केरादेखि नास्पातीसम्म विदेशबाटै आयात, फलफूलमै बाहिरियाे १६ अर्ब रुपैयाँ

हिमाल प्रेस ११ साउन २०८० १९:३५
4
SHARES
केरादेखि नास्पातीसम्म विदेशबाटै आयात, फलफूलमै बाहिरियाे १६ अर्ब रुपैयाँ

काठमाडाैँ- गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ। कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ अर्ब आठ करोड रुपैयाँभन्दा बढी रकम फलफूल आयातकै लागि बाहिरिएको हाे।

विभागका अनुसार गत आवमा सात अर्ब ९ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ। त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरिएको विभागले जानकारी दिएकाे छ।

सार्वजनिक विवरणअनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको छ। चीनबाटमात्रै पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ। त्यस्तै भारतबाट एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट २७ लाख २० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ।

त्यस्तै गत आवमा दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरका तीन करोड ९ लाख आठ हजार एक सय ७२ केजी अङ्गुर आयात भएको छ। त्यसबाट सरकारले ११ करोड एक लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेकोे छ। अङ्गुर सबैभन्दा धेरै भारतबाट दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ बराबर र चीन बाट दुई करोड १२ लाख तीन हजार रुपैयाँ बराबरको आयात भएको छ।

त्यस्तै विभागका अनुसार गत आवमा एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ। कुल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको विभागकाे तथ्यांक छ।

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले ९ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व उठाएको छ।

सार्वजनिक विवरणानुसार गत आवमा ८८ करोड १८ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ। त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा ७० करोड दुई लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ। साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि  ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ।

नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ। विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको छ। मेवा आयात ३० करोड ९० लाख ८१ हजार रुपैयाँ बराबरकाे छ।

यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ। त्यस्तै १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार रुपैयाँ बाहिरिएको छ।

त्यस्तै ९ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोकाडो आयात भएको छ भने सात करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ।

प्रकाशित: ११ साउन २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =