्र थप कुरा गर्ने उनले बताए।

प्रकाशित: १२ साउन २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eleven =