एक हप्तादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी, कामकाज ठप्प

हिमाल प्रेस ८ साउन २०८० २०:५७
8
SHARES
एक हप्तादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी, कामकाज ठप्प

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा एक सातादेखि तालाबन्दी हुँदा नियमित काम प्रभावित भएको छ। नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित भएको हो।

केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए। ‘यही साउन १ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कार्यालयको नियमित कामकाज ठप्प छ,’  उनले भने, ‘वार्ताका लागि पहल भए पनि अहिलेसम्म छलफल हुन सकेको छैन।’

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय आयोजक कमिटीका सहसचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरिएको जानकारी दिए। विश्वविद्यालयले छलफलमा बोलाए आफूहरू जाने उनको भनाइ छ।

उनले गत पुसमा अनेरास्ववियु र विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, मानविकी संकायतर्फ आवश्यक रहेका प्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने, छात्रावास निर्माण गर्नुपर्ने, विश्वविद्यालयका प्राध्यापकहरू बाहिर निजी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य तत्काल रोक्नुपर्नेलगायत ९ बुँदे माग अघि सारेको बताए।

त्यसैगरी, कार्यविधि मापदण्डविपरीत कर्मचारी प्राध्यापकहरूको सरुवा गर्ने, समयमै कोर्स पूरा गर्नुपर्ने, विश्वविद्यालयको निर्देशक पदमा पूर्णकालीन रूपमा काम गर्नुपर्ने भए पनि सो काम छोडेर केन्द्रीय क्याम्पसमा आर्थिक लाभका लागि पढाउन जाने निर्देशकहरूलाई तत्काल कारबाही गर्नुपर्ने र परीक्षा नियन्त्रण कार्यालयको सह-नियन्त्रक पदमा नियुक्ति भएकाहरूसमेत आर्थिक लाभका लागि क्याम्पसमा पढाउन जाने कार्य भइरहेकाले सो कार्यमा संलग्नहरूलाई समेत कारबाही गर्नुपर्ने माग विद्यार्थी संगठनको छ। -रासस

प्रकाशित: ८ साउन २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =